दरबार हत्याकाण्ड अनुसन्धानको जिम्मा आफूलाई दिन माग गर्दै युवराज सफल गृह मन्त्रालयमा

दरबार हत्याकाण्ड अनुसन्धानको जिम्मा आफूलाई दिन माग गर्दै युवराज सफल गृह मन्त्रालयमा

सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएपछि सामाजिक सञ्जालमा चर्चासँगै आलोचना खेपिरहेका सिन्धुलीका युवराज सफल अब दरबार हत्याकाण्डको छानबिन गराउन कस्सिएका छन् । 

आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर उनले तत्कालीन राजपरिवारको वंश विनाश भएको २१ वर्षअघिको उक्त हत्याकाण्डको निष्पक्ष छानबिन गरि दोषीलाई कानुनको कठाघरामा उभ्याउन माग गरेका हुन् । नेपाल समाजवादी मोर्चाका संयोजकसमेत रहेका युवराजले त्यस अवसरमा हत्याकाण्डको छानबिन शुरु गर्न गृहमन्त्रीलाई बकाइदा निवेदन पनि बुझाएको बताइएको छ । 

‘तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहसहितको हत्या भएको घटनाको सत्यतथ्य बाहिर नआउँदा नेपालको छवि अन्तर्राष्ट्रियरुपमा समेत धुमिल भएकोले यथाशक्य छिटो छानविन एवम् अनुसन्धान गर्न नेपाल समाजवादी मोर्चाको तर्फबाट ध्यानाकर्षण गराउन चाहन्छु’, उनको निवेदनमा भनिएको छ ।

युवराजले आफ्नो मोर्चा सम्बद्ध इन्टरनेशनल इन्टेलेजेन्श ब्यूरोलाई छानबिनको जिम्मा दिनसमेत माग गरेका छन् । सो अधिकार पाए ब्यूरोले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउन राज्यलाई सहयोग गर्ने उनको दाबी छ ।

टिप्पणीहरू