दुई खेलअगावै नेपालको एकदिवसीय जोगियो, विश्वकप छनोटमा पुग्न दुई पाइला पछाडि

दुई खेलअगावै नेपालको एकदिवसीय जोगियो, विश्वकप छनोटमा पुग्न दुई पाइला पछाडि

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा यूएईलाई पराजित गर्दै नेपालले एकदिवसीय मान्यता जोगाएको छ भने विश्वकप छनोटमा सोझै स्थान बनाउने सम्भावना जीवित राखेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा १७७ रनको सानदार जितपछि अंकतालिकामा चौंथो स्थानमा उक्लिएको नेपालले दुई खेल अगावै एकदिवसीय मान्यता कायम राखेको हो । अब शृंखलाका बाँकी दुई खेल जिते नेपाल एकदिवसीय  विश्वकप छनोटमा पुग्ने छ । 

आजको हारसँगै यूएईले एकदिवसीय मान्यता जोगाउने अवसर गुमाएको छ । अर्को प्लेअफमा शीर्ष ४ मा पर्न सके मात्रै उसले एकदिवसीय मान्यता फर्काउन सक्नेछ । 

जित्ने पर्ने खेलमा आज नेपाली बलरसामू युएइका कुनैपनि ब्याट्सम्यान टिक्न सकेनन् । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाएर अलआउट भयो । नेपालका ललित राजबंशीले एक्लै पाँच विकेट लिएर युएईको इनिङ ध्वस्त पारेका थिए । ७.५ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २० रन खर्चिए । सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक-एक विकेट हात पारे । 

पहिलो ओभरको अन्तिम बलमा एउटा ओपनर गुमाएपछि दबाबमा आएको यूएईले त्यपछि लगातार विकेट गुमाएको थियो । छैटौं ओभरमा नै ४ विकेट गुमाएको उसका लागि आयान आफ्जल खानले २९ र अस्वन्त वान्तवाले १४ रन बनाए । कार्तिक मैयाप्पनले १५ बलमा ११ रन थपे । बाँकी ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै  २ सय ४८ रन बनाएको थियो । निकै खराब सुरुआत गरेको नेपालका लागि कप्तान रोहित पौडेलले इनिङ सम्हालेपछि सम्मानजनक स्कोर बनेको हो । ७.१ ओभरमा ३ विकेट गुमाएर २२ रनको अवस्थामा ब्याटिङ गर्न आएका कप्तान पौडेलले चौथो विकेटका लागि भिम सार्कीसँग ५४ रनको साझेदारी गर्दै इनिङस् सम्हालेका थिए।

यो जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको नामिवियाको ३९ अंक छ । ५० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्याण्ड र ४४ अंक बटुलेर दोस्रो भएको ओमान विश्वकपको विश्व छनोटमा पुगिसकेका छन् । सात टोली सम्मिलित लिग-२ का माथिल्ला तीन टोली विश्व छनोटमा पुग्नेछन् । 

नामिवियालाई पछि पारेर तेस्रो स्थानमा पुग्न नेपाललाई बाँकी दुई खेल पनि जित्नुपर्ने हुन्छ । नेपालले शृंखलाको पहिलो खेलमा पिएजीलाई हराएको थियो ।

टिप्पणीहरू