विद्या र केपीबीच टुटेकै हो त बोलचाल ?

विद्या र केपीबीच टुटेकै हो त बोलचाल ?

‘म जाँदै जान्न, हेरौं न के गर्दोरहेछ !’ भन्दै गोकुल बाँस्कोटा नै केपी ओलीसँग टेढिएको कुरा पत्याउन मुश्किल पर्ला । तर, अहिले भएकोचाहिँ यस्तै नै छ ।

शुक्रवार, अर्थात् असार ८ गते साँझ बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा चलिरहेको एउटा विवाह भोजमा अरुले पनि सुन्ने गरी गोकुल भन्दै थिए, ‘पार्टी इञ्चार्जको कुरा पो हो त, सिडिओ सरुवा गरेको हो र !’ सिन्धुपाल्चोकका एमाले नेता अरुण नेपालका छोराले चिनियाँ युवतीसँग विवाह गरेको उपलक्ष्यमा आयोजित जमघटमा गोकुलले पोखेको आक्रोशको कारण थियो, उनलाई सिन्धुपाल्चोकको जिल्ला इञ्चार्ज तोकिनु । एमालेको केन्द्रीय नेतृत्वले काभ्रेका गोकुललाई त्यहाँ पठाएर उनको जिल्लामा काठमाडौंबाट कृष्ण राईलाई इञ्चार्ज तोकेको छ । एक जिल्लाको नेतालाई अर्को जिल्ला पठाउने, अर्थात् आफ्नो जिल्लामा आफैं इञ्चार्ज हुन नपाइने मापदण्ड बनाउँदै पार्टीले अरुका हकमा पनि यस्तै व्यवस्था गरेको छ । यससँगै सहइञ्चार्जको व्यवस्था खारेज भएको छ । आफ्नो जिल्लामा आफैं इञ्चार्ज राख्दा जिल्ला पार्टीभित्र विकसित फरक खेमाबीच समन्वयकारी भूमिका कमजोर भई गुटबन्दी मौलाउने भन्दै एमालेले यस्तो व्यवस्था गरेको हो । तर, गुटबन्दी गर्छु भन्ने इञ्चार्जले अर्को जिल्लामा पनि बाँकी नराख्ने भन्दै गोकुलले यो मापदण्ड व्यवहारिक नभएको बताउने गरेका छन् । त्यसमाथि उनको जिल्लामा इञ्चार्ज भएर गएका कृष्ण राई उनीभन्दा निकै जुनियर नेता हुन् ।

यो घटना एक जिल्लाबाट अर्को जिल्लामा कसैलाई इञ्चार्ज तोकिएको विषयसँग मात्रै सम्बन्धित छैन । एमालेभित्र विकास भइरहेको नयाँखाले शक्ति संघर्षको एउटा रूपलाई यो घटनाले चित्रित गरेको उक्त पार्टीका नेताहरू बताउँछन् । गोकुल र कृष्णका कुरा उनीहरूका व्यक्तिगत हैनन्, शक्तिसंघर्षमा पात्र प्रस्तुतिकरण वा भूमिका निर्धारण गर्दै आ–आफ्नो शक्तिप्रति चिन्ता गर्ने विषय पनि हो यो । अहिले बूढानीलकण्ठ, भंगालस्थित पूर्वराष्ट्रपति विद्या भण्डारीको निवासमा एमालेका नेताहरूको भीडभाड हुने गरेको छ । तर, उहाँ राष्ट्रपतिबाट फर्किएपछि पार्टी अध्यक्ष केपी ओलीको देखिने गरी कुनै भेटघाट भएको छैन । नत्र त बैठकहरूमा बिना प्रसंग पनि उच्चारण हुने गथ्र्यो विद्याको नाम । अहिले त्यो सबै ठप्प छ । ओलीको बुझाई छ, विद्याले पार्टीभित्र आफूलाई प्रतिकूल हुने गरी भूमिका खेल्न थालेको । त्यसैले विद्या निकटका मान्छेहरूलाई अहिले ओलीको वरिपरि राखिँदैन । यसमध्ये गोकुल र कृष्ण दुबै विद्याका खास भनी चिनिन्छन् । त्यसमध्ये कृष्ण त उहाँ रक्षा मन्त्री हुँदा स्वकीय सचिव नै थिए । विद्याले चुनाव उठ्ने गरेको अहिलेको काठमाडौं– ४ मा चुनावी परिचालन गर्ने कमाण्डर नै कृष्ण हुन्थे । गोकुल पनि विद्याका उत्तिकै विश्वासिला हुन् । यी दुबै विश्वासिलाबीच बाझाबाझ होस् भन्ने उद्देश्यले यस्तो गराइएको भनिन्छ । उता, सिन्धुपाल्चोकको हकमा अरुण नेपालजत्तिको नेता हुँदाहुँदै वा त्यहाँ पठाउन उपयुक्त नेता हरू नै हुँदाहुँदै पनि गोकुल नै पठाउनुको कारण हो, अरुण पनि विद्यानिकट हुनु ।

