लेखराजलाई प्रचण्डले भेट्दा एमालेमा शंका, रावल पक्ष उत्साहित

लेखराजलाई प्रचण्डले भेट्दा एमालेमा शंका, रावल पक्ष उत्साहित

पूर्वमाओवादी नेता तथा पार्टी सचिव लेखराज भट्टले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको घटनाले एमाले वृत्तमा तरंग पैदा भएको छ । तत्कालीन नेकपाको विभाजनमा केपी शर्मा ओलीलाई साथ दिएका र त्यसयता माओवादीसँग ‘पानी बाराबार’ को अवस्थामा रहेका भट्टले एकाएक आफ्नै घरमा बोलाएर प्रचण्डसँग भेट गरेपछि एमालेका शीर्ष नेताहरु सबैभन्दा धेरै सशंकित भएका हुन् । 

गत चैत २५ गते प्रचण्डले कैलालीको अत्तरियास्थित भट्टको घरमा पुगेर भेटघाट गर्नुभएको थियो । उक्त भेटलाई भट्टले सामान्य रुपमा लिनुपर्ने बताइरहँदा एमाले नेताहरुले भने शंका गरेका छन् । 

सुदूरपश्चिम पुगेका बेला प्रचण्ड भट्टको घरमा छिरेको भनिए पनि वास्तवमा योजनाबद्ध भेटघाट भएको बुझेपछि एमाले नेताहरु तरंगित भएका हुन् । किनभने एमालेमा सन्तुष्ट नरहेका भट्टलाई अध्यक्षसँग भेटाउन माओवादी सुदूरपश्चिम प्रदेशका नेताहरु लामो समयदेखि निरन्तर क्रियाशिल थिए । मौका मात्र मिलेको थिएन । यसपटक प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको कार्यक्रममा त्यहाँ पुग्नुभएको मौका छोपेर माओवादीमा रहेका लेखराजका ‘फ्यान’ तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाट सरललगायतको पहलमा भेटको मेसो जुरेको बताइन्छ । 

सरल प्रचण्ड पुत्र प्रकाशका नजिकका साथी र हाल खगराज भट्टविरुद्ध बनेको बुहारी बिना मगरको गुटमा रहेको बताइन्छ । एमालेतर्फको आशंकालाई कम गर्न भट्टले प्रचण्डको चाहनाअनुसार भेट भएको प्रतिक्रिया दिनुले पनि भित्री खेल अर्कै रहेको निष्कर्ष एमाले पंक्तिले निकालेको हो ।

प्रचण्ड र लेखराज यसअघि कैयौँ पटक सार्वजनिक कार्यक्रममा भेट हुँदा बोलचालसमेत भएको थिएन । २२ महिनादेखि उनीहरुको सम्वाद र भेटघाट बन्द थियो । एमाले अध्यक्ष ओलीको प्रतिगमनविरुद्धको आन्दोलनताका २०७७ माघ १७ गते धनगढीमा भएको कार्यक्रममा प्रचण्डले भट्टलाई ‘दलाल’ समेत भन्नुभएको थियो । प्रचण्डले भट्टको नाम उच्चारण नगरी सुदूरपश्चिमका साथीहरुले दलालको भण्डाफोर गर्न थालेकाले खुसी लागेको बताउनुभएको थियो । 

त्यसकारण एमाले र माओवादीहरुले चैत २५ गतेको भेटलाई सामान्य मानेका छैनन् । अच्चम के छ भने प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक फागुन २ गते सुदूरपश्चिम भ्रमणमा जाँदा पनि लेखराजले चासो राखेनन् । जबकी लेखराज माओवादीमा हुँदा उनकै दबाबमा प्रचण्ड सहमत भएर खोल्न थालिएको गेटा मेडिकल कलेजको निर्माण प्रगति बुझ्न प्रचण्ड धनगढीको गेटा पुग्नुभएको थियो । विकासको काममा एक देखिनुपर्नेमा त्यतिबेला लेखराज नदेखिनु तर अहिले एक्कासी आफ्नै घरमा प्रचण्डको स्वागत गर्नुले पनि आशंका गर्नेलाई बल पुर्याएको बताइन्छ । 

अहिले धेरै एमाले र माओवादी नेताहरुले भट्ट पुनः माओवादीमै फर्किने अनुमान लगाएका छन् तर माओवादीमा उनको विगत राम्रो छैन । उनी कहिल्यै पनि सुदूरपश्चिममा माओवादीको सर्वस्वीकार्य नेता बन्न नसकेकाले पुरानै घर फर्कन सहज नरहेको दाबी गर्नेहरु प्रशस्त छन् । अर्कोतिर चुनावमा उनका कारण थप राम्रो परिणाम नआएपछि एमालेमा पनि उनलाई धेरैले रुचाएका छैनन् । 

त्यसो त भट्ट स्वयं पनि एमालेमा सन्तुष्ट नरहेको बताउने गरिन्छ । एमाले कार्यकर्ताले आफूलाई नेता स्वीकार गर्न नसकेको उनको गुनासो रहेको बताइन्छ । खासगरी स्थानीय, प्रदेश र संघको चुनावमा भट्टले चाहेअनुसार टिकट वितरण नहुँदा एमालेमा खुसी नरहेको टिप्पणी धेरै हुने गरेको छ । पार्टीका आन्तरिक चुनावमा समेत कञ्चनपुरमा माओवादी पृष्ठभूमीका वीरबहादुर थापा ‘पातल’ पराजित भए भने कैलालीमा उनले सचिव जिताउन सकेनन् । 

रावल पक्ष उत्साहित

एमालेले डा. भीम रावलसित वार्ता गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता टोली बनाएको छ । सो टोली र रावलवीच एक चरणमा वार्तासमेत भइसकेको छ । आइतबार साढे दुई घण्टा भएको छलफल सकरात्मक रहेको डा. रावलले ट्वीट गरेर जानकारी दिएका छन् । वार्ता टोली गठनदेखि नै उत्साहित रावल समर्थकहरु वार्ता भएपछि झन् हौसिएका हुन् ।

एमाले सांसद दयालबहादुर शाही, पर्यटन विभागका रमेश कुँवरलगायतले ओली र रावललाई पटक–पटक भेटेपछि वार्ता टोली बनेको एमाले वृत्तमा चर्चा छ । खास गरेर रावल सक्रिय नहुँदा सुदूरपश्चिमसहितका देशभरका १० वटा निर्वाचन क्षेत्रमा एमाले हारेको राजनीतिक हिसाब दयालबहादुरले अध्यक्षलाई बुझाएपछि वार्ताको वातावरण बनेको बताइन्छ ।

भविश्यमा पनि एमालेले चुनाव जित्न रावलको भूमिका महत्वपूर्ण रहने निष्कर्षमा पुगेपछि बालकोटकै पहलमा वार्ता टोली बनाइएको सुदूरपश्चिममा चर्चा छ ।

टिप्पणीहरू