वैदेशिक रोजगारीमा गएका नेपालीलाई निःशुल्क टेलिमेडिसिन
वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि सरकारले निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक कामदारहरुलाई लक्षित गर्दै टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा शुरु भएको हो । वैदेशिक रोजगार बोर्डका प्रवक्ता एंव सूचना अधिकारी राजन पौडेलले टेलिमेडिसिन सेवा यही चैत १५ गते बुधवार बिहान १० बजेदेखि सुरु हुने जानकारी दिए ।
उनले सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बताउँदै सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइने जनाए । पौडेलका अनुसार यसको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्नेछ ।
साथै, विशेषतः आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकोले सो दिन उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरी बिरामी कामदारलाई सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा सेवा उपलब्ध गराइनेछ ।
प्रवक्ता पौडेलले टेलिमेडिसिन सेवा सञ्चालन गर्नुको उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकाहरुको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउनु रहेको बताए ।
टिप्पणीहरू