सुरक्षा सल्लाहकारलाई जंगी अड्डामा रातारात स्वागत

सुरक्षा सल्लाहकारलाई जंगी अड्डामा रातारात स्वागत

कार्यविधिमार्फत राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त पूर्व मुख्यसचिव शंकरदास वैरागीलाई बधाई दिन नेपाली सेनाले जंगीअड्डामा भव्य रात्रिभोजको आयोजना गरेको छ  । मन्त्रीसरह सुविधा पाउनेगरी गत जेठ ३२ गते सल्लाहकार नियुक्त उनलाई शुभकामना दिन असार ८ गते ‘ड्रिंक्स एण्ड डिनर’ राष्ट्रिय सुरक्षा परिषदको वार्षिकोत्सवका अवसरमा रक्षा मन्त्रालय परिसरभित्रै राखिएको थियो । 

यसअघि दिउँसो चियापान कार्यक्रम गरिँदै आएको तर यसपालि भने प्रधानमन्त्रीलगायत मुलुकका उच्च ओहोदावाललाई उपस्थित गराउने परम्परा तोडिएको छ । 

अवकाशप्राप्त दुईतारे जर्नेल एवं सुरक्षा परिषद्का सहसंयोजकहरू राजेन्द्र थापा, शिवराम प्रधान, काजीबहादुर थापा, गौरव तण्डुल, निरञ्जनकुमार श्रेष्ठका साथै विनयविक्रम राणाहरूको उपस्थिति रहेको सो कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आफू अन्य सेनापतिभन्दा फरक भएको बताएका थिए । 

नेपाली सेनामाथि लागेको लाञ्छना मेटाउन आफूले गरेको प्रयत्न सफल भएको दाबी गर्दै उनले त्यसमा गौरवान्वित महसुस भएको र आफूमा व्यक्तिगत स्वार्थको भावना नभएको पनि सुनाए । उनले भने, ‘गर्वका साथ भन्दैछु, म अरुजस्तो चिफ होइन । म साधारण व्यक्ति, देश र सुरक्षाभन्दा ठूलो केही लाग्दैन । व्यक्तिगत विषयसँग मतलब भएन ।’

त्यस्तै, उनले सेनाप्रति सांसदहरूको रवैया परिवर्तन भएकोमा खुशीसमेत व्यक्त गरेका थिए । सेनाको संख्या घटाउनुपर्ने भनी संसदमा आवाज उठाउँदै आएका सांसदहरूलाई सेनाको महत्व बुझाउनु ठूलो उपलब्धि भएको उनको बुझाइ छ । साथै, संसदमा बर्दी लगाएरै जाने चलनको विकास गरेको बताउँदै उनले जस्तोसुकै कार्यक्रममा जान पनि नहिच्किचाउने बताए । 

‘पहिले संसदमा बर्दी लगाएर जाने चलन थिएन, म गएँ । आफ्नो कुरा राखें । रास्वपाका सांसदहरूले सेनाको संख्या घटाउनुपर्ने भन्दै आएका थिए । मैले तिनलाई सेनाको महत्व बुझाइदिएँ । वन, पर्यावरण, रोडलगायत विकास निर्माणका काममा सेनाले गरेको योगदानबारे जानकारी गराएँ,’ उनले भने, ‘अहिले सांसदहरूले हामीबारे बोल्ने टोनमा परिवर्तन ल्याएका छन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम ल्याउने बेला र संसदीय समितिले बोलाएको बेला मात्र हामी बर्दी लगाएर उपस्थित हुने गरेकोमा मैले त्यसमा चेञ्ज ल्याउन खोजेको छु । त्यस्ता महत्वपूर्ण कार्यक्रममा सेकेण्ड वा थर्ड म्यान पठाउने चलन थियो, अहिले म आफैं जाने गरेको छु ।’

एक हुल जर्नेल घर जाँदै यसपटक एक हुल जर्नेलको अवकाश हुने भएको छ । सहदेव खड्का, हिरालाल जोशी, विजय थापा, विनयविक्रम राणालगायतका जर्नेलहरू छिट्टै घर जाने लाइनमा छन् । 
 

टिप्पणीहरू