तीन पार्टी मुख मिलाउनेतिर

तीन पार्टी मुख मिलाउनेतिर

पार्टी नै मिलाउने प्रयास तत्कालका लागि सफल नभए पनि सत्तारुढ माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यसै साता समाजवादी मोर्चा बनाएर एकताको सन्देश दिने भएका छन् ।

एकताका निम्ति चलेको विभिन्न चरणका वार्तामा नीति, नेतृत्व र नामबारे कुरा मिल्न नसकेपछि मिल्ने जति विषयलाई अगाडि सार्दै मोर्चा बनाउने ठहर गरेका हुन् । माओवादीको एउटा टोलीले एमालेसँग पनि यसबारे छलफल चलाएको थियो । तर, एकीकृत समाजवादीलाई दलको मान्यता दिने गरी कुनै पनि वार्ता, छलफल नहुने जवाफ आयो । जबकि, राष्ट्रपति निर्वाचनको नोमिनेशनकै दिन एमालेले सोही पार्टीलाई सम्बोधन गर्दै सहयोगका लागि पत्र लेखेको थियो । राष्ट्रपति निर्वाचन सकिएलगत्तै मोर्चा घोषणामा जुटेका तीन पार्टीका नेताले साझा अवधारणापत्र तयार पारिरहेका छन् ।

उता, राप्रपामा प्रकाशचन्द्र लोहनीले अडान लिएपछि सरकारबाट बाहिरिनुपरेको सो पार्टीका नेताहरूले बताएका छन् । पहिल्यै सरकारमा जानु हुँदैन भन्ने लाइनका लोहनीले राष्ट्रपति निर्वाचनमा राप्रपाको अवमूल्यन भएको कुरा उठाएका थिए । बैठकमा उनले सरकार छाड्ने निर्णयको ड्राफ्ट आफैंले बनाएर लगे ।

रास्वपा भने रवि लामिछानेविरुद्धको राहदानी प्रकरणमा सहज होला भनेर सरकारको पक्षमा लत्रिरहने स्थिति छ । ओलीले राप्रपा र रास्वपालाई हल गोरु बनाएर प्रचण्डलाई शुरुदेखि नै तर्साउनुभयो । हल गोरुमा पनि रास्वपा त एमालेमा विलय नै होलाझैँ देखिन्थ्यो । प्रधानमन्त्रीलाई गर्नुपर्ने ब्रिफिङ बालकोटमा गर्ने उनै रवि लामिछाने सत्ता समीकरण बदलिएसँगै नयाँ समीकरणतिर दौडधुप गरिरहेका छन् ।

उता, हाल भारत भ्रमणमा रहेका पूर्वराजाले जनसम्पर्क विस्तार र आफ्ना एजेण्डालाई चर्कोसँग उठाउने नीति लिएका छन् । प्रहरीका पहिलो आइजी स्व.नरसमशेर राणाका छोरा प्रकाश राणालाई पूर्वराजाले जनसम्पर्क सचिव तोक्नुभएको छ । 
 

टिप्पणीहरू