भीम रावलले अन्तिममा आएर यसो भने

भीम रावलले अन्तिममा आएर यसो भने

एमालेका पूर्वकेन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावलले सुदूरपश्चिम र कर्णाली क्षेत्रमा शक्ति सञ्चय गर्न खोजेका छन् । उनले त्यो शक्तिको कसरी प्रयोग गर्ने हुन् त्यो भने यकिन छैन । उनले यो बीच कर्णालीको सुर्खेत, कैलालीको चिसापानी, बर्दगोरिया, धनगढी, अछामका धेरै पालिकामा भेटघाट गरेका छन् । अछाममा भने रावल र अर्को गरेर एकै ठाउँ दुईवटा कार्यक्रम भए । आइतबार कञ्चनपुरको भीमदत्तमा एमाले र समाजवादीका नेता–कार्यकर्तासामु आफ्ना कुरा राखे ।

कञ्चनपुरमा एमालेका पुराना नेता भोजराज जोशी, मोहन रावल, नरबहादुर विश्वकर्मासँगै समाजवादीका नेता पूर्वमन्त्री प्रकाश रावल र लालबहादुर खड्का उपस्थित थिए । उनले त्यहाँ संविधान मिचिने गरेको र एमालेका गलत कदमबारे चर्चा गरेका थिए । कैलालीका कार्यक्रमबारे एमाले महासचिव शंकर पोखरेल र सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले गहिरो चासो व्यक्त गर्दा लम्कीमा भित्रभित्रै तय गरिएको रावलको कार्यक्रम भित्रभित्रै रोकिएको थियो । सो कार्यक्रममा मिसनग्रासरुटमा खटिएकी कमला बोहरा पनि सहभागी हुने सल्लाह थियो । 

यसैबीच, सोमबार अछाम पुगेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट, स्थायी समिति सदस्य कर्णबहादुर थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारीले नारा–जुलुसको सामना गर्नुपरेको छ । पौडेलले पत्रकार सम्मेलनमा रावलले चुनावमा उठ्न टिकट नमागेको, पार्टीले दिएको जिम्मेवारी पूरा नगरेको बताएपछि मिसन ग्रासरुट सञ्चालन हुन नदिने प्रयास रावल पक्षले गरेको थियो । तर, रावलविरुद्ध नबोल्ने सहमति भएसँगै कार्यक्रम चल्न दिइयो । यद्यपि, सो कार्यक्रममा माओवादीबाट आएर हाल एमालेको केन्द्रीय सल्लाहकार डडेल्धुराका पदम भट्टले भीम रावलले माक्र्सवादविरुद्ध काम गरिरहेको भन्दै पार्टी अनुशासन मान्नुपर्ने र आफूले उठाएका सवालको जवाफ दिनुपर्नेलगायत अभिव्यक्ति दिएपछि नाराजुलुस भएको थियो ।

सो क्रममा केही कार्यकर्तालाई कुटिएको थियो भने मञ्चका नेतालाई बोत्तल हानिएको थियो । यसै क्रममा रावलले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै एमाले नछाड्ने संकेत गरेका छन् । उनले सो क्रममा भने, ‘आफूले ५० वर्ष बिताएको पार्टीमा बसिरहन अन्तिम बिन्दुसम्म प्रयास गरिरहनेछु ।’ उनले त्यो बिन्दु कहिलेसम्म हुन्न भन्न नसकिने बताए । धनगढीमा रावलले भने, ‘तँ एमालेको सदस्य बन्न पाउँदैनस्, राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टी विधि र पद्धतिको कुरा गर्छस्, छाता, हलो, तीरलाई भोट मागिनस् भनेर घचेट्या घचेट्यै गरियो भने नयाँ पाइला चाल्न पनि सक्छु ।’
 

टिप्पणीहरू