ताइवान अँगाल्न आतुर फुजिआन

ताइवान अँगाल्न आतुर फुजिआन

मे महिनाको दोस्रो हप्ता दक्षिण पूर्वी चीनको प्रान्त फुजिआनमा थिएँ । फुजिआन त्यो प्रान्त हो जहाँबाट चियाको अंग्रेजी नाम ‘टि’को जन्म भएको हो । चीनको मिन भाषाबाट ‘टि’ शब्द पश्चिमाहरूले सापटी लिएको उनीहरू नै बताउँछन् । चीनमा उत्पादन हुने चिया विश्व बजारको प्रस्थानविन्दु भएको इतिहासले तटीय फुजिआनको आफ्नै महत्व दर्शाउँछ । अहिलेका राष्ट्रपति सि चिनफिङ गभर्नर भएर सन् १९९९ देखि २००२ सम्म काम गरेको प्रान्त पनि हो फुजिआन ।

यो  प्रान्तको राजधानी फुचौबाट पिङतान टापु जाने तयारी हुँदै थियो । फुचौ पनि सिले पार्टी सचिव भएर सन १९९० देखि सन १९९६ सम्म काम गरेको शहर हो । त्यही शहरबाट करिब डेढ घण्टाको सवारी दूरीमा पुगिन्छ पिङतान टापु । हाम्रो यात्राको दौरान अंग्रेजी अनुवादकको सहयोगमा टापुबारे पर्यटक बसमा व्याख्या गर्दा गर्दा गाइडले भने, ‘आज हामी चीनको पाँचौँ ठूलो टापु पिङतान जाँदै छौँ । यो टापु पुग्न १६ किमि लामो रोड र रेल पुल पार गर्नुपर्नेछ । सन् २०१९ मा बनेको यो पुल विश्वको सबैभन्दा लामो रेल प्लस रोड पुल हो ।’

यत्ति भनेपछि उनले बसका पर्यटकहरूलाई प्रश्न गरे, ‘तपाईंलाई थाहा छ चीनको सबैभन्दा ठूलो टापु कुन हो?’ ‘एक चीन नीति’ लिएको देशको नागरिक परियो । फ्याट्टै उत्तर दिएँ– ‘ताइवान’ । अरु कुरा सोध्दा अंग्रेजी बोल्ने चिनियाँ दोभाषे प्रयोग गरेर मात्रै बुझ्ने उनले ताइवान भन्दा चाहिँ सोझै बुझे । बुझेर खुशी हुँदै ‘थम्प्स अप’ गरे । उनले थम्प्स अप गरेको ठाउँ पिङतान पुलमा थियो । त्यो पुल कटेपछि आउने टापुबाट ताइवानको दूरी औसतमा १२६ किमि पर मात्रै हो । चीनले रेल रोड पुल बनाउनु अगाडिसम्म यो टापु चीनको फुजिआनतर्फ भन्दा ताइवानतर्फ बढी केन्द्रित भएकोमा अहिले त्यसो नभएको गाइडले सुनाए । भन्दै थिए, ‘यो पिङतान टापुमा पुल बनाइए जस्तै कुनै दिन ताइवान पुग्ने पनि पुल बन्नेछ ।’ कोभिड अगाडिसम्म पिङतानबाट नियमित जल यातायात चले पनि अहिले बन्द भएको उनैले सुनाए ।

एकै संस्कृति, एकै भाषा र एकै सभ्यतादेखि एकै देश भएर पनि राजनीतिक कारणले अलग अलग भएका चीन र ताइवान विश्वका राेचक केस स्टडी हुन् । 

उसो त फुजिआनका ती युवा गाइड मात्रै होइन धेरैले ताइवान र चीनको चाँडो एकीकरणको पक्षमा कुरा गरे । फुचौ सहरमा मैले भेटेका अंग्रेजी बोल्ने चिनियाँ युवाहरूले ताइवान र चीनको एकीकरणमा भन्ने साझा कुरा एकै थिए– ‘ताइवान र फुजिआन भाषा संस्कृतिमा एकै हुन् । ताइवानका पुर्खाहरू फुजिआनबाट गएका हुन् । राजनीतिक व्यवस्था मात्रै फरक छन् । एक दिन एकीकरण हुन्छ । एकीकरण गर्दा सेना प्रयोग गर्नुहुन्न किनभने ताइवानका मान्छे पनि हाम्रा मान्छे हुन् ।’

नेपालबाट हेर्दा चीन बलियो छ र बलियो चीनका आत्मबल भएका चिनियाँहरूले ताइवानलाई पेलपाल पारेर पनि चीनसँग जोड्न चाहन्छन् भन्ने अनुमान थियो । फुजिआन पुगेपछि त्यो गलत सावित भयो । मैले कुरा गरेका सबै युवाले शान्तिपूर्ण एकीकरणको पक्षमा कुरा उठाए । 

पिङतान टापु लाने गाइड, फुचौ शहरका युवाहरूको बोलीमा मात्रै होइन, फुजिआनका धेरै भित्तामा ताइवान र फुजिआन मिल्तीका कुराहरू लेखिएका पाइए । जस्तै फुजिआन प्रान्तको ज्वालामुखी पत्थरमा बनेको ‘पिङलिउवेइ भूपार्क’ प्रवेशमा एउटा व्यानरमा चिनियाँ, अंग्रेजी र कोरियाली भाषामा लेखिएको थियो– ताइवान स्टेटको दुवै किनारमा रहेका चिनियाँ नागरिकको एक परिवार । यस्तै फुचौ विमानस्थलमा मे १८ देखि २२ सम्म हुने २५ औँ ताइवान र फुजिआनको साझा आर्थिक तथा व्यापार मेलाको विज्ञापन गरिएको थियो । 

