बालेनले भने,‘मीटरब्याजविरुद्धको लडाइँ सडकमा बस्नका लागि होइन, न्यायका लागि हो’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मीटरब्याज पीडितहरुलाई खुलामञ्चमा प्रवेश नदिनुको कारण खुलाएका छन् । महोत्तरीको बर्दिवासबाट ११ दिन पैदल यात्रा गरेर हिजो काठमाडौं आइपुगेका मीटरब्याज पीडितहरुलाई खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले बताए ।
सकेसम्म छिटो न्याय दिन सरकारसंग माग गर्दै उनले खुलामञ्चमा शिविर बनाएर महिनौं वा वर्षौ न्यायका लागि लड्ने वातावरण नभएको उल्लेख गरेका छन् । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले मीटरब्याजविरुद्धको आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभई न्यायका लागि भएको जिकिर गरेका छन् ।
‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाई महिनौं वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन,सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्ने हो’, उनले अगाडि थपेका छन्,‘यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’
साथै,मेयर बालेनले संघीयतामाथि पनि प्रश्न उठाएका छन् । स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आउनुपर्ने बाध्यताले गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको उनको भनाइ छ ।
‘पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतामाथि निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ’, उनले लेखेका छन्,‘यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनुपर्ने हो । यसैपनि न्याय माइतीघरले दिने होइन्, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो ।’
मेयर बालेनले स्थानीय समस्याहरु स्थानीय सरकारले नै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, उनले खुलामञ्च सँधै र सबैका लागि खुला रहने बताएका छन् । हिजो काठमाडौं आइपुगेका मीटरब्याज पीडितहरुलाई नगरप्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो । नगरप्रहरीले रोकेसंगै खुलामञ्चको गेटमै धर्ना बसेका उनीहरु आज न्याय खोज्दै वालुवाटार गएका छन् ।
टिप्पणीहरू