चीन बनाउने त उखान पो हुन् कि जस्तो !

चीन बनाउने त उखान पो हुन् कि जस्तो !

उखान फगत् रमाइलोका लागि खेलिने शाब्दिक खेल होइनन् । उखान त समाजले युगौँ लगाएर बनाएका विशाल नजिर हुन् । उखान सामाजिक चेतनाले लामो समयसम्म सोचिविचारी उत्पादन गरेका मानक मन्त्र हुन् । 

उखानमा शब्द मात्रै हुँदैनन् । सेन्टिमेन्ट पनि हुन्छन् । वाक्य मात्रै हुँदैनन् । वास्तविकता पनि हुन्छन् । तर, यिनै उखानको निर्माण कसरी भएको छ ? उखानको खास मर्म के छ ? सकारात्मक छ कि नकारात्मक छ ? प्रेरणा दिने छ कि कुण्ठा पोख्ने वा आलोचनामा रम्ने मात्रै छ ? उखानमा सामाजिक शिक्षा छ कि विभेदको पक्षपोषण ? यी सबै कुरा उखान हेरेर मात्रै भन्न सकिन्छ । तर, समग्रमा उखानले कुनै पनि सामाजिक चेतको विकास, प्रयोगदेखि प्रवद्र्धनमा धेरै काम गरेको हुन सक्छ । 

विकास कथा मात्रै हेर्दै आएको मलाई चीन पुगेर चिनियाँ उखान अध्ययनको मौका मिल्यो । फुजिआन प्रान्तको राजधानी फुचौको प्राचीन एक शहर ‘एशियन टाउन’ मा एक आकर्षक क्याफे भेटियो । त्यहाँ पुस्तकालय थियो । पुस्तकालमा एक सानो चिटिक्क परेको पुस्तिका भेटियो चिनियाँ भाषामा । अंग्रेजी जान्ने एक आगन्तुकले भने कि त्यो त उखानको एक संक्षिप्त पुस्तिका हो ।

राजतन्त्रदेखि जनवादी गणतन्त्रसम्म विश्वलाई अचम्म मान्ने विकासे परियोजना गर्ने चिनियाँ डिएनए नै प्रशंसायोग्य छ ।

हु नाम बनाउने तिनै चिनियाँ युवाको अनुवाद सहयोग लिएर एक एक उखान हेरेँ । यत्ति रमाइलो लाग्यो कि फुचौको होलिडे एक्सप्रेस होटलमा पुगेपछि अंग्रेजी भाषामा चिनियाँ उखानहरू खोजें । खोज्दा एशियन सिटी क्याफेको पुस्तकालयमा भनिएका धेरै उखान दोहोरिएका थिए । केही उखान टिपेर पनि राखें । केही उखानको उदाहरण हेरौँ :- 

– हजारौँ माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ । 

– माछा दिने होइन । माछा मार्न सिकाउने हो । 
– प्रगति हुँदै नहुनुभन्दा धिमा गतिमा हुनु राम्रो हो । 
– कुद्नुअगाडि हिँड्न सिक । 
– तिर्खाउनु अगाडि कुवा खन । 
– शिक्षकले दैलोसम्म लाने हो । बाँकी आफैँले गर्ने हो । 
– हावा चल्दा कसैले पर्खाल उभ्याउँछन् । कसैले वायुपंखा । 
– एक कमिलोले पनि पुरा बाँध भत्काउन सक्छ । 
– विद्वानसँगको एक संवाद महिनौँ पढ्ने पुस्तकहरू भन्दा प्रभावकारी हुन्छ । 
– दुनियाँ बदल्न अगाडि आफ्नो घरआँगन तीनचोटि हेर । 
– अभ्यासमा जति धेरै पसिना चुहायो युद्धमा त्यति कम रगत चुइन्छ । 
– तीन दिन पढ्न छोडेर गफिँदा कुरामा मिठास आउन छोड्छ । 
– पुस्तकमा एक घर सुन हुन्छ । 
– बन्द दिमाग बन्द किताबजस्तै हो । 
– अँध्यारोलाई सराप्नुभन्दा मैनबत्ती बाल्नु राम्रो । 
– रुस रोप्ने उत्कृष्ट समय २० वर्ष अगाडि थियो । दोस्रो आज अहिले छ । 
– पृथ्वीलाई ठग्नेलाई पृथ्वीले ठग्छ । 
– टाढाको पानीले नजिकको आगो निभाउन्न । 
– धैर्यता तीतो हुन्छ तर यसको फल मीठो हुन्छ । 

यी चिनियाँ उखानमै चिनियाँ समाजको वास्तविकता देखिन्छ । चिनियाँ कूटनीतिको अन्तर्य भेटिन्छ । उदाहरणको लागि चीन विश्व मञ्चमा धेरै लामो समय लो प्रोफाइलमा बस्यो । बेइजिङ ओलम्पिक सन २००८ मा भयो । दुई वर्षमै चीन जापानलाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्यो । चीन दोस्रो ठूलो अर्थतन्त्र बन्यो । जिडिपीको कोणमा चीन अमेरिकाभन्दा पछि भए पनि पर्चेजिङ पावर प्यारिटी (पिपिपि) मोडेलमा चीन सन २०१४ मै विश्वको एक नम्बरको अर्थतन्त्र बन्यो । त्यसपछि मात्रै चीनले विश्व मञ्चमा क्रमशः मुखर हुने नीति लिएको देखिन्छ । चीनको खुल्ला बजार अर्थतन्त्र नीतिका आर्किटेक्ट् तङ स्याओपिङको त दर्शन नै थियो– हाइड योर स्ट्रेन्थ, बाइट योर टाइम । अर्थात् आफ्नो शक्ति लुकाऊ, समय गुजार । तङको यो दर्शन तीन चिनियाँ उखानसँग जोड्न सकिन्छ ।

