मर्यादाक्रमको खै र ख्याल गरेको

मर्यादाक्रमको खै र ख्याल गरेको

संघीय निकायका प्रमुखले स्थानीय सरकारकी उपप्रमुखलाई ज्येष्ठता मिचेर प्रमुख अतिथि बनाएपछि सशस्त्र प्रहरीबीच कानेखुशी शुरु भएको छ । प्रसंग आइतबार सम्पन्न सशस्त्र प्रहरी परिवार महिला संघको २२ औं वार्षिकोत्सवको हो । प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई बनाइएको थियो । मर्यादाक्रममा उपप्रमुखभन्दा माथि सशस्त्र प्रहरीका आइजिपी हुनुपर्ने हो ।

तर, आइजिपी राजु अर्याललाई विशिष्ट अतिथि बनाइयो । महिलाको कार्यक्रम भएकाले महिलालाई नै बोलाउनुपर्ने बाध्यता रहे पनि गृहमन्त्री नहुँदा सञ्चार र भूमिसुधार मन्त्रीहरू, प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष पनि महिला नै हुन् । यी दुवैलाई छाडेर ७५३ मध्ये एउटा स्थानीय तहको उपप्रमुखलाई किन रोजियो भन्ने जिज्ञासा सशस्त्र प्रहरीभित्रै उत्पन्न हुने गरेको छ । 

आफूभन्दा तल्लो मर्यादाक्रममा रहेका व्यक्तिलाई प्रमुख अतिथि तोक्दा आइजिपी अर्यालसँग उनको सचिवालयले सल्लाह ग¥यो कि गरेन, प्रोटोकल ख्याल राख्यो वा राखेन वा खोपीका देवता बनाउन खोज्यो ? जवाफ प्रष्ट छैन ।

कार्यक्रममा हलचोकमा कार्यरत इन्स्पेक्टरदेखि आइजिपीसम्मका अधिकृत सहभागी थिए । आइजिपीले प्रथम महिला हाफ म्याराथन दौडमा सहभागी खेलाडीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए भने अध्यक्षता केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले गरेकी थिइन् । 

प्रोटोकोल ख्याल नगरेको कुरा उठेपछि सचिवालयले नयाँ फेसबुक अकाउन्टमा आइजिपी नदेखिने गरी वार्षिकोत्सवको फोटोसहितको सूचना पोष्ट गरेको थियो । स्मरणीय छ केही महिनादेखि सशस्त्र प्रहरीको फेसबुक एकाउन्ट ह्याकरको नियन्त्रणमा छ ।
 

टिप्पणीहरू