बजेट ल्याउने बेला मन्त्री गायब

बजेट ल्याउने बेला मन्त्री गायब

यतिखेर बागमती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेले गरिरहेका छन् ।

११ मन्त्रालयमध्ये ६ जना मात्रै मन्त्री छन् । बाँकी मन्त्रालय जमकट्टेल आफैँले सम्हालेका छन् । चुनाव ताकाको सत्ता गठबन्धन ब्युँतिएपछि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा संयुक्त सरकार बनेको २ महिना पुग्न लाग्दासमेत मन्त्रालय भरिभराउ छैनन् ।

माओवादी र कांग्रेसबीच मन्त्रालय बाँडफाँटको विषय नमिलेकाले सरकार बिस्तार हुन नसकेको हो । स्रोतका अनुसार सरकारमा एकीकृत समाजवादीलाई पनि ल्याउनुपर्ने मुख्यमन्त्री जमकट्टेलको अडान छ भने कांग्रेसले सहमति गरेभन्दा बढी मन्त्रालय माग गरेकाले भाग पु¥याउन सकिएको छैन । 

११ मध्ये कांग्रेसले ५ मन्त्रालय माग गरेको बताइन्छ । तीमध्ये संसदीय दलका नेता बहादुर सिंह तामाङ आफैँले आर्थिक तथा योजना मन्त्रालयमा सपथ लिइसकेका छन् भने खानेपानी तथा सिञ्चाई मन्त्रालयमा तीर्थ लामालाई नियुक्त गरिएको छ । अझै ४ वटा मन्त्रालय कांग्रेसले मागेको छ ।

तर, मुख्यमन्त्री कांग्रेसलाई अब ३ वटा मात्रै मन्त्रालय दिने, एउटा मन्त्रालय समाजवादी र बाँकी माओवादीले नै नेतृत्व गर्ने भन्ने मुडमा छन् । अहिले वन तथा वातावरण, श्रम, रोजगार तथा यातायात, स्वास्थ्य, पर्यटन, उद्योग तथा सहकारी र कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाली छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास र सामाजिक विकासमा माओवादीका मन्त्रीहरू छन् । खानेपानी तथा सिञ्चाई र आर्थिक मामिला तथा योजना कांग्रेसको नेतृत्वमा छ । 

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू