शिक्षकद्वारा कक्षा ७ का विद्यार्थीमाथि लौरो र पाइपको वर्षा

शिक्षकद्वारा कक्षा ७ का विद्यार्थीमाथि लौरो र पाइपको वर्षा

ललितपुरको गोदावरीस्थित एउटा विद्यालयका शिक्षकले विद्यार्थीहरुमाथि लौरो र पाइपले अन्धाधुन्द प्रहार गरेका छन् । स्थानीय पथप्रदर्शक माविका शिक्षक अञ्जनकुमार आचार्यले कक्षा ७ का १७ जना विद्यार्थीलाई जथाभावी कुटपिट गरेको आरोप लागेपछि अभिभावकहरु आक्रोशित बनेका छन् । 

शिक्षक आचार्यले हिजो दिउँसो २ बजे विद्यालयमा कुटपिट गरेका हुन् । अविभावकले विद्यालय समयपछि बालबालिका लिन पुग्दा उक्त घटनाको जानकारी पाएका थिए । आफ्ना बालबालिका घाइते भएको पाएपछि उनीहरु ४ बजे शिक्षकको घर घेराउ गर्न पुगेको र टोलबासी नै उठेपछि शिक्षकलाई बचाउन प्रहरीलाई खबर गरिएको थियो । घाइते विद्यार्थी सबैलाई गोदावरी १४, ठैवस्थित गोदावरी मिडसिटी अस्पतालमा उपचार गरेपछि राति घर फर्काइएको छ । 

विद्यार्थीको शरीरमा जताततै नीलडाम देखिएपछि अस्पतालमा पुर्याइएका उनीहरुको एक्सरे र आवश्यक परीक्षण गरिएको अस्पतालले जनाएको छ । स्थानीय अविभावक आक्रोशित बनेपछि शिक्षक आचार्यलाई पक्रेर हिजो साँझ महानगरीय प्रहरी बृत्त सातदोबाटोमा राखिए पनि वडाध्यक्ष सानुभाइ नगरकोटीले जिम्मा लिने कागज गरेर छुटाएको स्थानीय र प्रहरीको भनाइ छ । 

तर वडाध्यक्ष नगरकोटीले पीडकलाई आफूले प्रहरी वृत्तबाट फिर्ता नल्याएको उल्लेख गर्दै भनेका छन्, ‘आचार्यलाई कारबाही गर्ने तयारी छ ।’ उनै नगरकोटीको संयोजकत्वमा घटना छानबिन समिति बनाइएको छ । समितिको बैठक भोलि आइतबार बस्दैछ ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का पूर्व वडाध्यक्ष मुकुन्द पहरीले शिक्षक आचार्यलाई वडाध्यक्ष नगरकोटीले नै प्रहरी नियन्त्रणबाट ल्याएर लुकाएको आरोप लगाएका छन् । यता, ती शिक्षकलाई कारबाही नगरे अभिभावकहरु आफ्ना विद्यार्थीलाई विद्यालय नपठाउने अडानमा बसेको बताइन्छ । 

छानबिन समितिको नाममा ढाकछोप समिति बनाइएको उल्लेख गर्दै पूर्व वडाध्यक्ष पहरी भन्छन्, ‘पीडकलाई राजनीतिक संरक्षण दिन जनप्रतिनिधि नै लागेका छन् । अप्रिय घटना हुन नदिन आफूले समन्वय गरेको वडाध्यक्ष नगरकोटीको दाबी छ ।

 

टिप्पणीहरू