फौजदारी अभियोग लागेका व्यक्ति उम्मेदवार बनेपछि अस्कलमा तालाबन्दी

फौजदारी अभियोग लागेका व्यक्ति उम्मेदवार बनेपछि अस्कलमा तालाबन्दी

फौजदारी अभियोग लागेको व्यक्ति स्ववियु निर्वाचनमा उम्मेदवार बनेको आरोप लगाउँदै राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा तालाबन्दी गरिएको छ । 

काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत फौजदारी कसूरमा मुद्दा चलिरहेको व्यक्ति उम्मेदवार बनेपछि त्यहाँ विवाद चर्किएको बताइन्छ ।    अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियू र नेकपा (बहुमत) ले अभियोग लागेको उम्मेदवारको उम्मेदवारी खारेज नगरेसम्म ताला नखोल्ने अडान लिएको छ । 

अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार कमलराज जोशी, प्रत्यक्ष सदस्यका उम्मेदवार गोपालबहादुर शाही, समानुपातिकतर्फका सदस्य उम्मेदवार पंकज पाण्डे र दिनेश सिग्देलविरुद्ध फौजदारी अभियोग रहेको ती संगठनको भनाइ छ । त्यस्ता व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था हुँदाहुँदै पनि दाबी विरोध उजुरीउपर छानबिन नगरिएको उनीहरुको आरोप छ । 

‘काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत फौजदारी कसूरमा मुद्दा चलिरहेको र नेपालको संविधानबमोजिम निर्वाचनको उम्मेदवार बन्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै हाम्रो दाबीविरोध उजुरी छानबिन नगरिएको र यथास्थितिमा नामावली प्रकाशित गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू