मान्छेलाई किन मर्न मन लाग्छ ?

मान्छेलाई किन मर्न मन लाग्छ ?

‘म कसरी यस्तो भएँ आफैँलाई थाहा छैन ?’ 

‘किन र ?’ 

‘यसको कथा लामो छ । विगतमा के के भोगें, के के भयो ? त्यो सीमित व्यक्तिलाई मात्रै थाहा छ । जे–जे भए पनि मलाई आफैँसँग गर्व छ ।’

केहीबेर मुखामुख पछि– विगत बताउन मिल्छ ?

मज्जाले मिल्छ । यत्ति भनेर लामो सास लिए, वरिपरि कोही थिएन । बुधबारको एक बिहान सिमसिम पानी परिरहेको थियो । एक गिलास तातो कागतीपानी पिएपछि कुराकानीको पोयो खुलेको हो । 

‘गाउँमै केही गरौँ भनेर योजना बनाएँ, सबै कुराको तारतम्य मिल्यो । कार्यक्रमबारे स्थानीय स्तरका रेडियो र पत्रपत्रिकामा विज्ञापन छापियो । कार्यक्रम हुने दुई दिनअघि कार्यक्रम स्थगन गर्नुपर्‍यो । दुनियाँको अगाडि फटा हुनुपर्‍यो । यसले ठूलो तनाब दियो । यत्तिसम्म कि डिप्रेसनको शिकार भएर, विष नै खाएँ । परिवारको सबै मिलेर अस्पताल पुर्‍याए । आमाबाहेक सबैले माया मारिसकेका थिए । ९ दिनपछि होस आयो । म बाँचेँ । लामो समय औषधि खानुपर्‍यो । यो बीचमा झण्डै ९ वर्ष विदेश बसेँ । त्यहाँ कामको महत्व बुझेँ । समयको महत्व बुझेँ । काम गर्नेलाई सम्मान गर्नेहरू भेटेँ । अहिले म आफूलाई पूर्ण स्वस्थ भएको ठान्छु ।’

मेरो परिवार र आफन्तले माया मारिसकेको मान्छे, आँखाअगाडि देख्दा खुशी छन् । अब मैले उहाँहरूलाई निराश बनाउने छैन । तर, म कसरी यस्तो भएँ, अचम्म लाग्छ ।

आफू यो समस्यासँग जुधिरहेको छु भन्ने धेरै कमलाई थाहा छ । थाहा पाएकाहरू पनि परामर्श वा उपचारको आवश्यकता महसुस गर्दैनन् अनि आत्महत्याको बाटोमा लाग्छन् । 

गोरखा पालुङ टारका ५३ वर्षीय मात्रिका देवकोटालाई नौ कक्षामा पढ्दासम्म आत्महत्याको कुनै ख्याल मनमा आउँदैनथ्यो । महत्वाकांक्षी तथा बढी पढ्ने खालको हुँदा उनलाई विस्तारै विस्तारै थकान महसुस हुने तथा नरमाइलो भने महसुस हुन थाल्यो । वर्ष दिन बितिसक्दा पनि त्यस किसिमको नरमाइलो कम हुनुको साटो बढ्दै गएपछि अन्ततः एसएलसी दिनेबेलासम्म आइपुग्दा आफू गम्भीर डिप्रेसनको शिकार भएको महसुस गरे । आइएस्सी पढ्दासम्म उनले आफूलाई निरीह महसुस गर्न थाले । यतिसम्म कि बाहिर जाँदा पनि उनका हातखुट्टा काँप्ने, आत्मविश्वास हराउने हुन थाल्यो । र, अन्त्यमा २९ वर्षको उमेरमा डिप्रेसनको औषधिको ओभर डोज खाएर आत्महत्याको प्रयास गरे । उनै देवकोटा अहिले कोशिश नेपाल नामक संस्था स्थापना गरेर । मानसिक समस्या भएकाहरूको परामर्श पुनःस्थापनामा लागेका छन् ।

यी त दुई प्रतिनिधि घटना हुन् । यस्तो समस्या भोग्ने धेरै छन् । तर आफू यो समस्यासँग जुधिरहेको छु भन्ने धेरै कमलाई थाहा छ । थाहा पाएकाहरू पनि परामर्श वा उपचारको आवश्यकता महसुस गर्दैनन् अनि आत्महत्याको बाटोमा लाग्छन् । 