यसरी एमालेभित्र विकास भइरहेको शक्तिसंघर्षमा ‘माधव नेपाललाई अन्तिममा धोका दिने’ भनिएका सबैजसो नेता विद्यानिकट छन् । जस्तो कि, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यहरू । ओलीले विगतको स्थानीय निर्वाचनमा पराजित भएका विमला घिमिरे, भगवती न्यौपानेहरूलाई सांसद बनाउनुभयो । त्यसरी पनि उहाँले विद्यानिकट महिलाहरूलाई चिढ्याउनुभएको चर्चा च्यासलमा चल्ने गरेको छ । यसरी विद्याप्रति ओली एकाएक नकारात्मक हुनुको कारणमध्ये एक हो, विद्याले माधव नेपाल र उहाँको पार्टीका कतिपय नेतासँग समन्वयकारी भूमिका खेल्नु । भित्रभित्र पार्टी मिलाउनुपर्छ भन्ने विद्याको लाइन छ । तर, पार्टीभित्र प्रतिस्पर्धीहरू भेला पारेर तनावको भारी बोक्ने पक्षमा ओली हुनुहुन्न । अघिल्लो साता वामदेव गौतमलाई ‘माछो–माछो, भ्यागुतो’ बनाइएको पनि त्यही भएर हो । समाजवादी छोडेर एमाले फर्किएका नेता मुकुन्द न्यौपानेको व्यवस्थापनका नाममा विधानबाट ७० वर्षे उमेरहद निलम्बन गरिएपछि वामदेव पनि हौसिनुभयो र एमालेमा फर्किने कुरा गर्नुभयो । उहाँले ओलीपछिको हैसियतमा आफ्नो भूमिका माग्नुभएको थियो । तर, त्यसको सुनिश्चितता नगरेपछि फेरि वामदेव भाँडिनुभएको छ । यो घटनाको अन्तर्यमा जाँदा पनि ‘विद्या कनेक्सन’ भेटिने नेताहरू बताउँछन् । विद्या परिवारसँग वामदेव परिवारको निकटता पहिल्यैदेखि रहँदै आएको हो । वामदेव पत्नी एवं पूर्वसांसद तुलसा विद्याकी विश्वासिली नेता हुन् ।

पार्टीलाई आफ्नो मुठ्ठीबाट उम्किन नदिनका निम्ति र भंगालबाट आउने खतरालाई दृष्टिगत गर्दै अहिले ओलीले पार्टीका सबै गतिविधिमा निश्चित व्यक्तिलाई मात्रै भूमिका दिने गर्नुभएको छ । मुख्य ‘किङ्गमेकर’ विष्णु रिमाल हुन् । महासचिव पनि भएका कारण शंकर पोखरेलको भूमिका हुने नै भयो, तर शंकरलाई भन्दा बढी विश्वास प्रदीप ज्ञवालीलाई गर्न थाल्नुभएको छ । भनिन्छ, व्यक्तिगत रिसइवीमा पार्टी नै सखाप पार्ने काम भइरहेको छ । एमालेभित्र आजसम्म विकसित सबैखाले अभ्यासलाई बन्द गराइएको छ । पार्टीभित्र कुनै विषयमा छलफल नहुने स्थिति छ । 
 

टिप्पणीहरू