सभामुखले राजीनामा दिने कि पार्टी छाड्ने ?

सभामुखले राजीनामा दिने कि पार्टी छाड्ने ?

कतै बाध्यतावश राजीनामा गर्ने परिस्थिति त कोही अति जान्ने सुन्ने (अजासु) हुँदा अविश्वासको प्रस्ताव सामना गर्ने ठाउँमा ! कान्छो प्रदेश (कोशी)का सभामुख बाबुराम गौतमका लागि राजीनामा बाध्यता बनेको बताइरहँदा बाग्मतीका सभामुख भुवन पाठक भने आफैँ अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने ठाउँमा उभिएका छन् । कोशी प्रदेशमा ९३ सांसद छन् । २३ जेठमा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा छन् । 

बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर, त्यहाँ विपक्षी र सत्ता पक्ष दुबैसँग ४६÷४६ मत छ । कांग्रेससँग २९, माओवादी केन्द्रसँग सभामुखबाहेक १२, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सीट गरी ४६ सदस्य छन् । यस्तै एमालेसँग ४० र राप्रपाको ६ गरी ४६ सीट छ । सत्तापक्ष र प्रतिपक्षसँग बराबर सीट संख्या भएकाले सरकार बनाउन निर्णायक भूमिकामा छन्, सभामुख बाबुराम गौतम । संविधानअनुसार पक्ष÷विपक्षमा समान मत देखिए सभामुखले मतदान गर्न पाउँछन् । धारा १६८को उपधारा ३ अन्तर्गत एमाले र राप्रपाबाहेक गठबन्धनको सरकार बने मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेला सभामुखले राजीनामा दिनुपर्ने तर्क जोडदार रुपमा उठ्न थालेको छ । 

बाध्यतावश, कोशीका सभामुखले राजीनामा दिनुपर्ने स्थिति देखिँदै गर्दा बाग्मती प्रदेशका सभामुखले भने अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने खतरा छ । संविधानले नै सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय पद हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने परिकल्पना गरेको छ । सभामुख निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको स्वघोषणा गर्ने अभ्यास छ, केन्द्रदेखि प्रदेशसम्मै । तर प्रचलन विपरीत बाग्मतीका सभामुखले पाँच महिना बित्दासमेत राप्रपाको महामन्त्री र विदेश विभाग प्रमुख छाडेका छैनन् । 

बाग्मतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाल पार्टीका २ सदस्य छन् । ती सांसदलाई मर्यादा र संसदीय अभ्यास सिकाउने सभामुख भुवन पाठक आफैँचाहिँ प्रचलित अभ्यासलाई कुल्चँदै हिँडिरहेको आवाज प्रदेशकै सांसदहरुले उठाउन थालेका छन् । पुस २९ मा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाठकलाई बाग्मतीको सभामुखमा पद तथा गोपनीयताको शपथ गराएका थिए । संघ र बाँकी ६ प्रदेशका सभामुखले पार्टीबाट अलग भएको घोषणा गरिसक्दा पाठक अझै पनि राप्रपाको महामन्त्रीकै हैसियतमा छन् । राप्रपामा कुन्ती शाही र डा. धवलसमशेर राणा निर्वाचित महामन्त्री हुन् भने राजेन्द्र गुरुङ, प्रल्हाद शाह र रविन्द्र मिश्रको पार्टीबाट आएका शरद पाठक गरी ६ जना महामन्त्री छन् । 

कानुनविद् चन्द्रकान्त ज्ञवालीले जनआस्थासँग भने, पार्टीको सदस्य कसरी तटस्थ हुन सक्छ ? सभामुख न्युट्रल हुनुपर्ने होइन र ? यदि उनले पार्टीबाट राजीनामा नदिएको हो भने सभामुखमाथि प्रदेशका माननीयले अविश्वासको प्रस्ताव ल्याउन सक्ने प्रशस्त आधार छ । पाठकसँगै प्रदेशको सभामुखमा चुनिएका गण्डकीका कृष्णप्रसाद धिताल, लुम्बिनीका तुलाराम घर्ती, कोशीका बाबुराम गौतम, कर्णालीकी नन्दा गुरुङ, सूदुरपश्चिमका भीम बहादुर भण्डारी र मधेश प्रदेशका रामचन्द्र मण्डलले संसदको पहिलो बैठकमै पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

यही कारण भोलि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, मजदुर किसान पार्टी र हाम्रो नेपाल पार्टीका ७० सांसदले अविश्वासको प्रस्ताव अगाडि बढाए भने के हुन्छ ? एमाले र राप्रपाका ४० सांसदका बलमा सभामुखको कुर्सी बच्छ कि ढल्छ ?
 

टिप्पणीहरू