टाउकोमा लाग्ने चोट, कुपोषण, लागुऔषध दुव्र्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसालगायत कारणले मनका भावना, सोच र व्यवहारमा असर पुग्छ । त्यस्तो असर लगातार रूपमा दुई हप्ताभन्दा बढी समयसम्म देखा परिरहे मानसिक स्वास्थ्य समस्या रहेको भन्न सकिन्छ । मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भए पनि यसप्रति रहेको अज्ञान, लाञ्छना, विभेद र कलंकका कारण समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति समाजमा व्याप्त छ । कोशिश नेपालले मानसिक स्वास्थ्य समस्याको भ्रम र यथार्थको एउटा जानकारीमूलक सामग्री तयार पारेको छ । 

१. भ्रमः मानसिक स्वास्थ्य समस्या थोरै व्यक्तिलाई मात्र हुन्छ ।

यथार्थः विश्व स्वास्थ्य संगठनका अनुसार वर्षको कुनै पनि समयमा प्रत्येक चार जनामा एक जनालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको हुन सक्छ । मानसिक स्वास्थ्य समस्यालाई विश्वमै सबैभन्दा बढी बोझपूर्ण समस्याको रूपमा लिने गरिन्छ । साथै, यो मानिसलाई अपांगताको अवस्थामा पुर्‍याउने धेरैमध्ये प्रमुख कारण पनि हो ।

२. भ्रमः मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले काम गर्न सक्दैनन् ।

यथार्थः मानसिक समस्या भएका व्यक्तिहरूले अवसर र सहयोग पाएमा अन्य व्यक्तिसरह काम गर्न सक्छन् र गरिरहेका पनि छन् । कडा खालका मानसिक समस्यामा मनोचिकित्सकीय तथा मनोवैज्ञानिक उपचारपछि व्यक्तिले सामान्य र स्वतन्त्र जीवन जिउन सक्छन् ।

३. भ्रमः मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति हिंस्रक तथा आक्रामक स्वभावका हुन्छन् ।

यथार्थः मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति स्वयं नै हिंसा र आक्रमणको जोखिममा हुन्छन् । विश्व स्वास्थ्य संगठनले प्रत्येक १० मध्ये ९ जना मानसिक समस्या भएका व्यक्ति कुनै न कुनै रूपमा मानवअधिकार हननका घटनामा परिरहेको तथ्यांक सार्वजनिक गरेको छ । 

४. भ्रमः बालबालिका र किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या हुँदैन ।

यथार्थः ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेरअगावै शुरु हुन्छ । प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

५. भ्रमः मानसिक स्वास्थ्य समस्या व्यक्तिगत कमजोरीका कारणले हुन्छ ।

यथार्थः मानसिक स्वास्थ्य समस्या विकास हुनुमा थुप्रै कारकतत्वले काम गरेका हुन्छन् । मानसिक स्वास्थ्य समस्या जैविक, वातावरणीय, सामाजिक तथा मनोवैज्ञानिक कारणले हुन सक्छ ।

६. भ्रमः मानसिक स्वास्थ्य समस्या, समस्या नभई बहाना वा नाटक गरेको हो ।

यथार्थः अनुसन्धानका अनुसार शारीरिक समस्या जस्तै मानसिक समस्या पनि स्वास्थ्य समस्या नै हुन् ।

७. भ्रमः मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई सहयोग गर्न सकिँदैन ।

यथार्थः प्रत्येक व्यक्तिले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको संरक्षण, सम्मान र उपचार विधिमा सहयोग गर्न सक्छ । समस्या भएको व्यक्तिको कुरा ध्यानले सुनिदिँदा मात्र पनि त्यस्तो व्यक्तिलाई धेरै सहयोग हुन सक्छ ।

८. भ्रमः मानसिक स्वास्थ्य समस्या कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई मात्र हुन्छ ।

यथार्थः मानसिक स्वास्थ्य समस्या जुनसुकै आर्थिक अवस्था भएका व्यक्तिलाई पनि हुन सक्छ ।

