काठमाडौंको सेवा अब एकै ठाउँबाट

काठमाडौंको सेवा अब एकै ठाउँबाट

काठमाडौं महानगरपालिकाका बासिन्दाले अब एकै ठाउँबाट स्थानीय सरकारले दिने सेवा लिन गर्न पाउने भएका छन् । काठमाडौं प्लाजामा आफ्ना सबै विभाग सारेर महानगरले त्यहिँबाट सेवा सञ्चालन गर्ने भएपछि नगरबासी लाभान्वित हुने भएका हुन् । 

काठमाडौं प्लाजा बहालमा लिन महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरिसकेको छ । ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौताबमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचना महानगरले मर्मत गर्नेछ । सो बनाउँदा लागेको खर्च महानगरले बहाल रकमबाट कटाउनेछ ।

यसबाहेकका अन्य मर्मत महानगर आफैंले गर्ने सम्झौता पत्रमा उल्लेख छ । बाहिरी संरचनामा कुनै हेरफेर नगरिने जनाइएको छ । महानगरले सेवा अवरोध नगरी आफ्नो जिम्मेवारीमा रहेका विभागलाई सादै जाने योजना बनाएको छ । 

भवन छोड्न वा छोड्न लगाउनुपरेमा एक सय ८० दिनअगावै जानकारी गराउनुपर्नेछ । बिजुली पानीलगायत सुविधाको बिल महानगरले भुक्तानी गर्ने सम्झौता भएको छ । महानगरले १० वर्षका लागि सम्झौता गरेको छ । पाँच वर्षपछि १० प्रतिशतले बहालवृद्धि हुने जनाइएको छ ।

टिप्पणीहरू