पाठेघर र स्तन क्यान्सरको उपचार सित्तैमा गराउने प्रधानमन्त्रीको घोषणा

पाठेघर र स्तन क्यान्सरको उपचार सित्तैमा गराउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा हुने पाठेघर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने बताउनुभएको छ । 

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले निसन्तान उपचार सेवा र नवजात शिशु स्याहार केन्द्रलाई वडास्तरमा विस्तार गर्ने कार्यक्रम पनि छिट्टै शुरु गर्ने बताउनुभयो । 

‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’ उहाँले भन्नुभयो । 

करिब ३४ प्रतिशत प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गर्ने पनि प्रधानमन्त्री प्रचण्डको घोषणा छ ।


 

टिप्पणीहरू