जनमोर्चाले चितवनमा जनकराजलाई उठाउने

जनमोर्चाले चितवनमा जनकराजलाई उठाउने

राष्ट्रिय जनमोर्चा नेपालले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ । 

बुटवलमा सम्पन्न जनमोर्चाको राष्ट्रिय परिषद् प्रथम बैठकले आउँदो वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ । त्यस्तै, उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन पार्टी महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत गठन गरिएको छ । 

उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाइकरणविरुद्ध भण्डाफोर अभियानका रुपमा लिने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  आगामी २०८० वैशाख र जेठमा देशव्यापी सम्मेलन गर्ने र असोजमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

बौद्ध पुरातात्विक शहर निर्माण योजनाका विषयमा काठमाडौंमा सेमिनार कार्यक्रम गरिने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,‘बैठकले गणतन्त्र, राष्ट्रियता तथा जनजीविकाको पक्षमा, संघीयताको विरोधलगायत विभिन्न महत्वपूर्ण विषयमा प्रस्ताव पारित गरेको छ ।’
 

टिप्पणीहरू