हारले छताछुल्ल कमजोरी, छोप्ने कि सुधार्ने ?

हारले छताछुल्ल कमजोरी, छोप्ने कि सुधार्ने ?

विद्यालय पढ्दाको बेला हो । शुक्रबार स्कूल छुट्टी भएपछि र शनिबार आलुको सिला खोजिन्थ्यो । त्यतिबेला आलु तीन रूपैयाँ किलो भए पनि सिला खोजेको आलु त्यसको आधामा बिक्थ्यो । कहिलेकाहीँ त खन्न बाँकी भएको एक दुई ड्याङ आलु नै ‘उडाइ’ दिन्थ्यौं । आलु अलि धेरै भयो भने सिला खोजेको आलु यत्ति धेरै हुन्छ ? भनेर ब्यापारीले हकार्थे । चोरेर ल्याएको होला भनी किन्न इन्कार गर्थे । अनि नयाँ आलु धनी खडा गरेर बिक्री गरिन्थ्यो । 

त्यो पैसा बचत गरेर मंसिरमा धान काटेको खेतमा खेलकुद प्रतियोगिता गरिन्थ्यो । विजेतालाई सिसाकलम र कापी पुरस्कार बाँडिन्थ्यो । हुन त आफैंले सिला खोजेको आलु बेचेर कमाएको पैसा सिधै दामासाही बाँड्दा पनि हुन्थ्यो । तर, धानको ठोसामाथि नांगै गोडा दौडिएर पुरस्कार जित्नुको मज्जा बेग्लै हुन्थ्यो । पुरस्कार जितेको खुशी बेलुकासम्म पीडामा परिणत भइसक्थ्यो । धानको ठोसाले प्वाल पारेका पैताला दुखेर निदाउन सकिन्नथ्यो ।

०५० सालको बाढीसँगै तत्कालीन पालुङ–दामनमा धानखेती बगायो । त्यसपछि धानखेती गर्ने चलन पनि हराउँदै गयो । सिला खोज्ने कसलाई जाँगर, प्रतियोगिता गर्ने कसलाई रहर ! पहिले पहिले गाउँ गाउँमा पुस्तकालय र क्लबहरू हुन्थे । अतिरिक्त अध्ययन र अतिरिक्त क्रियाकलापका लागि पुस्तकालय र क्लब राम्रो ठाउँ हुन्थ्यो ।

स्थानीयस्तरमै प्रतियोगिता हुन्थे । खेलकुदका केही न केही गतिविधि । भलै खेलकुदमा व्यावसायिकता परको कुरा हुन्थ्यो । तर, पछिल्लो समय त खेलकुदले व्यावसायिकताभन्दा फरक बाटो लिएको छ । अब खेलकुद व्यापारिक भएको छ । यसले नाफा घाटा मात्रै हेर्न थालेको छ । भलै नगरपालिकाले गर्ने प्रतियोगितामा पनि एउटा ‘बिचौलिया’ खडा हुन्छ । अनि उही हर्ताकर्ता भएर प्रतियोगिता गराउँछ । त्यो प्रतियोगिता नभएर ‘हिनामिना’ हुन्छ । पछिल्लो समय खेलकुद यसैगरी बिग्रिरहेको छ ।

कुनै पनि खेलको १ जितले कैयौं गल्ती लुकाइदिन्छ । तर जब हार हुन्छ, तब कैयौं गल्ती–कमजोरी सतहमा आउँछ ।

स्थानीय क्लबबाट राम्रा खेलाडीहरू आउँथे । अहिले जन्मन नपाउँदै बालबालिका मोबाइलमा व्यस्त हुन्छन् । सामुहिक खेल उहिल्यै लोप भयो । टोलटोलमा हुने प्रतियोगिता हुनै छाड्यो । कबड्डी, भलिबल, फुटबलका स्थानीय प्रतियोगिता पनि निकै टाढा भयो । 

