भारतमा बेवारिस बालकहरु नेपाल फर्काइए

भारतमा बेवारिस बालकहरु नेपाल फर्काइए

नेपालको तराई–मधेशबाट व्यापक मात्रामा बालबालिका हराउने गरेका छन् । दलालहरूले तिनलाई ललाईफकाई भारत पुर्‍याउने गरेको पाइन्छ । बढी पारिश्रमिक पाउने प्रलोभन देखाएर पारि पुर्‍याइएका नेपाली बालबालिकालाई जोखिमपूर्ण काममा खटाउने गरेको समाचार बेलाबखत आउने गरेको छ । होटल, रेष्टुरेण्टदेखि लिएर भारीभारी सामान लोड–अनलोड गर्नेमा उनीहरूको प्रयोग हुँदै आएको छ । भारतस्थित नेपाली दूतावासको सहकार्यमा ‘कीन इण्डिया’ नामक संस्थाले बेवारिसे अवस्थामा फेला परेका त्यस्ता बालबालिकाको हालै उद्धार गरेको छ । 

उक्त संस्थाका डाइरेक्टर नवीन जोशीले ती बालबालिकालाई उद्धार गरेर नेपाल फर्काएका हुन् । लामो समयदेखि भारतको राजधानी नयाँदिल्लीका होटलमा बाल श्रमिकका रूपमा काम गर्दै आएका १२ जना बेवारिसे बालबालिकालाई अस्ति फागुन २९ गते सोमवार फिर्ता पठाइएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । इण्डिगो ६ई०४५ को उडानमार्फत बालबालिकासहित नेपाल आएका नवीन सोही दिन बिहान भारत फिर्ता भएका छन् । उद्धार गरिएका बालबालिकालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ । ब्यूरोले पनि उनीहरूको बारेमा थप अनुसन्धान अघि बढाएको छ । विभिन्न माध्यमबाट भारत पुग्ने बालबालिकामा अधिकांश मधेशी मूलका र आठदेखि २० वर्षसम्मका छन् ।

 

महोत्तरी घर भएका सञ्जीव सदा पनि उद्धार गरिनेमा परेका छन् । सन् २००५ अगष्ट ३ जन्ममिति भएका उनीसङ्गै धनुषाका १४ वर्षीय करण ढोली, विदेहा नगरपालिका वडा नम्बर १ का धिरज सहानी पनि जोशीसँगै आएका छन् । २०१० अप्रिल २० मा जन्मिएका उनी बल्ल १३ वर्ष पुगेका छन् । उमेरले भर्खरै १२ वर्ष मात्र भएका महोत्तरीका बेवीदेवल सदाको पनि यही लटमा उद्धार भएको छ । ४७१ जन्मदर्ता नम्बर भएका उमेश मुखिया पनि टोलीसंगै नेपाल आएका छन् । २०१० जनवरी ७ मा धनुषामा जन्मिएका उनी बेवारिसे अवस्थामा फेला परेका थिए । भारतमा काम गर्दै आएका महोत्तरीका दीपक सदा, धनुषाका विवेक सदा र महेश मुखियालाई पनि प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूको जन्ममिति क्रमशः सन् २००७ मे ५, २००८ अगस्ट १८ र २००९ मार्च २९ रहेको छ । 

कलिलै उमेरमा बाल मजदुरी गर्दै आएका बागलुङ ढोरपाटनका बिपुल राना उर्फ एलिस बिजुल घर्तीमगर, महोत्तरीका लवकुमार सदा र बुटवल–१२ का विशाल विश्वकर्मासमेत नेपाल फर्काइएका छन् । सबैभन्दा साना विशाल हाल ८ वर्षका भए । 


 

टिप्पणीहरू