झलक र रविको के हो यस्तो झमेला ?

झलक र रविको के हो यस्तो झमेला ?

इमान्दार रेटिने, बेइमानहरू पुजिने रोगले राजनीति मात्र होइन, कर्मचारी प्रशासनलाई समेत गाँज्दै छ । उदाहरण हो, हालै गरिएको ६१ भाइ सहसचिवको सरुवा । प्रधानमन्त्रीका निजी सचिव नवराज ढुंगानाको विशेष सेटिङमा कर्मचारी प्रशासन संयन्त्रलाई भताभुंग बनाइएको चर्चा छ । कतिपयले यसलाई केपी ओलीको पालाको भन्दा चर्को पेलानका रूपमा विश्लेषण गर्न थालेका छन् । नवराजहरूकै विशेष इच्छाअनुसार पहिले अनेकन बदमासीमा मुछिएका एक पात्रलाई टपक्क टिपेर अध्यागमन विभागको महानिर्देशक बनाउने काम फत्ते भएको छ ।

६ महिनाअघि मात्र त्यहाँ लगिएका ऋषिराम तिवारीलाई गण्डकी प्रदेशतिर खेदेर शक्तिका पुजारी झलकराम अधिकारीलाई अघिल्लो आइतबार अध्यागमनमा फिट गराइएको हो । झलकराम जब–जब प्रचण्ड शक्तिमा आउँछन् तब कर्मचारीकै भाषामा ‘मालदार’ मानिने ठाउँमा पुग्न सफल कर्मचारी हुन् । सहकारीको रजिष्ट्रार हुँदा काण्ड लागेर सामान्यको जगेडामा राखिए पाँच महिनासम्म । सामान्यतया महिना दिनभन्दा बढी समय कर्मचारीलाई जगेडामा राखिँदैन । साढे पाँच महिनापछि मोटो कोसेली चढाएर राजश्व अनुसन्धान विभागमा पुगेको उनीअघिका हाकिम प्रकाश पौडेलले सार्वजनिक कार्यक्रममै बोलेका छन् । सुपारी काण्ड लागेर चार महिनामै लखेटिएका उनी प्रचण्डको गृहजिल्ला कास्की, ढिकुरपोखरीका हुन् । यसअघि पोखरा महानगरपालिकाको कार्यकारी अधिकृत हुँदा जग्गा प्रकरणमा डामिए । अध्यागमनको शाखा अधिकृत, सेज हुँदै केही समय श्रीमतीसहित अमेरिका बसे । त्यताबाट स्वदेश फर्किएर अर्थका अधिकांश राम्रा र आकर्षक निकायमा रमाए ।

ठूला करदाता कार्यालयको हाकिम, आन्तरिक राजश्वको डिडिजी हुँदै अधिकांश समय अर्थ मन्त्रालयअन्तर्गतका मालदार अड्डामा हालिमुहाली चलाए । अर्थ स्रोतका अनुसार उनको खेतीपाती राम्रै बुझेका तत्कालीन सचिव राजन खनाल र शिशिर ढुंगानाहरूले महिना दिनसम्म सरुवाको चिठी नै रोकेर राखिदिएका थिए । अधिकारीलाई अध्यागमनमा फिट गर्नकै लागि ऋषिराम तिवारीलाई लखेटिएको हो । तिवारी निजामती किताबखाना, सञ्चार मन्त्रालय, रूपन्देहीको सिडिओ भइसकेका कर्मचारी हुन् । निजामती ऐनले दुई बर्षसम्म एउटा कर्मचारीलाई चलाउन पाइँदैन भन्छ ।

बिनाकारण ६ महिनामै तिवारीलाई किन लखेटियो ? अर्थकै क्याडर मानिएका अधिकारीलाई त राजस्व उठ्तीपुठ्ती हुने अड्डामा पो लगिनुपर्ने हो तर श्रमिकहरू विदेश जाँदा कचकच पर्ने अध्यागमनमा किन लगियो ? स्रोत भन्छ, अहिले चितवनवासी नवराज ढुंगानालाई प्रमको निजी सचिव बनाएर लगिएजस्तै चितवनबाटै चुनाव जितेका रवि लामिछानेको राहदानी प्रकरण पनि यसमा जोडिएको छ । यसकारण त रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएन । रविको राहदानी प्रकरण र झलकरामको अध्यागमनमा सेटिङबीच के साइनो होला ? बुझ्न कठिन छैन । 

अर्काे गाईजात्रा छ त्रिवि अध्यागमनतिर । एकातिर अदालतमा भ्रष्टाचार मुद्दा चल्दै छ, त्यसैमा मुछिएका कर्मचारीलाई पुरस्कारस्वरूप अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएपछि गृहका अधिकृतहरूले दुखेसो पोखेका छन् । गृहका अधिकृतहरूलाई चिढ्याएर कुमार पोखरेललाई त्यहाँ फिट गराइएको हो । कुमार नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालका भाइ हुन् । वैदेशिक रोजगारमा रहँदा अकुत आर्जनमा परेर साढे तीन वर्ष निलम्बन झेलेका र विशेष अदालतका श्रीमानहरूलाई मनाएर लोकसेवा आयोगमा पुगेका । लोकसेवाको दरखास्त व्यवस्थापन शाखामा २ वर्ष गुजारेर गृहमा एक दिन पनि हाजिर नगरी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका । कार्यविधिअनुसार गृहको क्याडरभन्दा बाहिरका कर्मचारीलाई सिधै अध्यागमनमा पठाउन नमिल्ने हो तर शक्तिकेन्द्र दायाँ भएपछि कर्मचारी प्रशासनमा नहुने भन्ने के रहेछ र ? कार्यविधि कुल्चँदै गृहले पोखरेललाई त्रिवि अध्यागमन कार्यालयमा अघिल्लो आइतबार खटाएको हो ।

स्रोतका अनुसार अघिल्लो लटमा सरुवा भएका १३ जना अधिकृत फेरि त्रिवि अध्यागमनमै फर्किन सफल भएका छन् । जसमध्ये केही ०७६ सालमा त्यहीं हुँदा अनियमिततामा मुछिएका थिए । त्यसैमध्ये गृहको कर्मचारी प्रशासन फाँटमा बसेका कुलशेखर अर्याल, युनियनकै गृह इञ्चार्ज हुन् । त्यस्तै युनियनका केन्द्रीय सदस्य प्रकाश खाती कम्प्युटर अपरेटरसहित त्रिवि अध्यागमनमा फिट गराइँदा प्रकाशबहादुर खाती, जनार्दन रिजालहरू पनि त्यसैमा मिसिएका छन् ।

टिप्पणीहरू