एमाले सरकार धरापमा, काँग्रेस र माओवादीको कुदाकुद

एमाले सरकार धरापमा, काँग्रेस र माओवादीको कुदाकुद -ऋषि भट्टराई

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने गृहकार्य थालेका छन् । 

मुख्य सत्ता सहयात्री दल माओवादीसहित राप्रपा बाहेक सबै दलले समर्थन झिक्ने तयारी गरेपछि लुम्बिनी सरकार धरापमा परेको छ । एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ती दलले गत माघ ५ गते उनलाई विश्वासको मत दिएका थिए । 

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत सरकारमा छन् । नागरिक उन्मुक्ति, लोसपा र एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरणअनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् । 

मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा मिसिएको छ । मुख्यमन्त्रीको दल नेकपा एमालेको पक्षमा उभिएको राप्रपाको मतले गिरी सरकार थामिने अवस्था छैन । त्यसैले लुम्बिनीमा नयाँ गठबन्धनको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ । 

तर, आलोपालो सरकारको नेतृत्व गर्ने मोटामोटी सहमति भए पनि पहिलोचोटी कसले मुख्यमन्त्रीको जिम्मेवारी लिने भन्ने विषयमा काँग्रेस र माओवादीबीच सहमति हुन नसक्दा साना पार्टीहरुले समेत सरकारबारे निर्णय गर्न सकेका छैनन् । माओवादीले लुम्बिनी आफ्नो आधार क्षेत्र भएकाले पहिलो पटकमै नेतृत्व पाउनुपर्ने दाबी छाडेको छैन । काँग्रेस पनि संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाएर सरकारको नेतृत्व गर्ने दौडमा छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख्य सहयोगी भएर काम गरिसकेका संसदीय दलका नेता जोखबहादुर महरा कुनै हालतमा मुख्यमन्त्री नछोड्ने गरी कस्सिएर लागेका छन् । उतिबेलै मुख्यमन्त्री बन्ने सहमति भएपछि आफू प्रदेशमा झरेर चुनाव लड्न तयार भएको उनले बताउँदै आएका छन् । 

अघिल्लो पटक आफूहरुको समर्थनमा माओवादीले सरकारको नेतृत्व गरिसकेकाले यसपटक कुनै हालतमा पछि नहट्ने काँग्रेसका एक नेताले बताए । आलोपालोमा समस्या नभए पनि पहिलो ट्रम आफूहरुले पाउनुपर्ने र त्यो नै न्यायसम्मत हुने उनको दाबी छ । 

स्रोतका अनुसार प्रदेशसभाको ठूलो दल भएकाले लुम्बिनीमा काँग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना अधिक छ । तर, केन्द्रले निर्णय नगर्दासम्म ढुक्क हुने अवस्था नरहेको नेताहरु बताउछन् । पार्टीले सरकारको नेतृत्व पाउँदा सभापति शेरबहादुर देउवानिकट रहेका नेता चौधरी नै मुख्यमन्त्री बन्ने काँग्रेस वृत्तमा चर्चा छ ।

टिप्पणीहरू