बालुवाटारबाट फर्किएको महन्थको टोली बालकोट र महाराजगञ्ज पनि जाने

बालुवाटारबाट फर्किएको महन्थको टोली बालकोट र महाराजगञ्ज पनि जाने

भावी राष्ट्रपतिमा महन्थ ठाकुरको नाम प्रस्ताव गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरु प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । महन्थको नाममा सहमति जुटाइदिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न अपरान्ह बालुवाटार पुगेका लोसपाका शीर्ष नेताहरु छलफल सकेर निस्किएका हुन् ।

‘महन्थजीलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका छौं,’ नेता शरदसिंह भण्डारीले भने, ‘अहिलेका लागि उपयुक्त पात्र उहाँ नै हो भन्ने हाम्रो निष्कर्ष पनि सुनाएका छौं ।’ उनका अनुसार सहमतीय राष्ट्रपतिका लागि राजनीतिक दलहरुबीच छलफल चलिरहेको र निष्कर्ष निस्कन नसकेको प्रधानमन्त्रीको जवाफ छ । 

भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसकिरहेका बेला आफ्ना अध्यक्षलाई राष्ट्रपति बनाउन लोसपाका नेताहरुले राजनीतिक दौडधुप बढाएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेर प्रस्ताव राख्ने उनीहरुको तयारी छ । 

ठाकुरलाई राष्ट्रपति बनाउन छिमेकी मुलुकले समेत पहल गरिरहेको बताइएको छ । हालै नेपाल भ्रमण गरेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राजनीतिक भेटघाटका क्रममा काँग्रेस नेता कृष्ण सिटौला र ठाकुरको नाममा सहमति जुटाउन सकिने सम्भावनाबारे चासो राखेको चर्चा छ ।  

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी मनोनयन दर्ताको मिति तय भएको छ । त्यसअघि नै सहमति जुटाएर मुलुककै सबैभन्दा माथिल्लो पद हात पार्न नेताहरुको दौडधुप दिनहुँ बढेको छ ।

टिप्पणीहरू