आफ्ना र पराई छुट्याउनै आपत

आफ्ना र पराई छुट्याउनै आपत

आफ्नै पार्टीका मान्छेले भारतीय दूतावास गुहारे, पैसा मागे भन्ने बेलामा प्रचण्डलाई ‘चीनविरुद्ध गद्दारी’ को बात लाग्यो । एमाले अध्यक्ष केपी ओलीले ‘मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चीनविरुद्ध गद्दारी’ गरेको र मुलुकलाई ‘विदेशीको खेलमैदान’ बनाउन खोजेको आरोप लगाउनुभएको थियो ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने फल्याक गाउँमा साक्या बौद्ध संघले कलेजको भवन बनाउनका लागि ७० करोड नेरु. सहयोग निम्ति भारतीय दूतावासलाई गुहारेको थियो । उक्त गाउँपालिकामा एमालेका तर्फबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष छन्, रिङजिन नामगेल गुरुङ र दिकी  गुरुङ । अनि यसमा साथ थियो गण्डकी प्रदेश कमिटी सदस्य तथा पूर्व सांसद इन्द्रधरा विष्टको । विष्णु पौडेल अर्थमन्त्री रहेकै बेला दूतावासलाई सहयोगनिम्ति लेखिएको पत्र अघि बढेको थियो । त्यही सूचना एमाले अध्यक्ष ओलीले पाउनुभयो, गालीचाहिँ प्रचण्डका नाममा गर्नुभयो । 

उता, प्रचण्डमाथि मुद्दा लगाइने हल्लाले उग्र रुप लिएपछि सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । उनीहरुको ठहर छ, ‘संक्रमणकालीन न्यायको कुरालाई विषयान्तर गर्न खोजियो, फौजदारी अपराधतिर लैजाने प्रयास भयो ।’ शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउनका निम्ति गर्न बाँकी काम अगाडि बढाउनुपर्छ भन्ने नेताहरुको साझा धारणा थियो ।

‘शान्ति प्रक्रिया बिथोल्ने कोशिस हुँदैछ, त्यसमा सतर्क हुनुपर्छ’, एक नेताले जनआस्थालाई सुनाए, ‘गणतन्त्रविरोधी गतिविधि बढ्नु र संक्रमणकालीन न्यायसँग जोडिएको विषयलाई गिजोलिनुमा कतै न कतैको स्वार्थ गाँसिएको हुनुपर्छ ।’ विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व स्वीकार गरिएको छ । हतियार बोकिएको द्वन्द्वमा मारिएका व्यक्तिको हकमा राजनीतिक समाधान खोज्ने, फौजदारी समाधान खोज्ने होइन भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको अवस्थामा पानी धमिलो पारेर माछा मार्न खोजिएको रुपमा नेताहरुले चित्रित गरेका छन् ।  

नेताहरुको सोही छलफलमा राष्ट्रपतिको चुनावी परिणाम फरक पर्ने गरी मत ट्रान्सफर नभए पनि जनजातिको मत थोरै यताउति हुनसक्ने र ज्ञानेन्द्र शाहले आफूलाई ‘श्री ५ महाराजधिराज’ भनेर दिएको वक्तव्य गम्भीर भनेर निश्कर्ष निकालिएको थियो । 
 

टिप्पणीहरू