जेठ १५ गते प्रचण्ड नेतृत्वको सरकारले बजेट ल्यायो । अर्थमन्त्री प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीको निर्वाचन क्षेत्र रहेको जिल्ला गोरखामा बजेटको बाढी आयो । अरु त अरु मन्त्रीहरूले बजेटमा असन्तुष्टि जनाए । यो पंक्तिमा युवा तथा खेलकुद र पर्यटनमन्त्री छुट्ने कुरै भएन । यो वर्ष मात्रै हैन, खेलकुदमा हरेक वर्ष बजेट कम नै विनियोजन हुन्छ । 

बजेट आउने महिना नेपाली राष्ट्रिय टोली धेरै वटा प्रतियोगितामा व्यस्त भयो । यी प्रतियोगिताले नेपाली टोलीको स्तर छताछुल्ल पारिदियो । कुनै पनि खेलको १ जितले कैयौं गल्ती लुकाइदिन्छ । तर जब हार हुन्छ, तब कैयौं गल्ती–कमजोरी सतहमा आउँछ । यस्तै अवस्था छ अहिले नेपाली खेलकुदमा । केहि दिनदेखि नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हेरिरहेका समर्थक एकै दिन दुई ठूला प्रतियोगितामा नेपालले हार व्यहोर्दा त्यसको समीक्षा गरिरहेका छन् । धेरैको बुझाइ छ, खेलाडीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका हुन् तर राज्यको बेवास्ता र सम्बन्धित निकायको व्यवस्थापकीय कमजोरी नै नेपाल हार्नुको प्रमुख कारण हो । 

गत दुई हप्ता नेपाल खेलकुदमय बन्यो । ५ टोलीले फरक फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए–टिम इभेन्ट्सतर्फ । अन्य खेलले पनि यसबीच अन्तर्राष्ट्रिय सहभागिता जनाए तर यहाँ मास गेम क्रिकेट, फुटबल, भलिबल र बास्केटबलमा नेपालको पछिल्लो नतिजा सारांशमा उल्लेख गर्न खोजिएको छ ।

क्रिकेट

क्रिकेटभित्र सबैभन्दा धेरै अपेक्षा पुरुष टोलीमा छ । आईसीसी लिग टु का पछिल्लो १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चाएको नेपाल एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्यो । तर, उच्च लयमा देखिएको नेपालले टेस्ट राष्ट्र जिम्बावे र वेस्टइण्डिजविरुद्ध कस्तो प्रदर्शन गर्ला भन्ने कौतुलता थियो । धेरैको अनुमानजस्तै नेपालले यी दुई टेस्ट राष्ट्र जिम्बावेविरुद्ध ८ विकेट र वेस्टइण्डिजविरुद्ध १०१ रनको फराकिलो हार व्यहो¥यो । समूहको अर्को टोली अमेरिकालाई ६ विकेटले हराएर सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाएको नेपाल अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भयो । अनि नेपाल समूह चरणबाटै बाहिरियो । अन्तिम खेल छाड्ने हो भने सुरुवाती ३ खेलमा नेपालको प्रदर्शन तारिफ योग्य नै थियो ।

तर नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ ३ वटै क्षेत्रमा कमजोर देखियो । बलियो टोलीविरुद्धको खेलमा नेपालको कमजोरी छताछुल्ल भयो । आईसीसी लिग टु का पछिल्लो १२ मध्ये ११ खेल जित्दा नेपालको कमजोरीको चर्चा गर्ने आवश्यकता नै ठानिएन । हुन त नेपालले दक्षिण अफ्रिका भ्रमणमा भएको तयारी र अभ्यास खेलबाटै धेरै कमजोरी देखिइसकेको थियो । बलिङ सम्हाल्न खोज्दा ब्याटिङ बिग्रिने, ब्याटिङ सम्हाल्दा बलिङ बिग्रने, दुबै सम्हाल्दा फेरि फिल्डिङ बिग्रिने भयो । विशेषगरी वेष्ट इण्डिजसँगको खेलमा दुई वटा महत्वपूर्ण क्याच मिस गर्दा नेपालले एक दिवसीय मान्यताप्राप्त खेलमा तेहोरो अंक (१०१ रन) को हार व्यहोरेको हो । यसअघि नेपालले युएईसँग ९९ रनको फराकिलो हार व्यहोरेको थियो ।

