रवि लामिछानेले अरुको आङको जुम्रा देखे

रवि लामिछानेले अरुको आङको जुम्रा देखे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको बेइज्जत भएको बताएका छन् । उनले यसका लागि सुक्ष्म छानबिननिम्ति संसदीय समिति गठनको माग गरेका छन् ।

उक्त प्रकरणमा जोडिएका अन्य भिआइपीलाई सोधपुछसमेत नगरिएकोमा लामिछानेले गम्भीर आशंका जनाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर उनले उक्त धारणा राखेका हुन् ।

गृहमन्त्री डराएर प्रकरणमा नाम जोडिएकासँग सोधपुछ नगरेको उनको भनाइ छ । गृहमन्त्री र प्रधानमन्त्रीले कारवाहीको निम्ति मुटु दरो छ भने पनि त्यो खालको मुटु नदेखिएको उनको टिप्पणी छ । ‘उहाँहरुको मुटु कहाँ गएर चेक गर्ने ?’ लामिछानेले भनेका छन्, ‘यस कारण नाम आएका हरेकसँग सोधपुछ हुनुपर्यो । खुट्टा कमाउन भएन ।’ प्रकरणसँग सम्बन्धित अडियोमा बोलेकाहरुसँग सोधपुछ नगरिएकोमा पनि उनले रोष प्रकट गरेका छन् । 

लामिछाने आफैँले माओवादी द्वन्द्वका कारण मुलुकमा असुरक्षा बढेको भन्दै अमेरिका पुगेपछि शरणार्थीको हैसियतनिम्ति आवेदन दिएका थिए । केही वर्षपछि उनी सोही हैसियतबाट अमेरिकी नागरिक बने । दोहोरो नागरिकता र दोहोरो राहदानी बोकेका उनी निर्वाचनमार्फत् सांसद बनेका छन् । गत पुसमा झण्डै डेढ महिना गृहमन्त्रीसमेत बने । 

उनको दोहोरो नागरिकतालाई सर्वोच्चले अवैध ठहर गरेपछि उनी मन्त्री,सांसद,पार्टी सभापति सबै जिम्मेवारीबाट च्युत भए । गत बैशाख १० गते उपनिर्वाचनबाट पुनः सांसद बनेका छन् । उनीविरुद्धको दोहोरो राहदानीको विषय पुनः सर्वोच्च अदालत पुगेको छ ।

टिप्पणीहरू