सि चिनफिङ आएपछिको चीन बलियो छ । उसले कुद्न मात्रै होइन हिँड्न सिकिसक्यो । चीनले आफ्नो चरम गरिबी अन्त्य गरेर मात्रै अब विश्वमा गरिबी निवारणको कथा सुनाउन थालेको छ । उसले अमेरिकी तथा युरोपेली शक्तिसँग रणनीतिक दुश्मनी साँधेर प्रतिस्पर्धामा भएको अहिले पनि दाबी गरिरहेको छैन । अमेरिका र युरोपेली शक्तिले आफैँ चीनलाई रणनीतिक समस्या भनेर चित्रित गर्न थालेका छन् । दुश्मनीको सार्वजनिक घोषणा उनीहरूले नै गरेका छन् । डोनाल्ड ट्रम्पदेखि बाइडेन प्रशासनका चीनलाई घेर्ने नीतिदेखि पछिल्लो समयमा जि–७ देशले गरेको चीन केन्द्रित आलोचना र सार्वजनिक वक्तव्य त्यसका पछिल्ला उदाहरण हुन् । चीनले आफ्नो सामथ्र्य भएको कुरा त्यत्ति धेरै देखाउने गरेको छैन जत्ति पश्चिमा देशले देखाउँदै आएका छन् ।

अहिले अमेरिकासँग भएको समस्यामै पनि हेरौँ न, चीनले धेरै भेटघाट नगरे पनि अमेरिकी खर्बपतिहरू बिल गेट्सदेखि एलन मस्कसँग भेटघाट गरेको छ । अमेरिकासँग राज्यस्तरमा समस्या आए पनि जनस्तरको सम्बन्धमा चीन अग्रसर भएको देखिन्छ । चिनियाँ राष्ट्रपति सिले मस्कदेखि गेट्सलाई भेटेर त्यसको उदाहरण देखाइसकेका छन् । एउटा समस्या आएमा त्यसको समाधानमा अनावश्यक ऊर्जा खर्च नगरेर सदुपयोग गर्नमा चिनियाँहरूको उखानै पर्याप्त छ । जस्तै एउटा उखानले भन्छः- 

हावा चल्दा कसैले पर्खाल उभ्याउँछन् । कसैले वायुपंखा । अहिले अमेरिकासँग समस्याको आँधीमा चीनले पर्खाल उभ्याएको छैन । वायुपंखा बनाएको छ । वायुपंखाले राम्रो बिजुली उत्पादन गरिरहेको छ । 

केही दशक अगाडिसम्म चीनको प्रदूषण कुख्यात थियो । बेइजिङमा विमान अवतरण गर्नलाई धुँवाहरूले असर गरेका समाचार आउँथे । केही दशक अगाडिसम्म चीन विकसित देशले गरेको जलवायु गुनासोमा आफ्नो धेरै असर नभएको भन्दै आउँथ्यो । अहिले चीन नवीकरणीय ऊर्जामा नेतृत्वदायी भएको छ । विश्वको सबैभन्दा धेरै विद्युतीय सवारीमा लगानी चीनले गरेको छ । जलवायुमैत्री प्रविधिमा नेतृत्वदायी भएर आएको छ । हाइस्पिड रेलवेदेखि निजी सवारी नवीकरणीय ऊर्जा उत्पादनमा अब्बल देखिएको छ । केही दशक अगाडिसम्म जलवायु परिवर्तनमा केही नगरेको र वातावरणीय समस्याले गाँजिएको चीन अहिले समस्या समाधानमा अधिकतम सफलता पाउने मात्रै होइन अरु देशलाई देखिने उदाहरण पनि भएको छ । यसो हुनुमा पनि चिनियाँ उखानकै मनोविज्ञानले काम गरेको हुनुपर्छ । जस्तै एउटा उखान छ :-

– अँध्यारोलाई सराप्नुभन्दा मैनबत्ती बाल्नु राम्रो । 

बेला–बेला यस्तो लाग्छ कुटो कोदालो मात्रै हुने राजतन्त्र युगमा दुई हजार वर्षअगाडि ग्रेट वाल बनाएर विश्वलाई चकित बनाउने चीन अहिले जनवादी गणतन्त्र युगमा आर्टिफिसियल इन्जेलिजेन्सदेखि अत्याधुनिक प्रविधि प्रयोग गरेर थ्रि गोर्जेज ड्यामदेखि फाइभजीका परियोजना ल्याएर विश्वलाई चकित बनाउन सक्रिय छ । राजतन्त्रदेखि जनवादी गणतन्त्रसम्म विश्वलाई अचम्म मान्ने विकासे परियोजना गर्ने चिनियाँ डिएनए नै प्रशंसायोग्य छ । त्यो डिएनए बनाउनमा चिनियाँ उखान पनि उत्तिकै महत्वपूर्ण होलान् । हामीलाई हाम्रो देश हामीले सोचेजस्तो नहुने लाग्नुमा कतै युगौँबाट बनाउँदै आएका उखान त जिम्मेवार छैनन् ? 
 

टिप्पणीहरू