आफ्नाको विश्वास गर्दा ठगिने डर

आफ्नाको विश्वास गर्दा ठगिने डर

देशभर ठगी ह्वात्तै बढेको छ । अनलाइन ठगी, बैंकिङ ठगी, वैदेशिक रोजगारीमा ठगी, हरेक क्षेत्रमा ठगी छ । ठगीले यति भयावह रूप लियो कि आफ्नैमाथि पनि विश्वास गर्न नसकिने । आफ्नै भतिजमाथि विश्वास गर्दा आनन्द राजभण्डारी र उनको परिवार नराम्ररी ठगिए । कुरा झण्डै आठ वर्षअघिको हो, बाग्लुङ घर भई काठमाडौं बस्दै आएका आनन्दका छोरा आकाश, नाताको भतिज अशोककुमार राजभण्डारी, केशवमान श्रेष्ठ र राजेश श्रेष्ठले ‘पार्टनरसिप’ मा कम्प्लेक्स सञ्चालन गरेका थिए ।

भवन निर्माण गरेर व्यावसायिक कार्यमा लगाउने उद्देश्यसहित चार जनाले काठमाडौं महानगरपालिका वडा नम्बर २७, महाबौद्धमा आकार कम्प्लेक्स प्रालि दर्ता गरे । शुरुमा आकाश र अशोक मात्र मिलेर कम्प्लेक्स खोल्ने सहमति थियो । तर, अशोकले काम गर्न सहज हुने भन्दै सिन्धुपाल्चोकका केशवमान र भक्तपुरका राजेशलाई पनि ‘पार्टनर’ बनाए । 

आकाशको लगानीमा काठमाडौं वडा नम्बर ३० स्थित कित्ता नम्बर ३०४८, ३०४७ र २९८८ का जग्गाहरू खरिद गरी चारै जनाको नाममा दर्ता श्रेस्ता कायम गरियो । हाल कित्ता नम्बर ३०४८, ३०४७ को जग्गा कम्पनीको नाममा र २९८८ को जग्गा चारै जनाको नाममा छ । 

उक्त जग्गा धितो राखेर प्रभु बैंकबाट कर्जा लिई र शेयर लगानी गरी भवन खडा गरियो । यस क्रममा उनीहरूले आवश्यक रकम शेयरमा रूपान्तरण गरौंला भनेपछि आकाशले भुक्तानी गरिदिए । पछि भवनमा गरिएको लगानी शेयरमा समायोजन गर्नभन्दा उनीहरूले नमानेको आकाशको भनाइ छ । तैपनि, उनी चुप नै थिए । 

तर, सहमतिविपरीत आफ्नो मनोमानी चलाउन थालेपछि त्यहाँ किचलो शुरु भएको छ । कम्प्लेक्सबाट आकाशलाई ‘आउट’ गर्नका लागि राजेशले अशोककुमार र केशवमानलाई आफ्नो हातमा लिए । जसका कारण सञ्चालक समितिभित्रै झैझगडा हुन थाल्यो । तीन जनाले आफूखुशी सटर भाडामा लगाउने र भाडा उठाउने गर्न थाले । बैंकको किस्ता, कर्मचारीको तलब, करसमेत नतिरेपछि विवाद चर्कियो । 

विवाद यतिमै रोकिएन, उनीहरूले आकाशको नाममा भएको शेयरसमेत कसैलाई जानकारी नदिई घटाए । कम्प्लेक्सको ४२ प्रतिशत शेयर आकाशको र बाँकी ५८ प्रतिशत उनीहरूको नाममा थियो । उनीहरूले शेयर सञ्चालक र कम्पनी रजिष्ट्रारको कार्यालयलाई समेत कुनै सुइँको नदिई ४२ प्रतिशतबाट आठ प्रतिशत कायम गरिदिए । 

सात करोड १५ लाख ६५ हजार ९६९ रूपैयाँको प्रत्यक्ष नोक्सानी पु¥याएपछि आकाशले कानुनको ढोका ढक्ढकाउने निर्णय गरे । आकार कम्प्लेक्सलाई एकलौटी नियन्त्रणमा लिएर कार्यालयमा प्रवेश गर्न नदिएको र कानुनविपरीत आफ्नो शेयर घटाई व्यक्तिगत लाभ लिन खोजेको भन्दै उनले जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गरे । 

प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान अघि बढायो । जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर भयो । अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी ग¥यो । पक्राउ परेका प्रतिवादी केशवमानलाई उच्च अदालत, पाटनको आदेशपछि २०७९ भदौ २७ गते हाजिर जमानीमा छोडियो । राजेश र अशोककुमारले आफूहरूलाई बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दिएबमोजिम उच्चले ‘निषेधाज्ञा’ आदेश जारी ग¥यो र उनीहरूलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइयो । 

आकाशले आयव्यय हिनामिना गरेको थाहा पाएपछि उनलाई शेयरधनीको प्रस्तावबाट निश्कासित गरिएको केशवमानले गरेको बकपत्रमा उल्लेख छ । त्यस्तै, राजेश र अशोककुमारले पनि बयानमा सोही कुरा भनेका छन् । आकाशले कम्पनीमा लगानी गरेको शेयर पुँजीको रकम मास्ने र अन्य रकमसमेत बेइमानीपूर्वक आफ्नो मनोमानीले खर्च गर्ने गरेको उल्लेख गर्दै उनीहरूले आकाशको नाममा जारी भएको ४२ प्रतिशत शेयरलाई आठ प्रतिशतमा झारेर विश्वासघात नगरेको बताएका छन् । 

१७ करोड २४ लाख ३१ हजार रूपैयाँ कायम गरिएको चुक्ता पुँजी घटाएर २०७८ चैत १८ गतेको कम्प्लेक्सको सञ्चालक समितिको बैठकबाट आठ करोड ८० लाख ६० हजार ४०० कायम गरी शेयर लागत अभिलेखका लागि विद्युतीय माध्यमबाट कार्यालयमा पेश गरेको भनी कम्पनी रजिष्ट्रारको कार्यालयले २०७९ असोज २८ गते जिल्ला सरकारी वकिल कार्यालयलाई पत्र पठायो । 

कम्पनी ऐन, २०६३ को दफा ५७ र दफा ५८ को व्यवस्थाबमोजिम अदालतको अनुमतिबिना चुक्ता पुँजी घटाउन नमिल्ने हुँदा साधारण समितिको बैठकबाट पेश गरिएको शेयरलगायतका अभिलेखलाई मान्यता प्रदान नगरिएको रजिष्ट्रारको कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान, प्रतिवादीहरूको बयान, साक्षीहरूलाई मध्यनजर गर्दै सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा पुनः मुद्दा दायर गरेको छ । 

मुद्दा दायर भएपछि प्रतिवादीहरू फरार छन् । आकाशका बुवा आनन्दका अनुसार प्रतिवादीहरूले विगतका कुरा बिर्सिएर नयाँ ढङ्गबाट शुरुवात गर्ने भनी बारम्बार फोन गरिरहेका छन् । उनी भन्छन्, ‘पहिले पनि त्यस्तै गरे । मिल्ने भनेर धोका दिए । सबै आफन्त कहाँ गएर मैले ठगी गरेकोलगायतको कुरा लगाइदिएछन् । मेरो ईज्जतमा यिनीहरूले कहिल्यै नमेटिने गरी दाग लगाइदिएका छन् । अनि यस्तासँग कसरी मिल्ने ?’, उनले भने ।
 

टिप्पणीहरू