ज्ञानेन्द्र शाहीले ऋषि धमलालाई सोधेको प्रश्नको जवाफ ज्योति मगरको फेसबुकमा

ज्ञानेन्द्र शाहीले ऋषि धमलालाई सोधेको प्रश्नको जवाफ ज्योति मगरको फेसबुकमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले पत्रकार ऋषि धमलालाई सोधेको एउटा प्रश्नको जवाफ गायिका ज्योति मगरले दिएकी छन् । 

मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत् शाहीको प्रश्नको सार्वजनिक जवाफ दिएको उल्लेख गरेकी छन् । दुई दिनअघि प्राइम टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आक्रमक रुपमा प्रस्तुत भएका शाहीले ‘देश कसले बनाएको ?’ भन्दै पत्रकार धमलालाई प्रश्न गरेका थिए । ‘गिभ मी आन्सर’ भन्दै उनले सोधेका थिए, ‘यो देश कसले बनाएको ? राजाले बनाएको देशमा तपाईं किन बसेको ? छोडेर जानु न त ।’ 

नेपाल श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकीकरण गरेको उल्लेख गर्दै उनले लोकतन्त्रका पक्षधरहरु यहाँ बस्न नमिल्ने अराजक टिप्पणी गरेपछि त्यसको सार्वजनिक आलोचना भइरहेको छ । यत्तिकैमा शाहीको प्रश्नको जवाफ गायिका मगरले फेसबुकमा लेखेकी हुन् । 

राजाले देश बनाएको भन्ने उक्त अभिव्यक्तिको खण्डन गर्दै मगरले राष्ट्रवादको खोक्रो नारा लगाएर मिडिया र जनताको ‘अटेन्सन’ लिने काम नगर्न सुझावसमेत दिएकी छन् । देश राजाले बनाएको भन्दै एकाध किताब पढेर जनतालाई बेवकुफ बनाउन नमिल्ने उनको धारणा छ । 

भौगोलिक परिवेश, संस्कार, संस्कृति, भेषभूषाले सिस्टम (प्रणाली) बनाएको र त्यसले राजनीति बनाएको मगरको भनाइ छ । राजनीतिलाई फोहोर बनाएर शाहजस्ताले सोझा जनताको भावनामाथि खेलेको उनको आरोप छ ।

‘दुईचार वटा किताब पढेर दुईचार वटा हिस्ट्री पढेको छु भन्दैमा ऋषि धमलालाई चुड्की बजाउँदैमा हामी सबैलाई अर्थात् नेपाली जनतालाई बेवकुफ बनाउनचाँहि पाँइदैन् ल ज्ञानेन्द्र बेबी’, अगाडि लेखिएको छ,‘मलाई थाहा छ त तपाईंहरु राष्ट्रवादको खोक्रो नारा लगाएर मिडियाको र जनताको अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन ।’

साथै, गायिका मगरले मुलुक बनाउन सबै सन्धि तोडेर शून्यबाट अघि बढ्नुपर्ने विचार पनि राखेकी छन् ।

टिप्पणीहरू