७० पाउनेलाई रोक्ने, ६७ लाई बोक्ने

७० पाउनेलाई रोक्ने, ६७ लाई बोक्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार, भारतले भैरहवा विमानस्थलका निम्ति दिने भनिएको हवाई रुटको सहमति कार्यान्वयनको दिशामा हल्का हल्का अगाडि बढेको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ‘हल्ला नगर’ भन्दै भैरहवा र विराटनगर विमानस्थलमा आइएफआर प्रविधि जडान गर्ने काम भएको आफ्ना स्टाफहरूलाई बताएका छन् । यो भनेको कम भिजिबिलिटी भए पनि उडान तथा अवतरण हुन सक्ने विधि हो । यस विषयमा भारतसँग कुरा भएको छ । त्यसको तरंग भारतसम्म पनि पुग्छ भनेर यो प्रविधि जडान रोकिएको थियो । यो कुराबारे भारतलाई पनि बुझाउने काम भएको छ ।

प्राविधिक टोलीले यस विषयमा अध्ययन गरेर परराष्ट्रमार्फत भारतलाई प्रस्ताव पठाइसकेको छ । उक्त सम्झौता कार्यान्वयनका लागि नागरिक उड्डयन मन्त्रालयले एपी बुक प्रकाशित गर्न बिहीवार परराष्ट्र मन्त्रालयमा लेखेर पठाएको हो । लोअल्टिच्युट दिने भनिएकोमा नेपालले हाइअल्टिच्युट माग गर्दै अर्को पत्र पठाइसकेको छ । लोअल्टिच्युटमा उडान गर्दा नेपालगञ्जबाट दिल्ली, देहरादुन, बनारस उडान हुन सक्छ । अहिलेलाई १५ हजार फिटबाट उडान गर्न दिनेसम्मको सल्लाह भएको छ । यस विषयमा एयरवेज कम्पनीहरूबीच मौखिक छलफल भइरहेको बताइन्छ । 

अर्कातिर, युरोपेली युनियनले नेपालमाथि लगाएको कालोसूची अझै खोलेको छैन । जबकि, उड्डयन सुरक्षासम्बन्धी अध्ययनमा नेपालभन्दा कम नम्बर भारतले पाएको छ । भारतको ६७ र नेपालको ७० नम्बर छ । भूराजनीतिक कारणले यस्तो भएको नेपालका उड्डयन व्यवसायीहरू बताउँछन् । इयुले नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने शर्त राखेको छ ।

त्यसका लागि नेपालको तर्फबाट केही कानुनी प्रक्रिया मात्रै बाँकी छ । नियुक्ति प्रक्रियालगायत विषय टुंगिइसकेका छैनन् । भारतमा विमानस्थलहरू निजी कम्पनीलाई ठेक्कामा दिने गरिन्छ । त्यहाँ सरकार आफैले विमानस्थल सञ्चालन गर्दैन । इयुले नेपालको हकमा हवाइसेवासम्बन्धी छुट्टै र ‘रेगुलेशन सेफ्टी’ सम्बन्धी छुट्टै काम गर भनेको छ ।त्यस्तै, धार्मिक पर्यटन बृद्धिका निम्ति रामायण सर्किटसहित जनकपुरमा गोपाल धर्मशाला एक अर्ब भारु बराबरको लगानीमा बन्ने पुरानै सहमति छ । 

टिप्पणीहरू