को हुन् नक्कली शरणार्थी प्रकरणका "एक","दुई" र "तीन" नम्बर भिआइपी ?

को हुन् नक्कली शरणार्थी प्रकरणका "एक","दुई" र "तीन" नम्बर भिआइपी  ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ-नयाँ रहस्योद्घाटन भैरहँदा बिचौलियाहरुले आन्तरिक संवादका क्रममा कोड भाषा प्रयोग गर्ने गरेको थाहा भएको छ । कुनै पनि बेला घटना बाहिरिनसक्ने खतरा देखेर उनीहरुले व्यक्तिको नाम उल्लेख नगरी सचेततापूर्वक सांकेतिकरुपमा कोड भाषा प्रयोग गरेको पाइएको हो । 

उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको संलग्नता रहेको यस प्रकरणमा जोडिएका ३२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस चलिरहेका बेला जनआस्थाले गोप्य स्रोतबाट फेला पारेको दुई बिचौलियाको टेलिफोन कुराकानीमा सो कुरा उल्लेख छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ असुल्ने धन्दामा लागेका बिचौलिया सानु भण्डारी र गिरोहले थमाएको फाइल सदर नगर्दा आफूलाई सरुवा गरिएको भन्दै मिडियाबाजी गर्ने तत्कालीन नायब सुब्बा सुरेन्द्रराज दाहालबीच भएको  संवादको अडियो रेकर्डमा 'एक नम्बर', 'दुई नम्बर' र 'तीन नम्बर' भनी यस प्रकरणमा संलग्न व्यक्तिहरुको वर्गीकरण गरिएको छ । 

३२ मीनेट लामो कुराकानीमा सानुले भनेका छन्, 'हामीवीच भएका एउटा पनि कुरा लिक हुनु भनेको तपाईं- हामी सक्किनु हो । केही तल माथि पर्यो भने एक नम्बर मान्छे जिम्मेवार हुन्छ,त्यसपछि दुई नम्बर अनि विभागीय प्रमुख जो छ ऊ जिम्मेवार हुन्छ तीन नम्बरमा ।' कुराकानीका क्रममा अशोक र पोखरेल थरका एक व्यक्तिको सन्दर्भ निस्किएपछि बिचौलिया सानुले ती दुई जनासँग कुरा नगर्न आग्रह गर्दै सुरेन्द्रलाई मोबाइल नम्बर ब्लक गर्न सुझउँछन् । र,गृहसचिव (टेकनारायण पाण्डे)सँग कुरा भैसकेकाले नआत्तिन भन्छन् ।

'हामीवीच भएका एउटा पनि कुरा लिक हुनु भनेको तपाईं- हामी सक्किनु हो । केही तल माथि पर्यो भने एक नम्बर मान्छे जिम्मेवार हुन्छ,त्यसपछि दुई नम्बर अनि विभागीय प्रमुख जो छ ऊ जिम्मेवार हुन्छ तीन नम्बरमा ।'  

एकजना पूर्वप्रधानमन्त्री, अर्का पूर्वप्रधानमन्त्रीकी श्रीमती र त्यतिबेलाका गृहमन्त्रीसमेत यस प्रकरणमा जोडिएको आशंका गर्नेहरुलाई बल पुग्नेगरी बिचौलियाहरुले तलदेखि माथिसम्म बलियो सेटिङ बनाएर काम गरेको यी दुईको कुराकानीले प्रष्ट हुन्छ ।

'अशोकको डिप रिलेसन पोखरेलसँग छ, सचिवसँग एभरेष्ट होटलमा डिनर भैसक्यो । हिजो नहुँदा उसले के गर्यो,त्यसलाई सेकेन्डरी पार्टमा राख्दिऊँ । तपाइँले के बुझ्नुपर्यो भने फोन ब्ल्याक लिष्टमा राख्नु,केही तलमाथि पर्यो भने सानु भण्डारी जिम्मेवार हुन्छ, तपाइँले प्रष्ट बुझ्नु होला । दुलाल जिम्मेवार हुन्छ, सचिव जिम्मेवार हुन्छ', दाहाललाई आश्वस्त पार्दै सानु भन्छन्, 'माथि १ नम्बर जिम्मेवार हुन्छ । त्यसपछि सेकेन्डको दुई नम्बर जिम्मेवार हुन्छ । तिनीहरुलाई अलिकति चटाएपछि कुरो सकिइहाल्छ । हामीले यो हिसाबले काम गर्ने हो ।'

