निजी छाडेर सरकारीमा बिजी

निजी छाडेर सरकारीमा बिजी

कोही किन आकर्षक प्राइभेट जागिर छोडेर सरकारी जागिरमा झर्छ ? राष्ट्रप्रेमले ओतप्रेत भएर वा अकुत आर्जन गर्न सक्ने प्रवल सम्भावना देखेर ? होइन भने एनसेलमा जागिर खाने नेपाली नागरिकमै उच्च तहका कर्मचारी(सिइओपछिको सेकेण्ड म्यान),व्यक्तिगततर्फ बढी कर तिर्ने उत्कृष्ट २५ जनाभित्र पर्न सफल रमेश घिमिरे उपसचिव तहको जागिरमा भिड्न किन राजी भए ? 

जनार्दन शर्मा अर्थमन्त्री हुँदा टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई ४ वर्षका लागि नियुक्त गरिएको थियो । यसअघि नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त निर्देशकहरूलाई खटाइँदै आएकोमा जनार्दन शर्माले क्रमभंग गर्दै आफ्ना निजी सचिव अर्जुन भण्डारीलाई पठाए । अर्थबाटै अवकाशप्राप्त एक सचिवले जनआस्थासँग भने, ‘उपसचिवलाई खटाउने नहुने ठाउँ हो त्यो । बेथितिको सुरुवात त्यहीँबाट भयो ।’ निक्षेप र कर्जाको सुरक्षण गर्ने उद्देश्यले खोलिएको उक्त संस्थाको आम्दानी मात्र हुने तर खर्च हुने ठाउँचाहिँ कम छ । अघिल्लो आर्थिक वर्ष खुद नाफा ३ अर्ब भन्दा बढी, कोभिडताका सरकारी कोषमा ५ करोड सहयोग गरेको संस्थालाई धराशयी बनाएर जनकपुर चुरोट कारखाना, बाँसवारी छालाजुत्ताझैँ बनाउने उद्देश्यले एनसेलमा हुँदा कानुन, नियमन तथा कर्पोरेट विभाग हेर्दै आएका घिमिरेलाई योजनाअन्तर्गत त्यहाँ पठाइएको बताउँछन् अर्थका अधिकारीहरू । घिमिरेमाथि निजी कम्पनीमा कार्यरत रहँदा ६० अर्ब राजश्व छलीजस्तो गम्भीर मुद्दामा संलग्न रहेको आरोप अवकाशप्राप्त सचिवले लगाएका छन् । 

घिमिरे त्यता प्रवेश गर्नुअघि धितोपत्र बोर्ड र नेप्सेमा समेत आवेदन हालेर फालिएका थिए । त्यहाँ बिचौलिया दीपक भट्टका खास मानिने रमेश हमालदेखि कृष्णबहादुर कार्कीसम्म फिट भएपछि घिमिरेले टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषतर्फ आँखा लगाएको बताइन्छ ।

कमर्सियल ल मा एलएल एम उत्तीर्ण गरेका उनी कोषको हर्ताकर्ता बनाइएको छ भने त्यहाँका सञ्चालक समितिमा अहिले अर्थबाट बाहिरिएर स्वास्थ्य मन्त्रालय पुगेका सहसचिव रमेश केसी, कानुन, न्याय तथा संसदीय मामिलाका हुमबहादुर केसी, राष्ट्र बैंकका तुल्सीप्रसाद घिमिरे, उपेन्द्र पौडेल र प्रकाशजंग थापा छन् । 

