रुपन्देहीमा सुरक्षा थ्रेट बढेकै हो ?

रुपन्देहीमा सुरक्षा थ्रेट बढेकै हो ?

घटना नम्बर १ः सोमबार साँझ भैरहवाको व्यस्त बजार बुद्धचोकदेखि करिब दुई सय मीटर दूरीमा रहेको उद्योगी श्याम अग्रवालको घरमा डाँकाहरु पसे । उनीहरुले सम्साँझै घरमा पसेर घरभित्र रहेका सबैको घाँटीमा धारिलो हतियार राखेर तर्साउँदै फिल्मी शैलीमा घरमा भएको सबैको गरगहना र नगद लुटेर हिँडे ।

घटना नम्बर २ः  दुई हप्ता अगाडि दाना तथा चामल उद्योगी  भैरव कलबारको घरलाई लक्षित गरेर गल्लामन्डीमा मध्यरातमा बम विस्फोट गराइयो । त्यसबाट घरको पर्खाल भत्किएको छ । 

घटना नम्बर ३ः  दुई महिना अगाडि सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा बम भेटियो । बम नेपाली सेनाको डिस्पोजल टिमले निस्क्रिए बनाएको थियो ।

घटना नम्बर ४ः भैरहवा मेडिकल कलेजको दन्त रोग विभागका प्रमुख प्रा.डा हेमन्त हलुवाईको किशोरपुरस्थित घरमा चोरी भयो । त्यसको केही दिनपछि बालरोग विशषज्ञ डा. नागेन्द्र चौधरीको घरमा पनि त्यसैगरी चोरी भएको थियो ।

घटना नम्बर ५ः नेकपा विप्लव समूहले भैरहवाको मिलनचोकमा रहेको व्यवसायी रमानन्द बानियाँको घर कब्जाको घोषणा गर्दै व्यस्त बजारमा कोणसभा गरे । उक्त घरमा झण्डा गाडे र ब्यानर टाँगे । 

घटना नम्बर ६ः भैरहवाको एक होटलबाट असार १० गते आन्तरिक राजस्व कार्यालय भैरहवाले भारतबाट अवैध रुपमा ल्याइएको ६८ बोतल भारतीय मदिरा बरामद गरेर अनुसन्धान थाल्यो । 

यी घटनाले पनि देखाउँछ कि रुपन्देही त्यसमा पनि सीमावर्ती भैरहवा बजार कति असुरक्षित छ भन्ने अवस्था । यी घटनामा संलग्न  भएको आशंकामा हालसम्म एकजना पनि प्रहरीले फेला पार्न सकेको छैन । घटनाबारे प्रहरी प्रशासन जानकार भए पनि अनुसन्धान भइरहेको भन्ने बाहेक थप जानकारी दिन सकेको देखिँदैन ।

विगतमा बालकृष्ण खाण गृहमन्त्री हुँदा सीमाबाट हुने चोरी तस्करी र अवैध क्रियाकलाप खाणको गृहनगर समेत रहेको भैरहवामा देखाउनका लागि भए पनि आन्तरिक शान्ति सुरक्षा राम्रो रहेको स्थानीयले बताएका छन् । त्यतिबेला चोरी, डकैती र बिस्फोटक पदार्थ कतै प्रयोग भएको थिएन । तर अहिले चोरी  तस्करीमा कमी आएपनि शान्ति सुरक्षामा खलल पुर्याउने गिरोह झन् सक्रिय भएको छ । डकैतीसँगै चोरी बढेको बताइन्छ । घरदेखि आयल निगमको ट्यांकरबाट तेल चोर्नेहरुको संख्या समेत अचम्मसँग बढेको छ । 

सर्वसाधारणमा त्रास फैलिएको छ । तर जिल्ला सुरक्षा समितिको समेत संयोजक रहेका प्रमुख जिल्ला अधिकारी अलमलमा परेको देखिन्छ । दिनहुँ सिडिओ कार्यालयमा बैठक बस्छ तर जिल्लामा विशेष सुरक्षाको योजना लागु गर्न सकेको छैन । गाउँपालिका अध्यक्षको घरमा बम राख्नेबारे दुई महिनाभन्दा बढी समयसम्म सुरक्षा निकायले सुईंको नपाउनु अर्को रहस्यमय देखिएको छ । 

झण्डै ६० किलोमीटर खुल्ला सीमाना रहेको लुम्बिनी प्रदेशको औद्योगिक तथा व्यपारिक केन्द्र रुपन्देहीमा यतिबेला सुरक्षा थ्रेट बढ्दै गएको सर्वसाधारणको बुझाई छ । मुख्य सहरहरु भैरहवा, बुटवल, मुर्गिया, देवदहमा अज्ञात समूहले चोरी डकैती गर्ने, ठाउँठाउँमा बिस्फोटक पदार्थ पड्काउने, सीमामा चोरी तस्करी गरेर भारतबाट अवैध समान भित्र्याउने कार्यले तीब्रता पाउनुलाई सामान्य मान्न नहुने सरकारी कर्मचारीहरु नै बताउँछन् ।

तर प्रहरी प्रशासन भने निस्क्रिय झैं देखिएको छ । यसबीचमा भएका गम्भीर घटनामा ‘न चोर पक्रिएको छ, न बम पड्काउनेलाई ।’ यसकारण पनि सर्वसाधारणले असुरक्षित महशुस गर्न थालेका हुन् ।

टिप्पणीहरू