स्ववियु निर्वाचनमा तालमेल गर्न गुल्मीमा एमाले र माओवादी तयार

स्ववियु निर्वाचनमा तालमेल गर्न गुल्मीमा एमाले र माओवादी तयार

गुल्मीमा तालमेल गरेर स्ववियु निर्वाचनमा जाने तयारी भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित तीन विद्यार्थी संगठनले एकजुट भएर निर्वाचनमा जाने निर्णय गरेका हुन् । आउँदो चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा वामपन्थी शक्तिहरु तालमेल, सहकार्य र एकता गरी अघि बढ्ने जनाइएको छ । 

एमाले गुल्मीका सचिव गणेश श्रीपाली, माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापा, अनेरास्ववियुका अध्यक्ष शोभाकर गिरी, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष राजन पोखरेल र अखिल (क्रान्तिकारी) का संयोजक राज खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्लाका सबै क्याम्पसमा तालमेल गरी संयुक्त प्यानल बनाउने निर्णय गरेका छन् । 

त्यस्तै, जिल्लाको रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, सत्यवर्ती क्याम्पस, रुरु क्याम्पस, दिगान आदर्श क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिने सहमतिमा उल्लेख छ । 

अनेरास्ववियु (क्रान्तिकारी) ले धुर्कोट बहुमुखी क्याम्पस, जनज्योति क्याम्पस, चन्द्रकोट क्याम्पस र रुरु संस्कृत विद्याविठको नेतृत्व लिने भएको छ । श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकताअनुसार तालमेल गरी अघि बढने बताइएको छ । 

अनेरास्ववियुले अध्यक्षको नेतृत्व लिएको क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) ले सचिव पदमा नेतृत्व लिने छ । यता, अनेरास्ववियु (क्रान्तिकारी) ले अध्यक्ष लिएको क्याम्पसमा अनेरास्ववियुले सचिव पदमा नेतृत्व लिने र अन्य पदमा आन्तरिक सहमतिका आधारमा उम्मेदवार टुङ्ग्याउने सहकार्य भएको छ ।


 

टिप्पणीहरू