कोषले गत शुक्रवार रिक्त, आन्तरिक र कार्यक्षमता मूल्यांकन भन्दै एकै पटक १७ पदका लागि विज्ञापन गर्दा नीति–नियमलाई धज्जी उडाइएको बुझिएको छ । लोकसेवाको सामान्य सिद्धान्तअनुसार कुनै पनि पद रिक्त नभई विज्ञापन गर्न मिल्दैन तर नाताले ज्वाइँ पर्ने अच्युत पन्तलाई माथि लैजानकै लागि भविष्यमा खाली हुने पदको विज्ञापन निकालिएको हो । विज्ञापन कर्मचारी सेवा विनियमावली २०७५ को विनियम १४ विपरित भएको कोषका कर्मचारीले जनाएका छन् । यसअघि कोषले सेञ्चुरी कर्मसियल बैंकमा ३ अर्ब प्रक्रियासमेत नपु¥याई राखेको थियो । उता, अर्थमन्त्रीमा विष्णु पौडेल भित्रिएलगत्तै जनार्दनको पालाका सचिव र सहसचिवलाई ‘युक्रेन युद्ध तिमीहरूले गराएका हौ, तेलको भाउ बढाउने र आयात निर्यात ठप्प पार्ने तिमीहरू हौँ’ कौ शैलीमा लखेटिएको भन्दै केही कर्मचारीले तीतो पोखेका छन् । 

अर्थबाट आधा दर्जन सहसचिवलाई बाहिर पठाएर केहीलाई भित्र्याइएको छ । अर्थमा इन्ट्री भएका सहसचिवमा सञ्चारबाट सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगबाट धनीराम शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखराबाट रामप्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट झक्कप्रसाद आचार्य छन् । अर्थमा भित्रिएका ६ सहित त्यही रहेका ४ गरी दश जना सहसचिवलाई हालै जिम्मेवारी बाँडफाँड गरिएको छ ।

यसअघि ईश्वरी अर्याल अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा, सुमन दाहालवित्तीय संघीयता समन्वय महाशाखा, रितेश शाक्य बजेट महाशाखामा थिए । यी तीनै जनाको महाशाखा फेरबदल गरिएको प्रवक्ताको भूमिकामा रहेका आनन्द काफ्लेलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा र कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख डा. अर्जुनकुमार खड्कालाई चलाइएको छैन । अर्थमा ल्याइएका सेवन्तक पोखरेललाई भन्सार विभागको उपमहानिर्देशक र शिवलाल तिवारीलाई भन्सार जाँचपास कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै, श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखा, झक्कप्रसाद आचार्यलाई वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, लक्ष्मीप्रसाद निरौलालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । रामप्रसाद आचार्य र रमेश अर्यालहरू भने बरण्डामा थन्किएका छन् । महालेखाबाट तानिएका जितेन्द्र बस्नेत गृह र वीरगञ्ज भन्सारबाट नवराज ढुंगाना प्रधानमन्त्रीको निजी सचिवमा सरुवा भएपछि अर्थ मातहतका दुई निकाय रिक्त छन् । 

यता, यही साता चण्डी घिमिरे उपसचिवबाट सहसचिवमा उक्लँदै छन् । बढुवालगत्तै उनले ठूला करदाता कार्यालय नभए साना करदाता कार्यालय जाने मनस्थिति बनाएका छन् । ठूलामा राजेश्वर ज्ञवाली र मझौलामा ढुण्डी निरौला कार्यरत छन् । उता, गृहमा हालै बनाइएको कार्यविधिलाई रद्दीको टोकरीमा थन्क्याइएको भन्दै सहसचिवहरूले चित्त दुखाएका छन् । कार्यविधिमा ६१ जिल्लामा सहसचिव खटाइने उल्लेख थियो तर केदार शर्मा, थानेश्वर गौतम, गोविन्द रिजाल, फणिन्द्र पोखरेलहरू बरण्डामा थन्किनेमा परेका छन् । सहसचिवलाई जिम्मेवारविहीन बनाएर धनकुटामा उपसचिव लीलाकुमारी केसी, यसअघि गृहकै कप्रमा बसेका शेखर पौडेललाई दोलखा र रोल्पामा परमानन्द घिमिरेलाई खटाइएको छ । यसअघि पञ्जीकरण विभागको महानिर्देशक चलाएर अकुत आर्जन गरेका तीर्थराज भट्टराईलाई मोरङ र गोगनबहादुर हमाललाई दैलेख पठाइएको छ ।

 

टिप्पणीहरू