एमाले, कांग्रेसभन्दा कारवाहीमा अरु नै अगाडि

एमाले, कांग्रेसभन्दा कारवाहीमा अरु नै अगाडि

कांग्रेस, एमाले, माओवादीसहित प्रमुख राजनीतिक दलहरुले चुनावमा अन्तर्घाती पहिचान हुँदाहुँदै छानबिन समिति बनाएर पनि कोही, कसैलाई कारवाही गरेनन्, तर उपेन्द्र यादव नेतृत्वको जसपामा अहिले अन्तर्घातीहरुको पहिचान र कारवाहीको थालनी भएको छ ।

कोशी प्रदेशका पाँचथर, सुनसरी र मोरङबाट केन्द्रीय तहका नेतालाई अनुशासनको कोर्रा लगाइएको छ । पाँचथरकी केन्द्रीय सदस्य फूलकुमारी लिम्बूले नसिहत पाएकी छन् । आमनिर्वाचनमा  उम्मेदवार भएका एविराज आङ्देम्बेमाथि मुकुम नेम्वाङसँग मिलेर अन्तर्घात गरेको आरोप उनीमाथि छ । झापामा देउकुमार नेम्वाङ, मोरङमा जयराम यादवलगायतले अन्तर्घात गरेको अर्काे रिपोर्ट छ ।

सुनसरीमा सविता यादव, रविन राई, पर्शुराम बस्नेतमाथि चुनावमा खटेनन् भन्ने आरोप छ । मधेस प्रदेशका पर्सा, बारा र महोत्तरीबाहेक सबै जिल्लामा अन्तर्घात भएकोमा कारवाही शुरु गरिएको छ । उनीहरुलाई नसिहत दिने वा सचेत गराउने कुरा छ । रुपन्देही, नवलपरासी, कपिलवस्तु , बर्दिया, बाँकेमा पनि अन्तर्घातीको संख्या उत्तिकै छ ।

धादिङमा अन्तर्घात भएको पाइएको छ भने मकवानपुरबाट कारवाहीका निम्ति विद्युत बज्राचार्यको नाम आएको छ । अन्तर्घातीको छानबिननिम्ति शिवलाल थापा मगरसहितको पाँच सदस्यीय टोली बनेको थियो । उक्त टोलीले शनिबार रिपोर्ट पेश गरेबमोजिम कारवाही शुरु भएको हो । 

त्यस्तै, मधेस प्रदेशको सरकार अझै पनि जसपाले चलाउने अडान कायमै छ । अर्थात्, अहिल्यै भागबण्डामा कसैलाई सरकार छोडिने छैन । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने भएको छ । त्यहाँको संख्यात्मक स्थितिअनुसार एमालेसँग पक्षमा एक मतको तलमाथि छ । त्यहाँ जसपाका एक सांसद जता गयो, त्यतै बहुमत पुग्छ । राप्रपालाई चोर्न सकिँदैन । ओली जता, राप्रपा उतै हुने भएकाले माओवादीनिकट सभामुखलाई निर्णायक मत दिन लगाउने तयारी छ  । 

टिप्पणीहरू