एमाले अध्यक्षद्वारा जातेजाते राष्ट्रपतिको फेरि प्रशंसा

एमाले अध्यक्षद्वारा जातेजाते राष्ट्रपतिको फेरि प्रशंसा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीको कार्यकाल गौरवपूर्ण रहेको बताउनुभएको छ । सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले सफलतापूर्वक नेतृत्व गरेको भन्दै ओलीले उहाँको प्रशंसासमेत गर्नुभयो । 

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भण्डारीको पहिलो कार्यकाल सफल,सही,उत्कृष्ट र मर्यादित भएकै कारण दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनभएको बताउनुभयो । यस किसिमको भूमिका नेपाल र नेपाली महिलाहरूको निम्ति गर्वको विषय भएको ओलीको भनाइ छ । 

"ओलीले भण्डारीको पहिलो कार्यकाल सफल,सही,उत्कृष्ट र मर्यादित भएकै कारण दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनभएको बताउनुभयो"

‘आज महिला दिदीबहिनीले गौरव गर्नुपर्छ कि विद्या भण्डारीजस्तो तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको नेतृले,त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सेवा गर्नुभयो,’ ओलीले भन्नुभयो, ‘अघिल्लो कार्यकालको उहाँको सफल,सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको हो ।’

राष्ट्रपतिका रुपमा भण्डारीको भूमिकाको चौतर्फी आलोचना भइरहेकोप्रति असन्तुष्टी जनाउँदै अध्यक्ष ओलीले राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्दा यस्ता लाञ्छना लगाउने गरेको आरोप लगाउनुभयो । 

पहिलो पटक दुई वर्षका लागि राष्ट्रपति हुँदा खासै विवादमा नआउनुभएकी राष्ट्रपति भण्डारीमाथि पछिल्लो समय एमालेको ‘स्वार्थ’ मा काम गर्ने गरेको आरोप लाग्दै आएको छ । भण्डारी आगामी आइतबार राष्ट्रपतिको कार्यकाल पूरा गरेर घर फर्कंदै हुनुहुन्छ ।

टिप्पणीहरू