समाजवादी मोर्चाको मति, गति र गन्तव्य

समाजवादी मोर्चाको मति, गति र गन्तव्य

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलले अघिल्लो सोमवार समाजवादी मोर्चा बनाएपछि नेपाली राजनीतिक बहसले फरक स्वाद पाएको छ । पत्रकार र मिडियाले समाचारका लागि नयाँ मसला भेट्टाएका छन् । केही वर्ष भूमिगत भएर हिंसात्मक राजनीतिक आन्दोलन गरेको विप्लव समूहको नेकपासमेत यसमा सहभागी भएपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । विप्लव समूहको फरक–फरक कोणबाट आलोचना र समर्थन भएको छ । लामो समयदेखि रहस्यपूर्ण रूपमा भूमिगत राजनीति गर्दै केपी ओलीको प्रधानमन्त्रीत्वकालमा छक्कापञ्जा मिलाएर खुला भएका विप्लवसमेत संसदीय राजनीतिक भासमा गएको सच्चा कम्युनिष्ट हौँ भन्ने केही दलको आरोप छ तर विप्लवले भने आफूहरू अहिलेको अवस्थालाई बदल्न आएको दाबी गर्नुभएको छ ।  

तर बारम्बार समाजवादी मोर्चाको अवधारणा सार्वजनिक गर्दै आउनुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र बृहत् कम्युनिष्ट एकताका अभियानकर्ता वामपन्थी नेता वामदेव गौतम नै सहभागी नभएपछि मोर्चाको शक्ति सोचेजति उत्साहजनक हुनसकेको देखिएको छैन । यसले जति चर्चा, महत्व र सकारात्मक समर्थन पाउला भन्ने ठानिएको थियो, त्यस्तो हुनसकेको छैन । 

मोर्चाले सार्वजनिक गरेको प्रतिबद्धतामा पनि खासै नयाँ कुरा छैन । प्रतिबद्धतासाथ आउनुपर्ने अत्यन्तै महत्वपूर्ण दुइटा कुरा छुटेको छ । 

१, सबै नेता–कार्यकर्ताले अनिवार्य श्रम गर्नुपर्ने बाध्यात्मक व्यवस्थाको कुरै छैन । 

२, मोर्चामा रहेका राजनीतिक पार्टी र तिनका नेता, कार्यकर्ताको सम्पत्ति सार्वजनिक गर्नुपर्ने विषय कहीँ उल्लेख छैन । यी दुई प्रतिबद्धता सार्वजनिक गर्न सकेको भए नागरिकमा नयाँ आशा र विश्वास पलाउने थियो । त्यो पनि प्रष्ट छैन । पटक पटक सत्ता चलाएका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नोपल, उपेन्द्र यादवको सम्पत्ति कति छ ? व्यापार व्यवसाय कहाँ कहाँ छ या छैन ? हिजो पार्टी र नेता कसरी चलेका थिए र आज कसरी चलिरहेका छन् भन्ने उल्लेख छैन । हाम्रो सामाजिक मनोविज्ञानको चरित्रअनुसार नागरिक, मिडिया सानोभन्दा सानो कुरामा शंका गर्छन्, यही कुरा नआएपछि आवरण जतिसुकै कडा छालाले टाल्न खोजे पनि केही नयाँ ताजगीपन आउने छैन । यस्तै भूमिगत अन्दोलन चलाएका भनिएका विप्लव, प्रकाण्ड र अन्य केही ने्ता, कार्यकर्ताले आलिशान बंगला बनाएर सम्पत्ति थुपारेका छन् भन्ने आरोप छ । के यो सत्य हो ? हो वा होइन भने पनि वास्तविकता बाहिर आउनुपर्ने होइन ? यी पार्टी कसरी चलाइएको छ भन्ने कुरा सार्वजनिक हुनुपर्ने होइन ? अनि विप्लव समूहबाट हिजो गरिएको आन्दोलनबाट के के प्राप्त भयो ? र, अब के के प्राप्तीका लागि मोर्चा कस्न परेको हो भन्ने कुरा बाहिर ल्याउन सकेको खै ? यस्ता नागरिक जिज्ञासा मेटाउन सकेको भए पो मोर्चा घोषणामा सुनमा सुगन्ध आउने थियो । 

