नबिलका हाकिम विनोद चौधरीको शिकार

नबिलका हाकिम विनोद चौधरीको शिकार

ज्ञानेन्द्र ढुंगाना जुलाई १ देखि नेपाल बंगलादेश (एनबी) बैंकमा गाभिएपछि हाकिम बनेका हुन् । गत वर्ष एनबीलाई गाभ्ने, सञ्चालक समितिमा चौधरी र बंगालीहरूको बाहुल्य बनाउने, चौधरीले लाभांशवापत ढाका लैजाने गरेको डलरको नियमित व्यवस्थालाई कुनै हालतमा संस्थागत बनाउने निश्चित शर्तमा ढुंगानालाई सारिएको त्यतिबेलै चर्चा थियो । नबिलको फाइल मिलाएबापत राष्ट्र बैंकको नोटमा दस्तखतकारीको हैसियत दिलाउने वचन डलर अर्बपतिले आफ्नै निवास रवि भवनमा ज्ञानेन्द्रलाई दिएपछि सोही रोडम्यापमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न खोजेको अब छर्लङ्ग भइसकेको छ । 

तर १० महिनाअघि चार वर्षको निम्ति आफ्नै पहलमा नियुक्त सिइओलाई एक वर्ष नपुग्दै हटाउने गाईंगुईं बैंकिङ क्षेत्रमा चर्चा चल्न थालेको छ । रवि भवन निकट स्रोतका अनुसार भिजन २०२५ नामक महत्वाकांक्षी योजनाको एक वर्षे मूल्यांकनका आधारमा चौधरीका बाउछोराले ‘बोल्ड डिसिजन’ गर्न लागेका छन् । बैंकले अधिकतम दायरा बढाउन नसकेको, नाफामा छलाङ मार्न नसकेको, कर्मचारीलाई काखी च्याप्ने र चौधरीलाई ढाँट्ने दोहोरो रणनीति अपनाएको सुईंको पाएपछि डलर अर्बपति बेखुस देखिएका छन् । उनको बेखुशी र असन्तुष्टि सञ्चालक समितिमा गैरकानुनी ढंगले उपाध्यक्ष बनेका सदस्य निर्वाण चौधरीले पटक पटक पोखिसकेका छन् । ती सबै असन्तुष्टि बैंकका सिईओ ढुंगाना, वरिष्ठ डेपुटी सिइओ सुजित शाक्य र कनिष्ठ डेपुटी मनोज ज्ञवालीतर्फ लक्ष्यित भएको बताइन्छ ।

नबिल उच्च स्रोतले चौधरी र उनका छोराको अधिकांश आग्रहबमोजिम काम गरेमा केन्द्रीय बैंकको निर्देशन पालना गर्न नसकिने र अन्ततः बैंक पनि समस्याग्रस्त सहकारी संस्थामा परिणत हुने निश्कर्ष निकालेपछि चौधरी र उच्च व्यवस्थापनबीच मनमुटाव शुरु भएको अर्थ मन्त्रालयमा सूचना पुगेको छ । उच्च व्यवस्थानको ३ नम्बरमा रहेका डिसिइओ आदर्श बजगाईं पनि राष्ट्र बैंककै पूर्व हाकिम चाबहिल बस्ने अच्युतका छोरा हुन् । उनी पहिले स्टाण्डर्ड चार्टर्ड बैंकमा थिए । 

ढुंगाना पहिले बैंक अफ काठमाण्डू, त्यसपछि राष्ट्र बैंक र नेपाल बंगलादेश बैंकमा रहे । शाक्य ग्लोबल आईएमई, ज्ञवाली राष्ट्र बैंक, ग्लोबल आईएमई र ज्योति विकास बैंक हुँदै नबिल पुगेका हुन् । उनीहरूले विगतमा काम गरेका ती सबै संस्थाका हर्ताकर्ता चौधरी र नबिलको पक्षमा नरहेकाले डलर अर्बपतिमा उनीहरूको उठबस अन्यत्र भइरहेको आशंका र भय पलाएको अनुमान लगाइएको छ । अर्कोतर्फ, कानुन विभागका प्रमुख भिष्म न्यौपाने गत वर्षसम्म एसबीआई बैंकमा थिए । धेरै सुविधा पाउने आशमा नबिल छिरेका उनको खुद तलब, भत्ता र सुविधा एसबीआईकोभन्दा मसिक ३० हजार कम भएपछि टाउकोमा हात राखेको बताइन्छ । कानुनको ज्ञातालाई नै आफूले पाउने रकमबारे ज्ञान नभएपछि उनी पनि बैंकको सेवालाई निरन्तरता दिने सोचमा नरहेको स्रोतको दाबी छ ।

यसअघि नबिलमा नयाँ नियुक्ति लिन गएका केही जुनियर कर्मचारीले प्रचलित तलबस्केलभन्दा कम रकम उल्लेखित नियुक्ति पत्र दिइएपछि जनशक्ति व्यवस्थापन विभागका हाकिमको अघिल्तिर उक्त पत्र च्यातेर ‘तिम्रो जागिर तिमी नै खाऊ’ भनी फालिदिएका थिए । चौधरीको बैंक भनेर चिनिएको नबिल डेढ वर्षअघि नेपाली काँग्रेसको महाधिवेशनताका एक अर्ब रूपैयाँ झिकिएको विषयले पनि बहस निम्त्याएको छ । सभापति देउवा इतर चिनिएका एक जना सांसद तथा पूर्वमन्त्री भन्छन्, ‘रकम को, कसको खाताबाट झिकियो, कसको हातमा दिइयो र के प्रयोजनमा खर्च भयो भन्नेबारे बिस्तारै खुल्दै छ । ठ्याक्कै रकम झिकिएको समय चाहिँ महाधिवेशनभन्दा केही साताअघि हो ।’
 

टिप्पणीहरू