मन्त्रीकाे पिएका निम्ति मर्न तयार

मन्त्रीकाे पिएका निम्ति मर्न तयार

‘कुमार’ प्रवृत्तिका कर्मचारीले प्रदेशदेखि स्थानीय तहसम्म खेदिनुपर्ने अनि ‘गणेश’ प्रवृत्तिका कर्मचारीलाई चाहिँ प्रधानमन्त्री, मन्त्रीको परिक्रमा लगाएर जागिर खान छूट हुने, धन पनि प्रशस्त कमाइने भएपछि पिए बस्न को नकुदोस् ! 

एउटै कर्मचारीले मन्त्री फेरिएपिच्छे सचिवालयमा बस्ने अवसर कसरी पाउँछ ? जस्तो : बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको निजी सचिव तथा कर्मचारी प्रशासन महाशाखाको हर्ताकर्तासहित दोहोरो जिम्मेवारीमा थिए, उपसचिव शोभाखर रेग्मी । गृहका सहसचिवलाई बरण्डामा राखेर रामेछापको सिडिओ खान गए । ६ महिनापछि नै अछाममा सहायक सिडिओ भए । बढुवा खानका लागि दुर्गम दरबन्दी राखेर अहिले काजमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको निजी सचिव तोकिएका छन् । यसरी दुर्गममा दरबन्दी राखेर सुगममा बस्ने गरी गंगाबहादुर क्षेत्रीले पनि लाइन मिलाएका छन् । गृहस्रोतका अनुसार दरबन्दी जाजरकोटमा भए पनि अहिले कास्कीको सहायक सिडिओ छन् । एउटै जिल्लामा तीन जना सहायक सिडिओ कास्कीले मात्रै पाएको छ । अनिल जोशी घर फर्किएपछि उक्त ठाउँ ओगट्ने दाउमा छन् । गृहकै उपसचिव लीला केसीको दरबन्दी पाँचथरमा छ तर काठमाडौंको विपद व्यवस्थापनमा छिन्, काजमा ।

यसरी सकेसम्म मन्त्री, सिंहदरबार, सुगममा घुमेर जागिर खाने अर्का कर्मचारी हुन्, नारायण मैनाली, शहरी विकासमन्त्री सीता गुरुङको निजी सचिव । झंक ढकालले यसअघि मन्त्रीको सचिवालयमा जागिर खाए । अहिले भाइ ज्ञाननाथलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीकोमा पठाएका छन् । जापानमा राजदूत रहेका दुवसु क्षेत्रीले भाइलाई उसैगरी परराष्ट्र मन्त्रीको सचिवालयमा खटाएका छन् । जनार्दन शर्माको गाउँले भएकै कारण अर्जुन भण्डारीले मन्त्रीहरूको सचिवालय छाडेर अन्यत्र जानुपरेको छैन । तीन पटकसम्म जनार्दनको सचिवालयमा रहेका उनी केही समयदेखि प्रचण्डको परिक्रमा लगाउने ठाउँमा छन् । जनार्दन गृहमन्त्री हुँदा रसुवाको प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य पाए । त्यहाँबाट लागुऔषध नियन्त्रण महाशाखामा केही समय बसेका उनी जनार्दन अर्थमन्त्री नियुक्त भएसँगै पिए मात्र भएनन्, टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण केन्द्रको हाकिम खाए । सहसचिवमा बढुवा हुनुअघि प्रधानमन्त्री प्रचण्डको सचिवालयमा थिए । उपसचिवबाट उक्लिए पनि प्रदेशतिर झर्न परेन । सीधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पोस्टिङ लिए । 

रामहरि शर्मा, वामदेव गौतमको निजी सचिव थिए, लालबाबु पण्डित सामान्य प्रशासनमन्त्री हुँदा उनको सचिवालयमा खटिए । अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको निजी सचिव छन् । चार लाख हाराहारी रकम बुझेर लियाजो अफिसरको रूपमा हिमाल आरोहणका लागि निस्किए पनि नाम्चेसमेत नपुगी आधा बाटोबाटै मोडलिङ गरी फर्किएका डा. डिजन भट्टराई पनि केही समय वामदेव गृहमन्त्री हुँदा सचिवालयमा थिए । त्यहीँँबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’देखि जनार्दन शर्मा हुँदै सुदन किरातीसम्मको सचिवालयमा घुमिरहेका छन् । 

