एमाले र रास्वपालाई डम्बर खतिवडाको प्रश्न : फोकटिया हल्ला गर्ने ?

एमाले र रास्वपालाई डम्बर खतिवडाको प्रश्न : फोकटिया हल्ला गर्ने ?

राजनीतिक विश्लेषक तथा वैकल्पिक राजनीतिका अभियन्ता डम्बर खतिवडाले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकबारे प्रमुख प्रतिपक्ष एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रम फैलाएको भन्दै दफा दफामा बहस गर्न चुनौती दिएका छन् । 

प्रमाणीकरण भएर ऐनका रुपमा विकसित भइसकेको विधेयकको पक्षमा उभिएका उनले अनावश्यक भ्रम फैलाएर नागरिकताजस्तो संवेदनशील सवालमा राजनीति नगर्न पनि ती दुई दललाई सुझाव दिएका छन् । नागरिकता विधेयकका अन्तरवस्तु र प्रक्रियाप्रति सत्तामा हुँदा र नहुँदा अलग धारणा बनाउने गरेको एमाले र आफूलाई नयाँ शक्ति दाबी गर्ने रास्वपाले संस्थागतरुपमै विरोध गरेपछि खतिवडा दफा दफामा एकएक बहस गर्न निम्तोसमेत दिए । 

उनले एमाले र रास्वपालाई साझा प्रश्न भन्दै चारवटा विषय उठाएका छन् । 

यस्तो छ उनले सोधेका चार प्रश्न :

१) जन्मसिद्वका सन्तानलाई सँधै अनागरिक नै राख्ने ? बुबाआमा नागरिक, सन्तान अनागरिक संसारमा कहिँ यस्तो हुन्छ ? 
२) आमाको नाममा नागरिकता नदिने हो, सँधै पितृसत्ता कायम राख्ने ? त्यही हो तपाईंहरुको सोच ?

३) गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बिनाको नागरिकता पनि नदिने के देशसँगको सम्बन्ध नै सँधैलाई टुटाईदिने ?
४) दोस्रोपटक संसदको बहुमतले पारित गरेपछि राष्ट्रपतिले संविधानको कुन धाराअनुसार रोक्न वा फिर्ता गर्न मिल्छ ? अनि हल्ला केको हो ? 

यी प्रश्नको जवाफ खोजेका राजनीतिक विश्लेषक खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकएक गरेर बहस गर्ने हो ? खुल्ला चुनौति छ । कि भोटका लागि सँधै सस्तो र फोकटिया हल्ला मात्रै गर्ने ?

संघीय संसद्को दुवै सदनले दुइचोटी पास गरेर प्रमाणीकरणका लागि पठाएको सो विधेयक अघिल्लो राष्ट्रपतिले दुवै पटक त्यसै थन्क्याइदिएपछि हिजो राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई प्रमाणीकरण गर्नुभएको थियो । सोही विषयलाई लिएर विभिन्न खाले टिका टिप्पणी भइरहेको छ । 

महन्थ ठाकुरहरुलाई खुशी बनाएर आफू नेतृत्वको सरकार टिकाउन तत्कालीन समयमा नागरिकता अध्यादेश ल्याएको एमालेलगायतका प्रतिपक्षी दलहरुले विधेयक प्रमाणीकरण गरेकोमा विरोध प्रकट गरिरहँदा सत्तापक्षले भने समर्थन गरेको छ । नागरिक तहबाट पनि  यसबारे मिश्रित धारणा सार्वजनिक भएको पाइन्छ ।

टिप्पणीहरू