फिल्मी ‘बा’ अर्कै फन्दामा

फिल्मी ‘बा’ अर्कै फन्दामा

नेपाली राजनीतिमा ‘बा’ चरम संकटबाट गुज्रिरहेका छन् । उस्तै हालतमा पुगेका छन्, नेपाली सिने क्षेत्रका ‘बा’ । दुई महिना सत्ताको रसस्वादन गरेर केपी ओलीको पार्टी सोमबारबाट सत्ताबाट बाहिरिएको छ । उसैगरी फिल्म बनाउने फ्याक्ट्रीका रूपमा चिनिएका बाघ निर्माता छवि ओझा पनि चरम संकटमा पुगेका छन् । ०४७ सालदेखि यता युगदेखि युगसम्म, नाता र जन्मभूमि, हिरो, कस्तो साइनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत, किस्मत हुँदै लज्जालगायत सयौं हिट मुभी बनाए । उनैले जन्माए राजेश हमालदेखि रेखा थापा, आर्यन सिग्देल, किशोर खतिवडादेखि शिल्पा पोखरेलसम्मलाई । तिनैमध्ये शिल्पाका कारण सिनेमा क्षेत्रका फ्याक्ट्री मानिएका ओझा अहिले चरम संकटमा गुज्रिएका हुन् । काठमाडौँ जिल्ला अदालतमा छवि र शिल्पाबीच एकसाथ चारवटा मुद्दा चल्दै थिए, सम्बन्धविच्छेद, मानाचामल, अंश, बहुविवाह । यी मुद्दाउपर आइतबार मात्र काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले शिल्पालाई छविले आफ्नो सम्पत्तिको आधा हिस्सा दिनुपर्ने फैसला सुनाएको हो ।

यससँगै उनीहरूबीच सम्बन्ध कानुनी रूपमै पूर्णविराम लागेको हो । यस्तै जिल्ला अदालतले जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई खारेज गरिदिएको छ । शिल्पाको मुद्दाका कारण छविको सबै सम्पत्ति रोक्का थिए । भएभरका सम्पत्ति रोक्का भएका कारण कुनै समयका बाघ निर्माताले कुनै फिल्म बनाइरहेका थिएनन् । सिने क्षेत्रमा सफल भए पनि पारिवारिक जीवनचाहिँ डामाडोल रह्यो । छविकै शब्दमा उनको पहिलो बिहे ‘अनसक्सेस’, दोस्रो ‘ब्याडलक’, तेस्रो श्रीमती बनेर भित्रिएकी रेखा मात्र होइन, चौथी शिल्पा र छविबीच डिभोर्स गराउनमा समेत विकास रौनियार र सम्झना उप्रेती रौनियारहरू लागेको आरोप लाग्दै आएको छ । 

रेखा थापाले सम्बन्धविच्छेद गरेपछि एक्लो जीवन बिताउँदै आएका छविले रेखाकै रूप देखेर शिल्पालाई लज्जा, हवल्दार सुन्तली, किस्मत–२ मा खेलाए । उनै शिल्पालाई निर्मात्री बनाएर ‘मंगलम’ बनाएका थिए । छविलाई नजिकबाट जान्ने र चिन्नेहरू भन्छन्, छवि र शिल्पाबीच जबर्जस्त विवाह गराइएको थियो, छविको सम्पत्ति खाने उद्देश्यले । कतिपय सिने क्षेत्रकै जानकारहरूचाहिँ छविको पैसा र शिल्पाको वैंश अन्ततः अदालती प्रक्रियाबाट पूर्णविराम लागेको हो । यसरी अदालतमा मुद्दा खेप्ने अन्य कलाकारमा राजेन्द्र खड्गी, भुवन केसीहरू पनि छन् । राजेन्द्र खड्गीमाथि मानव बेचबिखनको मुद्दा छ भने विकास वोर्डका अध्यक्ष भुवन केसीमाथि नायिका साम्राज्ञीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् ।
 

टिप्पणीहरू