धेरैजसो मानसिक समस्यालाई समयमै सहयोग गर्न सकिए प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यस्तो सहयोग परिवार, साथीभाइ र छरछिमेकले पनि उपलब्ध गराउन सक्छन् । आवश्यकताअनुसार मनोविमर्शकर्ता, मनोविद् र मनोचिकित्सकको समेत सहयोग लिन सकिन्छ वा लिन आवश्यक हुन्छ । तर, मानसिक समस्या भएकालाई सुन्नुभन्दा पनि झन् अपहेलित गर्ने प्रवृत्ति छ ।

अधिकांश व्यक्तिले कुनै न कुनै समयमा मानसिक स्वास्थ्य सम्बन्धित चुनौतीको अनुभव गर्ने गर्छन् । नेपालको करिब ३० प्रतिशत जनसंख्या मानसिक समस्याबाट ग्रस्त छ । विश्वभर जनसंख्याको लगभग १५ प्रतिशत मानिस साधारण वा कडा कुनै न कुनै मानसिक समस्याबाट पीडित छन् । हामी सबै यसका जोखिममा छौं र मानसिक स्वास्थ्य अवस्थाबारे खुला र इमान्दार कुराकानी पनि हुनुपर्छ र उपचार विकल्प छन् भनेर पनि थाहा पाउनुपर्छ । तर, मानसिक स्वास्थ्य सेवा प्रायः ठूला शहरमा केन्द्रित छ । हरेक एक लाख जनसंख्यामा ०.२२ प्रतिशत मनोचिकित्सक र ०.०६ प्रतिशत मनोवैज्ञानिक मात्रै छन् । आत्महत्या विश्वकै लागि चिन्ताको विषय बनेको छ । हरेक ४० सेकेन्डमा एक जना र प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो । विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशमा भएको छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ५ हजार ७८५ जनाले आत्महत्या गरेका थिए भने आव २०७७/७८ मा ७ हजार १४१, आव २०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका थिए । आत्महत्याको कारणलाई केलायौँ भने ९० प्रतिशत आत्महत्या मानसिक समस्याको उपज देखिएको छ । नेपालमा अहिले दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । 

यस्तो डरलाग्दो समस्या आउन नदिन के गर्ने त ? यी बुँदा अपनाउँदा केही सहज हुन सक्छ । मनका कुरा साथीभाइ, आफन्त वा मन मिल्ने मान्छेसँग खोल्ने वा भन्ने बानी विकास गर्ने ।
नियमित व्यायाम र आराम गर्ने ।
पोषणयुक्त र सन्तुलित खाना खाने ।
आफ्ना लागि समय निकाल्ने वा धेरै तनावमा नरहने ।
योग र आरामदायी अभ्यास गर्ने ।
रमाइला क्रियाकलापमा सहभागी हुने ।
व्यस्त र तनावग्रस्त जीवनशैलीबाट परिवारका लागि प्रशस्त समय निकाल्ने ।
घरायसी काममा सहयोग गर्ने वा सहभागी हुने बानी विकास गर्ने ।

९० प्रतिशतभन्दा बढी नेपालीको मानसिक स्वास्थ्य सेवामा पहुँच नै छैन । हाल नेपालमा २०० जना मनोचिकित्सक, ३५ जना चिकित्सा मनोविद्, ८५ जना साइक्याट्रिक नर्स, २०० जना मनोविद, ८०० जना तालिमप्राप्त मनोपरामर्शकर्ता र तालिम प्राप्त केही मनोसामाजिक कार्यकर्ता कार्यरत छन् । कडा किसिमको मानसिक रोग लागेका कैयौं व्यक्ति घरमै थुनिएर, बाँधिएर वा बेवारिसे भएर सडकमा भौतारिएर रहनुपरेको छ । तर, कुल स्वास्थ्य बजेटको १ प्रतिशतभन्दा कम छ । यो क्षेत्रका लागि छुट्याइएको छ । अझ दुःखको कुरा समाजमा मनोसामाजिक अपांगतालाई पूर्वजन्मको पाप र कलंकको रूपमा लिने गरिएको छ । यस्तो गलत धारणाले समस्याको समाधान हुनेभन्दा पनि बढाएको छ । तसर्थ, व्याप्त यस्ता भ्रमलाई चिर्न सबै लाग्न आवश्यक छ ।
 

टिप्पणीहरू