आचारसंहितामै जब बालबालिकालाई अचार बनाइयो

बालबालिकासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले चुनाव प्रचार प्रसारमा बालबालिकाको प्रयोगलाई निषेध गरेको छ । आचारसँहितामा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने प्रष्ट व्यवस्था छ । 

बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्न नपाइने भनिए पनि विभिन्न माध्यमबाट चुनावी प्रचारमा लगाउने कार्य हुँदै आएको छ । राजनीतिक दल र उम्मेदवारहरुले चुनावी -याली,आम सभा र घरदैलो कार्यक्रममा समेत उनीहरूको  प्रयोग गर्ने गरेको पाइन्छ । पुराना राजनीतिक पार्टीहरुको कुरै छोडौँ, सुशासन र राजनीतिक शुद्धीकरणको नारा दिएर राजनीतिमा आएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रत्यक्ष-परोक्ष रुपमा चुनावी प्रचारमा बालबालिका र अशक्त नागरिकलाई प्रयोग गरेको पाइएको छ। 

चितवन-२ बाट उपचुनाव लड्दै गरेका रास्वपा सभापति रवि लामिछानेलाई एक बालिकाले भोट माग्दै गरेको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भोलि हुने उपचुनावको मौन अवधि शुरु भैसकेपछि लामिछानेका समर्थकहरुले योजनावद्ध रुपमा बाहिर ल्याएको उक्त भिडियोमा एकजना बृद्धलाई बालिकाले 'रवि लामिछानेलाई भोट दिनुपर्छ' भन्दै सिकाइरहेको सुन्न सकिन्छ । 

करिब ९० वर्ष हाराहारीको देखिने ती बृद्धलाई त्यस्तै दुई वर्ष जस्तो लाग्ने बालिकाले 'हामी रवि लामिछानेलाई भोट हाल्न जाने हो' भन्छिन् । कान नसुन्ने बृद्धले उनको कुरा नबुझेपछि 'के भनेको' भन्दै अनभिज्ञता दर्साउँछन् । त्यसपछि वयस्क आवाज आउँछ, 'भोट हाल्न जाने रे !' त्यसपछि 'बृद्धले कसलाई भोट हाल्ने हो!' भनेर सोधेको भिडियोमा सुनिन्छ । नामसमेत राम्रोसँग उच्चारण गर्न नसक्ने ती बालिकाले 'रवि लामिछानेलाई' भन्छिन् । 

यी सब कुरा नबुझेर अलमलमा परेका बृद्धले 'अर्कोतिर फर्केर कसलाई रे' भनेर सोधेपछि ती बालिका कानमै मुख जोतेर रवि लामिछानेलाई भन्दै चिच्याउँछिन् । पटक-पटक रवि लामिछाने भनेर सिकाउँदा पनि बृद्धले नबुझेपछि घण्टीमा भोट हाल्ने भनेर सिकाइन्छ । उनले 'कस्तो घण्टी' भनेर फेरि अनभिज्ञता जनाएपछि वयस्क मान्छेको जवाफ आउँछ 'पूजा गर्ने घण्टी !'

भिडियोमा भएको संवाद अनि पटक-पटक रवि र घन्टीको नाम लिएर योजनावद्ध रुपमै बृद्ध र बालिकाको अबोधपनलाई भोट माग्न प्रचार गरेको प्रष्ट बुझ्न सकिन्छ । निर्वाचनको मौन अवधि लागिसकेपछि सामाजिक सञ्जालमा व्यापक बनाइएको यस भिडियोलाई निर्वाचन आयोगका एक जना पदाधिकारीले आचारसंहिता विपरित भनेका छन् । चुनावमा मात्र नभई समग्र राजनीतिक गतिविधिमै बालबालिका र फरक क्षमता भएका व्यक्तिको प्रयोग कानुन विपरित हुने उनको भनाई छ। यससम्बन्धमा लिखित उजुरी परे आयोगले छानविन गर्न सक्ने ती पदाधिकारीले बताए ।

टिप्पणीहरू