साउदीमा बिचल्लीमा परेका नेपालीलाई घर फर्काइदिन साथीहरुको हारगुहार

साउदीमा बिचल्लीमा परेका नेपालीलाई घर फर्काइदिन साथीहरुको हारगुहार

वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका एक जना नेपाली कामदारको बिचल्ली भएको छ । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ का सोमबहादुर मोक्तान विदेशी भूमिमा अलपत्र परेका छन् । 

काठमाडौंको सामाखुसीमा रहेको रोज म्यानपावरमार्फत् आठ वर्षअगाडि साउदी पुगेका उनले मार्केटिङको काम गर्दै आएका थिए । तसिलाद मार्केटिङ कम्पनीमा कार्यरत उनले दिनभर बजारबाट पैसा संकलन गरेर बेलुकी साहुलाई बुझाउँथे । 

झण्डै दुई वर्षअघि बजारबाट ३० हजार रियाल संकलन गरेर शौचालय गएका उनलाई लुटेरा समूहले लुट्यो । आफू लुटिएको भनेपनि साहुले अविश्वास मात्रै गरेनन्, उल्टै चोरीको अभियोगमा जेल हाले । 

सोमबहादुरकी श्रीमती चमेलीले यहाँबाट ऋणधन गरेर ३० हजार रियाल पठाइदिएपछि उनी जेलमुक्त भए । जेलबाट निस्केपछि उनी काम गर्न सोही कम्पनीमा गएको बताइन्छ । तर, साहुले उनलाई त्यहाँबाट निकालिदिए । साहुले पासपोर्ट र नागरिकता फिर्ता नदिँदा उनी नेपाल फर्किन नपाएका हुन् ।

जेलबाट निस्किएपछि उनी हालसम्म साथीको भरमा गुजारा गरिरहेको बताउँछन् । साथीहरुले दिएको र खुवाएकोबाट उनी बाँचिरहेका छन् । श्रीमान फर्किने दिन कुरेर बसेकी चमेलीलाई ऋणले दिनुसम्म तनाव दिएको छ । 
अहिले सोमबहादुरका साथीहरुले सामाजिक सञ्जालमार्फत् उनलाई नेपाल फर्काउन पहल गरिदिन आग्रह गरेका छन् । उनीहरुले नै नेपाल सरकार र साउदीस्थित नेपाली दूतावाससमक्ष हारगुहार नै गरेका हुन् ।

टिप्पणीहरू