मोर्चाले अहिलेको व्यवस्थालाई मात्र सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्न खोजेको देखिन्छ । संविधान र परिवर्तनविरोधी शक्ति मुलुकलाई सामन्ती व्यवस्थामा नै फर्काउनुपर्छ भनेर लागिरहेको अवस्थामा मोर्चा गठन हुनु जायज नै हो । ठूला पार्टीका नेता, कार्यकर्ता तितरबितर भई कहिले घण्टी बजाउन त कहिले हलो समाउन पुगिरहेको बेला समाजवादी मोर्चाले अधिकांश निराशालाई आशामा परिणत गर्न सक्ने सम्भावना त छ तर मोर्चा बलियोसँग बन्न सकेको देखिएन । समाजवादतिर जानेबारे मोर्चा प्रष्ट भए पनि साम्यवादसम्म पुग्ने नपुग्ने विषयमा किन प्रष्टता नचाहिएको हो । वर्तमान विश्व राजनीतिक परिवेशलाई हेरेर त्यो घोषणा गर्न नसकिएको हुनसक्छ । तर जनताले भने जनवादी गणतन्त्रले नै हेर्न चाहेका छन् एकपटक । आखिर यी चारै दल कम्युनिष्ट विचार बोक्ने शक्ति हुन् भने, कम्युनिष्टको अन्तिम लक्ष्य साम्यवाद हो भन्ने रणनीतिमा अडिग हो भने, अब जनगणतन्त्रको गन्तव्य समात्नतिर लाग्नुपर्छ । यस्तो प्रष्टता भएमा त्यहाँसम्म पुग्न नसकिने अवस्था नै छैन । किनकि दलाल पुँजीवादी अर्थव्यवस्थाको आडमा चलायमान संसदीय व्यवस्थाबाट पनि नागरिक वाक्क दिक्क भइसकेका छन् । नागरिक मात्रै होइन, राजनीतिक पार्टीका नेता, कार्यकर्ता नै निराश भई एउटा पार्टीको सिद्धान्त बोकेर सिद्धान्तै स्पष्ट नभएको व्यक्ति र पुरातन शक्तिको पक्षमा उभिन थालेका छन् ।

राजनीतिमा अपराध र अपराधमा राजनीति घालमेल हुँदै आएको छ । के यसो हुन नदिन मोर्चा तयार छ ? राजनीतिक आवरणमा कमाउने, श्रम नगर्ने चन्दा मागेर खाने, लेबीले ठूला नेता पालिने चलन छ । के मोर्चा यसका विरुद्ध उभिन सक्छ ? राजनीतिक नेताहरूले नै शिक्षा, स्वास्थ्यजस्ता नागरिकका आधारभूत क्षेत्रमा आफ्नो मात्र पहुँच बढाउने गर्दै आएका छन् । त्यही नेता, मन्त्री, सांसदको स्कूल छ, स्वास्थ्य कार्यालय छ , के मोर्चा यस्तो नगर्ने नीति, आचारसंहिता तयार पार्न तयार छ ? अनिवार्य श्रम कहीँ देखिएन । देशभरिको जमीन बाँझिएर अनिकाल बढ्ने, हावापानी बिगार्ने प्रचलन बढिरहेको छ । के मोर्चा आफ्ना नेता, कार्यकर्तालाई अनिवार्य श्रममा जोडाउन चाहन्छ ? एउटा हर्क साङ्पाङ जत्तिको पनि विचार आएको देखिएन यत्तिका दिग्गज नेताहरूको दिमागमा । 

तथापि प्रतिगमनकारीले टाउको उठाउन थालिसकेको अवस्थामा त्यसलाई प्रतिवाद गर्न, नेता, कार्यकर्ताको मन भुलाउन र युवामा नयाँ आशा भर्न एउटा नयाँ शक्ति चाहिएकै थियो । त्यसलाई पूरा गर्ने तागत राख्नुपर्छ मोर्चाले । समाजवादी विचारधारा बोकेका सम्पूर्ण शक्तिलाई यसमा सामेल गरेर बलियो शक्ति निर्माण गर्नुपर्छ । यदि सकिन्छ भने नेकपा एमालेलाई समेत सहभागी गराउनुपर्छ । हरेक कुरामा आफूलाई पारदर्शी बनाउनुपर्छ । यसरी आफ्नो गति बढाउनुपर्छ मोर्चाले । माथि नै भनिएझैँ नागरिकको मनोभावना बुझेर आफ्नो गन्तव्य स्पष्ट पार्नुपर्छ । वर्तमान सत्ता गठबन्धन जोगाउन ५४ सिटको संरक्षणका लागि मात्रै मोर्चा गठन भएको हो कि यसको यात्रा जनगणतन्त्रसम्म हो, प्रष्ट हुनुपर्छ । मोर्चा सम्पूर्ण कम्युनिष्ट पार्टी एकताको चौतारी बन्नुपर्छ । र, यसको यात्रा र गन्तव्य उन्नत वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हुनुपर्छ । अन्यथा परम्परागत संसदीय राजनीतिक पोखरीमा रुमल्लिएर सत्ताको जोडघटाउका लागि मात्रै आवरणमा नयाँ रंग दलेर यो मोर्चा बनाइएको हो भने यसले न गति नै लिनेछ न गन्तव्य नै पक्डन सक्नेछ । यो पानीको फोकाझैँ फुट्नेछ, परालको आगोझैँ निभ्नेछ ।    

 

टिप्पणीहरू