अपरेसन जर्नेलको घरमा नयाँ सेनापतिको चर्चा,सन्तोषको म्याद थपिँदै

अपरेसन जर्नेलको घरमा नयाँ सेनापतिको चर्चा,सन्तोषको म्याद थपिँदै

पूर्व राजा ज्ञानेन्द्रको घर पछाडि महाराजगञ्जस्थित चुनदेवी मन्दिर क्षेत्रमा गत हप्ता नेपाली सेनाका वर्तमान र भूपू जर्नेलहरुको लर्को लाग्यो । हालका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन्स (डिजिएमओ) ताराध्वज पाण्डेको निवासमा फागु पूर्णिमाको दिन ‘होली डिनर’ को आयोजना गरिएको हो ।

डिनरमा पाण्डेका जर्नेल सम्धी यम सापकोटा र तीन तारे जर्नेलहरुको समेत उपस्थिति रहेको बताइन्छ । त्यसदिनका सहभागीमा तीन तारे जर्नेलहरु सरोजप्रताप राणा,सीताराम खड्का र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका एडिसी निरज पौडेल मुख्य थिए । पूर्व तीन तारे जर्नेलमध्ये पवन पाण्डे पनि सोही डिनरमा भेला भएको बताइन्छ । डिनरको निचोड भने ताराध्वजलाई कसरी सकुशल आगामी चिफमा पुर्याउने भन्ने रहेको विषयले अहिले जंगी अड्डातिर व्यापक चर्चा पाउन थालेको छ ।

उता,अर्का ब्रिगेडियर सन्तोषबल्लभ पौडेलको बारेमा पनि नानाथरी हल्ला र चर्चा छ । ०६३ मा बझाङ्ग बस्दा पेस्तोल हराएको काण्डमा कोर्ट मार्शलमा परेका ब्रिगेडियरलाई म्याद थपेर दुई तारेमा उकाल्ने प्रक्रिया शुरु भएको छ । उनी अहिले सेनाको शान्तिसेना निर्देशनालय प्रमुख छन् ।

ब्रिगेडियरको कार्यकाल तीन वर्ष हुन्छ । समय र परिस्थिति अनुकूल भएमा अरु दुई वर्ष थप्न सकिने अवस्था रहन्छ । पौडेल थरकै प्रधान सेनापति प्रभुराम शर्माले म्याद थपका निम्ति भर्खरै रक्षा मन्त्रालयमा पत्राचार गरेपछि सन्तोष पौडेललाई सबै सेनापतिबाट झैं यसपटक पनि थप सन्तुष्टि मिल्न लागेको बताइन्छ ।
बलाध्यक्ष तीन तारे जर्नेल सीताराम खड्काको बोर्डले पौडेलको म्याद थप्न सिफारिस गरिसकेको थियो । ‘पैसा भनेपछि जे पनि गर्न तयार हुने खड्का र  विगतमा पैसा खेलाउने गरेको आरोप लागेका ब्रिगेडियरका कारण पत्राचारले मूर्त रुप लिने सम्भावना छ,’सैन्य उच्च स्रोतले भन्यो । 

तीन वर्षअघि विश्वभर फैलिएको कोभिड १९ महामारीमा पनि पौडेललाई विवादमा तानिएको थियो । उनीमाथि आतपनि मज्जैले चलाएको भन्नेहरु पनि बग्रेल्ती छन् । महिला स्टाफलाई प्रश्नपत्र लिक गराएर पास गराएको आरोप लामै समय खेपे । तर उक्त आरोप पुष्टि हुन नसकेपछि रक्षा मन्त्रालयबाट उन्मुक्ति पाए ।

श्रीमानको प्रगति र उन्नतिमा श्रीमती पौडेलको हात उत्तिकै रहेको भन्नेहरु पनि छन् । सैनिक श्रीमती संघमा उनको विशेष प्रभावका कारण पनि उनीमाथि प्रभावशालीको बिल्ला भिराइएको अड्कल छ । 

एउटी महिला मेजरमाथि विगतमा पौडेलले साँधेको रिसइबीबारे अहिले पनि सेनाभित्रै बेलाबखत कुरो उठ्ने गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालकी जेठी सासूको छोरासँग विवाह गरेकी माइतको थर ठकुरी भएकी ती मेजरको जागिर बालबाल बचेको थियो । पौडेलले बदला लिएर जागिर खुस्काइदिन लगभग अन्तिममा पुगिसकेको उक्त घटना अध्यक्ष नेपालको कारण जोगिएको देखिजान्नेहरु उत्तिकै छन् ।

उमेश श्रेष्ठलगायत बिचौलियासँग मिलेर सुडान मिसनको एपीसी ल्याउन धेरै बल गर्नेमध्ये पौडेल पनि एक रहेको खुलासा बिचौलियाहरुले यसअघि नै गरेका थिए । २७ बेसिकका अफिसरबाट सैन्य सेवामा प्रवेश गरेका उनलाई समकालीनहरुले सबैभन्दा चतुर अधिकृतको बिल्ला भिराइदिएका छन् । ५ नम्बर बाहिनीमा छँदा चित्रबहादुर गुरुङसँग मर्निङ वाकमा हिँड्दाको सबैभन्दा बढी फाइदा उनले पाएको अवसरबाटै देखिएको भनेर बाहिनीमा त्यतिबेला चर्चा हुने गर्थ्यो ।

यो पनि...

1. दलहरूको अवस्था र घट्दो विश्वसनीयता

2. सरकारमा हिस्सा खोज्न समाजवादीद्वारा कार्यदल गठन

3. प्रधानमन्त्रीले गोरखा पुगेर नरिवल फुटाउनुभयो

4. सचिवको लगेज सोत्तर,डोकोमा सामान बोक्ने सवाल


 

टिप्पणीहरू