पद्मा अर्याल भूमिसुधारमन्त्री हुँदा निजी सचिव बसेका कृष्ण सुवेदी खगराज अधिकारी १३ दिने गृहमन्त्री हुँदा त्यतै सरे । पार्टी फुटेपछि नेकपा एस समर्थक देखिएका उनी किसान श्रेष्ठदेखि शेरबहादुर कुँवरसम्मको सचिवालयमा बसे । अहिले कृषिमन्त्री बेदुराम भुसालको सचिवालयमा बस्न खोजेका थिए तर त्यो अवसर दीपक पौडेलले पाएका छन् । प्रशासनतर्फका मात्र होइन, मन्त्रीको निजी सचिवमा संसद् सेवाका कर्मचारीसमेतको रुचि अस्वाभाविक देखिने पूर्व प्रशासकहरू बताउँछन् । जस्तोः हृदयेश त्रिपाठी जतिखेर लेखा समितिमा थिए संसद सेवाका कर्मचारी विष्णु खड्का उनको सचिवालयमा रहे, त्रिपाठी स्वास्थ्यमन्त्री हुँदा उतै गए । अहिले ठूला करदाता कार्यालयका हाकिमको रूपमा कार्यरत रही एउटा वाणिज्य बैंकको अर्बांै राजश्व छलीमा उन्मुक्ति दिन मतियारको भूमिका खेलिरहेको आरोप खेपिरहेका राजेश्वर ज्ञवालीसमेत रघुवीर महासेठ जति पटक मन्त्री हुँदा पनि उनको सचिवालयमा थिए । 

सरुवामा नजाने कर्मचारी समात्न पुलिसको सहारा

मन्त्रीले हाकिम लगाएर हकार्दा हुने कर्मचारीलाई पुलिस लगाएर ‘उठाए ।’ देख्नेले खुन डाँका नै ग¥यो कि भन्ठाने तर कसुर थियो जम्माजम्मी खटाएको ठाउँमा नगएको ! गत चैत २३ गते सामान्यले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव महेश पाण्डे (कर्मचारी संकेत नम्बर १९२७१०) लाई महागढीमाई नगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटायो । उनी खटाएको ठाउँमा गएनन् बरु उल्टै लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री लीला गिरी, प्रमुख सचिव राजेन्द्र थापा र कर्मचारी प्रशासनका हाकिम प्रेमबहादुर गौतमलाई मिलाएर यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रूपन्देही पुगे । संघीय मन्त्रालयले सरुवा गरेको तीन दिनपछि अर्थात् चैत्र २८ मा प्रदेश मन्त्रालयले उनीसहित श्रीराम पाण्डे र कम्प्युटर अपरेटर विकास नेपालीलाई लाइसेन्स बाँड्ने काममा खटाएको थियो । मुख्यमन्त्री कार्यालयबाट प्रेम गौतम लीला गिरी बाहिरिएसँगै कपिलवस्तु घरेलु कार्यालयमा सरुवा मिलाएर गएका छन्, वैशाख १७ गते उपसचिव पाण्डे भने खटाएको ठाउँमा नगएपछि सामान्यले २४ घण्टे स्पष्टीकरण सोध्यो तर कुनै जवाफ दिएनन् । महिनौँसम्म मन्त्रालयको पत्रलाई बेवास्ता गर्दै प्रदेशतिर बसिरहेका उनीसँग संघीय मन्त्री अमनलाल मोदी आगो भए र समाएर ल्याउन गृहलाई गुहारे । सामान्यले वैशाख अन्तिम साता गृहलाई पत्राचार गरेलगत्तै प्रहरी प्रधान कार्यालय नक्साल तातेपछि अस्ति सोमबार संघीय मामिलामा टुप्लुक्क प्रकट भएका छन् । सरुवा भएका कर्मचारीलाई रमाना लिनसमेत प्रहरी लगाउनुपर्ने भएबाटै थाहा हुन्छ हाम्रो कर्मचारीतन्त्र कति थेत्तरो भैसेकेछ । 

मन्त्रीको नाम पुच्छरमा पर्दा झण्डै मारमुंग्री

आफ्नै कार्यसमितिको सदस्य राजश्व हिनामिनाजस्तो गम्भीर कसुरमा मुछिएका छन्, तिनलाई विभागीय कारबाही गर्ने कुनै चिन्ता छैन । पीर छ त मन्त्रीको नाम पुच्छरतिर परेकोमा !  यस्तो दुःखमा छन्, कांग्रेसनिकट कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल र उपाध्यक्ष उत्तम कटवाल । जसरी नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नबाट पार्टीले खुट्टा कमाइरहेको छ, उसैगरी ४ करोडभन्दा बढी राजश्व छलीमा मुछिएर भन्सार विभागको कारवाहीमा परेका कर्मचारीउपर कारबाही गर्न सकिरहेका छैनन्, निजामती कर्मचारी युनियनका नेताहरूले । रसुवा भन्सारमा कार्यरत उपमहासचिव इन्दु शर्मा व्यापारीसँग मिलेमतोमा सस्तो सामान ल्याएको देखाएर करोडौं राजस्व हिनामिना काण्डमा परेकोबारे बैठकमा केही एजेण्डा बनेन बरु पूर्णबहादुर खड्काको नाम तल पारिएको विषयबारे चाहिँ गज्जबकै मसला बनेको पाइएको छ । संघीय निजामती सेवा ऐन ल्याउन मन्त्रीदेखि मुख्यसचिवसम्मलाई दबाबस्वरूप म्यासेज गर्ने कार्यक्रममा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नाम अरुको भन्दा तल पारिएपछि एकथरी कर्मचारीले मिटिङ डाकेर झण्डै मारमुंग्री गरेका छन् । 
 

टिप्पणीहरू