उपमेयरमाथि सञ्चारकर्मीहरुलाई दुर्व्यवहार गरेको आरोप

उपमेयरमाथि सञ्चारकर्मीहरुलाई दुर्व्यवहार गरेको आरोप

सार्वजनिक स्थलमा रिर्पोटिङमा खटिएका मिडियाकर्मीमाथि नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुखले दुर्व्यवहार गरेका छन् । स्थानीय वडा नम्बर ८ मा सडक विस्तार क्रममा उत्पन्न विवादबारे स्थलगत रिर्पोटिङका क्रममा आफूहरुमाथि दुर्व्यवहार गरिएको पत्रकारहरुको आरोप छ ।
 
मिडियाकर्मीले सार्वजनिक चासोको विषयमा प्रश्न उठाएपछि नेपालगञ्जका उपप्रमुख कमरुद्धिन राई पत्रकारहरुमाथि खनिएको बताइएको छ । सार्वजनिक पदमा बसेका उपप्रमुखले विवादित स्थलमा पुगेपछि सोधिएको एउटा प्रश्नको क्रममा रिर्पोटिङमा खटिएका मिडियाकर्मी जाइलागेका हुन् । जिल्ला अदालत बाँकेले जारी गरेको उनी विरुद्धको पक्राउ पुर्जीका विषयमा सोधनी गरेलगत्तै उपप्रमुख पत्रकारहरु माथिनै खनिएका हुन् ।

जिल्ला अदालत बाँकेले उपप्रमुख राईविरुद्ध गत माघ १८ गते दोषी ठहर गर्दै पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पक्राउको निम्ति निर्देशन दिएको थियो । तर एक महिना बित्दा समेत बाँके प्रहरीले उपप्रमुख राईलाई पक्राउ गर्न सकेको छैन ।

हाम्रो मिडिया नेपालमा आबद्ध आशिष मल्ल ठकुरीले आफूहरुमाथि दुर्व्यवहार गरेको बताएका छन् । उपप्रमुख राईले हाम्रो मिडिया नेपालले प्रसारण गरेको भिडियो समाचारमा आफूलाई अपशब्द प्रयोग गरेको आरोप लगाएका छन् ।
राईविरुद्ध पूर्वमन्त्री एवम् पूर्वसांसद समेत रहेका सर्वदेव ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा किटानी जाहेरी दिएका हुन् । अदालतले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएपछि पक्राउ पुर्जी जारी गरे पनि प्रहरी मौन बस्दै आएको छ ।

यसअघि ओझाले जिल्ला प्रहरी कार्यालय बाँकेमा उपप्रमुख राईविरुद्ध सार्वजनिक कसुरमा जाहेरी दिन गएका थिए । तर प्रहरीले लिन नमानेको गुनासो गर्दै अदालत गुहार्नुपरेको उनको भनाइ छ ।

बाँके प्रहरीले राईमाथि लागेका आरोपका बारेमा अनुसन्धान भइरहेकाले पक्राउ गर्न नसकिएको बताउँदै आएको छ ।

टिप्पणीहरू