रविन्द्र मिश्रले भने : भारतको पैसा खा’छैन

रविन्द्र मिश्रले भने : भारतको पैसा खा’छैन

वैकल्पिक राजनीतिको ‘मार्ग परिवर्तन’ गरि हाल पूर्वपञ्चहरुको दल राप्रपामा रहेका पूर्वबीबीसीका पत्रकार रविन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयले हालै प्रकाशित गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ मा उल्लेख राप्रपासँग सम्बन्धित प्रसङ्ग सत्य नभएको जिकिर गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलियो आधार नदेखाई अमेरिकी मन्त्रालयले सुनेकै भरमा नेपालबारे प्रतिवेदनमा लेखेको दाबीसमेत गरे । उक्त प्रतिवेदनमा भारतको सत्तारुढ दल भाजपासँग नजिक रहेका धार्मिक समूहले नेपालका प्रभावशाली हिन्दुवादी नेताहरुलाई हिन्दु धर्मको पक्षमा बोल्न पैसा दिने गरेको जनाइएको छ । 

मिश्रले उक्त कुराको खण्डन गर्दै फेसबुकमा लेखेका छन्, ‘प्रतिवेदनले ती आरोपहरु पुष्टी हुने प्रमाण दिएको छैन, नागरिक समाजको भनाई आधारहीन कथनहरु समेटेको छ ।’

साथै, आफ्नो पार्टीले विश्वभरका देश तथा सम्बन्धित दल र समूहसँग मित्रवत् सम्बन्ध राख्न चाहेको उल्लेख गर्दै उनले कुनै पनि प्रकारको विदेशी दबाब भने स्वीकार नगर्ने बताएका छन् । 
‘राप्रपा कुनै पनि प्रकारको विदेशी दबाब स्वीकार गर्दैन । राप्रपा धार्मिक स्वतन्त्रता र सहिष्णुतामा पूर्ण विश्वास गर्दछ,’ मिश्रले भनेका छन्, ‘२०६३ सालमा धर्मनिरपेक्ष घोषणा गरिनु अगाडि नेपालमा उदाहरणीय धार्मिक सहिष्णुता कायम थियो । तर, आन्तरिक र वाह्य स्वार्थ समूहको खेलका कारण नेपाललाई रातारात षड्यन्त्रमूलक ढंगबाट धर्मनिरपेक्ष घोषणा गरियो ।’

मिश्रले व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्ने जिम्मेवार राजनीतिक दलका रुपमा राप्रपाले कुनै अमुक धर्म तथा व्यक्तिविरुद्ध घृणा फैलाउने कार्य नगर्ने पनि बताएका छन् । मिश्रले त्यसो भने पनि संस्थागत रुपमा राप्रपा हिन्दुराष्ट्र र राजतन्त्रको पक्षधर राजनीतिक शक्ति हो ।
 

टिप्पणीहरू