असारमै नेपालको महिला क्रिकेट टोलीले एसीसी महिला टि ट्वान्टी इमर्जिङ टिम्स एसिया कप खेल्यो । भिसा समस्याका कारण थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले पहिलो पटक सहभागिताको अवसर पाएको हो । तर पहिलो खेलमा पाकिस्तानको ए टिमसँग ९ रनले हारेपछि दोस्रो खेलमा भारतको ए टिम र हङकङविरुद्धको तेस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले २ अंक जोड्यो । तर, सेमिफाइनलमा पुग्न त्यो अंक पर्याप्त नहुँदा नेपाल समूह चरणबाटै बाहिरियो । 

बास्केटबल

नेपालले माल्दिभ्समा सम्पन्न फाइभ नेशन बास्केटबल च्याम्पियनसिप खेल्यो । भारत र श्रीलंकाबाहेक दक्षिण एसियाका ५ राष्ट्र सम्मिलित प्रतियोगिताको लिग चरणमा बंगलादेश, पाकिस्तान र आयोजक माल्दिभ्सलाई हराएको नेपाल भुटानसँग हार्‍यो । सेमिफाइनलमा फेरि भुटानसँगै अन्तिम समयमा ६०–६१ को स्कोरमा हार्दै खाली हात घर फर्किन बाध्य भयो । 

भलिबल

राष्ट्रिय पुरुष भलिबल टोली अहिले किर्गिस्तानमा भएको काभा मेन्स भलिबल नेसन्स लिगमा नेपालले बिर्सनलायक प्रदर्शन गर्‍यो । इरान, किर्गिस्तान तुर्किमिनिस्तानजस्ता बलिया टोली सम्मिलित लिगमा नेपालले कुनै खेल जित्न सकेन । क्रमशः मंगोलिया, किर्गिस्तान, इरान, तुर्किमिनिस्तान र आयोजक किर्गिस्तानको बी टोलीसँग हारेको नेपाल अन्तिम खेलमा उज्वेकिस्तानसँग हार्दै तालिकाको पुछारमा रह्यो । राष्ट्रिय खेल भलिबलमा नेपालले गरेको यस्तो प्र्रदर्शन सम्झनुपर्ने कुनै कारण छैन । हुन त प्रशिक्षक बलियो रहेको टोलीविरुद्ध खेल्दा यस्तै नतिजा आउने हो भनेर जिम्मेवारीबाट पन्छिन्छन् ।

फुटबल

दक्षिण एसियामै सीमित नेपाली फुटबललाई पछिल्लो समय साफमै पनि आफ्नो साख जोगाउन हम्मेहम्मे परिरहेको छ । गत संस्करणको साविक उपविजेता नेपाल यस पटक भारतमा भएको प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । कठिन समूहमा परेको नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा साविक विजेता तथा घरेलु टोली भारतसँग २–० गोलले हार्दा १ खेलअघि नै समूह चरणबाट बाहिरियो । अन्तिम खेलमा नेपालले पाकिस्तानविरुद्ध १–० गोल अन्तरको सान्त्वना जित निकाल्यो । 

नेपालको सहभागिता अनुभव र परीक्षणमा मात्र सीमित छ । कुनै समय आफ्नै स्तरमा रहेका टोलीले धेरै सुधार गरिसक्दा समेत नेपाल जहाँको त्यहीँ छ । यसको जिम्मेवारी सम्बन्धित खेल संघ, पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय र राज्यले नै लिनुपर्छ । मातहतका संघको नियमन गर्न नसक्ने र उचित योजना कार्यक्रम कार्यान्वयनमा समन्वय नगर्ने राखेपको काम राष्ट्रिय टोलीलाई शुभकामना दिने र बिदाइ गर्ने मात्र भइरहेको छ । 
 

टिप्पणीहरू