यसअघि पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै सो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भेट्न बालुवाटार पुग्दा धेरैले अचम्म मानेका थिए । प्रधानमन्त्री भेटेर बाहिरिंदै गर्दा उहाँले 'राजनीतिक पूर्वाग्रह साँधेर आफ्ना नेता पक्राउ गर्न खोजेको' आशय व्यक्त गरेपछि यस प्रकरणमा अझै माथिल्लो तहका व्यक्तिको संलग्नताको आशंका भएकै हो । ओलीले 'उपप्रधानमन्त्री भैसकेको व्यक्ति भागेर कहीं नजाने' जिकिर गरेपनि टोपबहादुर लामो समय फरार हुनुले पनि शंका गर्नेहरुलाई बल मिलेकै थियो । 

रायमाझी र उनका छोरा सन्दिपविरुद्ध पक्राउ पुर्जी जारी हुनुअघि नै तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई पक्राउ परिसकेका थिए । त्यसको भोलिपल्ट नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परे । लगत्तै पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले अनुसन्धानमा लियो ।

त्यसपछि प्रमुख तीन पार्टीका शीर्ष नेताहरुको बालुवाटारमा दिनहुँजस्तो भेटघाट हुन थाल्यो । संसदको कामकारवाहीबारे छलफल गर्न भनिए पनि शीर्ष नेताहरुको तारन्तारको भेटघाटलाई लिएर धेरैले प्रश्न उठाएका थिए । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिकरुपमै ती भेटघाटलाई लिएर असन्तुष्टी जनाएका थिए । 

त्यतिबेलै प्रहरी हिरासतमा रहेका बिचौलियाहरुले ठूला पार्टीका शीर्ष नेतादेखि उनीहरुको परिवारका सदस्यहरुको नाम पोलेको विषय बाहिर आउन थाल्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पीएलाई बालुवाटारमै लगेर एक करोड बुझाएको भनी केशव दुलालले प्रहरीमा बयान दिएको विषयले मिडिया छाएको थियो । त्यसको केही दिनअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाँण-पत्नी मन्जुलाई घरमै लगेर ६ करोड बुझाएको बिचौलियाहरुको संवादको अडियो सामाजिक सञ्जालमा ब्यापक थियो । 

तर, त्यसको स्वतन्त्र पुष्टि हुने तथ्य र प्रमाण फेला नपरेको भन्दै प्रहरीले उनीहरुमाथि अनुसन्धान गरेन । टोपबहादुर,बालकृष्ण खाँण,इन्द्रजित राई, टेकनारायण पाण्डे,सानु भण्डारी,केशव दुलालसहित ३२ जनाविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध,ठगी र किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । मुद्दा चलाइएका १६ जना भने फरार छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मुद्दाको सुनुवाई भैरहेको छ । 

मुद्दाको सुनुवाई अन्त्यतिर पुगिरहँदा गिरोहका सदस्यकै मुखबाट भिआइपीहरुको संरक्षणमा काम अघि बढाएको तथ्य खुलासा हुनुले थप आशंका जन्माएको छ । बिचौलियाले भनेको 'एक नम्बर' 'दुई नम्बर' र 'तीन नम्बर'का व्यक्तिहरु को-को होलान् ? यत्रो आशंका भैसकेपछि यसैलाई प्रमाण मानेर थप छानविन हुनुपर्ने हैन र ?

यो पनि...

1. सानु र सुरेन्द्रको सल्लाह,‘एकअर्काको विरोध गरेर अघि बढ्नुपर्छ’

2. बादलका सल्लाहकारले कसरी ताने बालुवाटारलाई ?

3. बादलका सल्लाहकारलाई दलालको दुई करोड (अडियोसहित)

टिप्पणीहरू