हुनानको राजधानी छाङ्साबाट हामीसँगै यात्रामा आएका चिनियाँ प्राध्यापक वाङ चिआईलाई ताइवान बारेमा सोध्न मन लाग्यो । चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यसमेत रहेका र ताइवान मामिलाका जानकार उनलाई सोधँे, ‘चीनले ताइवानलाई मान्यता दिएको छैन । तर, चिनियाँ राष्ट्रपति सिले सन् २०१५ मा सिंगापुरमा तत्कालीन ताइवानका राष्ट्रपति मा यिङ जिउसँग भेटेका थिए । अहिलेकी राष्ट्रपतिसँग चैं किन त्यस्तो भेट भएको छैन ?’

यसमा प्राध्यापक वाङले जवाफ दिए, ‘मा यिङले चीनसँग एकीकरणको कुरा गरेका थिए । अहिलेकी राष्ट्रपति चाइ इङ वेन पृथकतावादी भएकाले भेट नभएको हो ।’सन् १९४९ अक्टोबर १ मा चेङकाइ सेकको सत्ता ढालेर चीनमा ‘जनवादी गणतन्त्र’ स्थापना हुनु अगाडिसम्म चीन एकै थियो । तर, माओले बेइजिङमा जनवादी गणतन्त्र चीन स्थापना गर्दा पूर्वशासक चेङकाइ सेक भागेर ताइवान टापुमा पुगे । त्यहाँ बसेर नै आफू चीनको असली शासक भएको दाबी गरे । अमेरिका प्रयोजित दाबी सन् १९७१ को अक्टोबरसम्म रह्यो । सन् १९७१ को अक्टोबर २५ मा गणतन्त्र चीनको नाममा संयुक्त राष्ट्रसंघको स्थायी सदस्य भएको ताइवानलाई आउट ग¥यो संयुक्त राष्ट्रसंघले । प्रवेश पायो माओको जनवादी गणतन्त्र चीनले । संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताव २७५८ बाट उक्त निर्णय भएको थियो । प्रस्तावको पक्षमा ७१ मत आयो भने विपक्षमा ३५ र अनुपस्थित १७ थिए । 

चीनभन्दा डेढ दशकअगाडि नै संयुक्त राष्ट्रसंघ सदस्य भएको नेपालले जनवादी गणतन्त्र चीनलाई संयुक्त राष्ट्रसंघमा ल्याउन आग्रह गरेको थियो । सन १९६० मा बीपी कोइरालाले चीन बिनाको संयुक्त राष्ट्रसंघले विश्व संगठनको मर्म बोक्न नसक्ने तर्क गरेका थिए । 

दुई दशक सिंगो चीनको प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको स्थायी सदस्य भएको ताइवानलाई अहिले फरक देशको मान्यता दिने देशमा कुनै स्थायी सदस्य छैनन् । अमेरिकासँग निकट भए पनि उसले औपचारिक रूपमा देशको मान्यता दिएको छैन । अहिले विश्वका १३ मुलुक मात्रै ताइवान स्वतन्त्रतालाई मान्यता दिने सूचीमा छन् । पूरै युरोपमा भ्याटिकन सिटी मात्रैले मान्यता दिएको छ । अफ्रिकी देशमा इस्वातिनी देशको मात्रै मान्यता छ भने बाँकी ११ देश ल्याटिन अमेरिकी, क्यारेबियन र प्यासिफिक क्षेत्रका स–साना मुलुक हुन् । 

एकै संंस्कृति, एकै भाषा र एकै सभ्यतादेखि एकै देश भएर पनि राजनीतिक कारणले अलग अलग भएका चीन र ताइवान विश्वका रोचक केस स्टडी हुन् । अझ फुजिआन र ताइवान झन रोचक छन् । अहिले चीनको सबैभन्दा ठूलो टापु ताइवानभन्दा जसरी फुजिआनका गाइड खुशी भए, ठीक त्यसैगरी ताइवानका सबै जना खुशी हुने दिन कहिले आउला ? यी र यस्तै कुरा सम्झेर म पिङतान टापुमा बसिरहँदा कविता जस्तो केही चिज आयो । जुन यस्तो थियोः 

ताइवान फर्किएर पिङतान टापुमा 
आकाशले खर्लप्पै आफ्नो रङ पोतेर हो कि
फुजिआन ताइवान अलग्गिँदा बनेको 
गहिरो निलडाम पोखिएर हो कि
अथवा 
सागरको दुवै किनारका मिहिनेती चिनियाँ हत्केलाहरूका 
नीला ठेला चुहिएर हो
पूर्वी चीन सागर नीलो छ
अत्यन्तै नीलो छ

भूपरिवेष्ठित नेपालबाट पिङतान टापुमा आएर
म सागरलाई हेरिरहेको छु
टापुलाई बेरेर युगौंबाट बसिरहेको सागरले
मलाई हेरिरहेको छ

एक हुल चरा 
ताइवानको आकाश हुँदै फुजिआन आउँछन् ।
एक हुल चरा 
फुजिआनको आकाश हुँदै ताइवान जान्छन्

समुद्र काखमा साउती मार्दै 
वायु पंखाहरूले सोध्छन्
ए फुजिआन, ए ताइवान
यी चराहरू अलग भएर पनि सँगै छन्
तिमीहरू, सँगै भएर पनि किन अलग छौं ?

 

टिप्पणीहरू