प्रधानमन्त्रीले धान्न नसकेको प्राथमिकता

प्रधानमन्त्रीले धान्न नसकेको प्राथमिकता

यी पंक्तिहरू पहिले नपढेका लागि नयाँ हुन्छ । पहिल्यै पढेकाहरूका लागि पनि पुनःस्मरण हुन्छ । आमनिर्वाचनको बेला थियो । पहिले पनि दुई पटक जितेर केही नगरेको भन्दै जनता विकल्प खोज्ने सरसल्लाहमा लागे । यो पटक त नयाँलाई मत, नयाँलाई अवसर भनेर अभियान नै चलाए । पुराना पार्टीलाई पनि नयाँ उम्मेदवार दिन आग्रह गरे । तर जनताका कुरा दलले किन सुन्थे, शीर्ष नेताले किन बुझ्थे ? लगातार दुई पटक चुनाव जितेको नेताले तेस्रो पटक पनि चुनाव जिताउँछ भन्नेमा शीर्ष नेता ढुक्क थिए । तेस्रो पटक पनि उही नेताले टिकट पाए । चुनाव प्रचारका लागि गाउँ पसे । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अरु उम्मेदवारकै शैलीमा चुनाव प्रचारमा उत्रिए । आफ्नो पहिलो प्रधानमन्त्रीकाल सिक्दा सिक्दैमा गयो, दोस्रो कार्यकाल घेराबन्दीमा परेर केही गर्नै सकिन, अब तेस्रो कार्यकाल देश विकानुन समृद्धिमा लगाउँछु भने । गोरखा २ बाट फराकिलो मतान्तरले जिते । उनले चुनाव जिते पनि पार्टीले सरकार बनाउन पुग्ने गरी मत ल्याउन सकेन । निर्वाचनमा पार्टी तेस्रो भयो । २७५ सदस्यीय प्रतिनिधिसभामा ३२ सिटसहितको दलले सरकारको नेतृत्व पाउने कल्पना बाहिरको कुरो थियो । हुन त चुनावमा जानुअघि नै कांग्रेससँग गठबन्धन गर्दा प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति भएको हो । कांग्रेस ८९ सिटसहितको पहिलो पार्टी भयो र प्रचण्डलाई कुनै पनि हालतमा प्रधानमन्त्री नदिने अडान लियो । अनि प्रचण्ड कांग्रेसको दाम्लो चुँडालेर बालकोटको बार्दलीमा पुगी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात हल्लाए । सात दलीय गठबन्धन बन्यो र १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए । 

नवनिर्मित विद्यालयको साँचो बुझ्न प्रधानमन्त्री जानुपथ्र्यो पर्थेन ? त्यो साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रधानाध्यापकले बुझ्दा के बिग्रन्थ्यो ? 

प्रधानमन्त्री हुनेवित्तिकै समृद्धिको भाषण गर्न थाले । तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले यो कार्यकालमा भाषणलाई भन्दा कामलाई आफूले प्राथमिकता दिने सार्वजनिक घोषणा गरे । प्रधानमन्त्री बनेपछि प्रचण्ड हरेकजसो सार्वजनिक कार्यक्रममा भन्छन्–‘म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’ तर माघ २० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको साँचो बुझे चिनिया राजदूतको हातबाट ।

नवनिर्मित विद्यालयको साँचो बुझ्न प्रधानमन्त्री जानुपथ्र्यो पर्थेन ? त्यो साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रधानाध्यापकले बुझ्दा के बिग्रन्थ्यो ? प्रधानमन्त्रीसँगै प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा उभिएका थिए । पहुँचवाला नेताले प्रधानमन्त्रीको कसरी ‘दुरूपयोग’ गर्छन् भन्ने यो एउटा उदाहरण हो । कसरी वरिपरिका नेताले प्रधानमन्त्रीलाई काम गर्न दिँदैन वा आफू अनुकूलको कम गराउँछ भन्ने ज्वलन्त उदाहरण हो । प्रधानमन्त्री सहभागी कार्यक्रम पहिलो हैन्, अन्तिम पनि हैन । पुस्तक विमोचनदेखि सामान्य उद्घाटनका कार्यक्रममा सहभागी भइरहेकै छन् । 

धेरै टाढा नजाऔं, प्रधानमन्त्री प्रचण्डको एक हप्ताको सार्वजनिक कार्यक्रम दौडाहाको सूची हेरौं ।

– माघ २१ गते आदिवासी जनजाति आयोगको वार्षिकोत्सवमा सहभागी, आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको अभिव्यक्ति

– माघ २० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित रत्न राज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन । शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्ने घोषणा

– माघ १९ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रम उद्घाटन । स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्ने अभिव्यक्ति

– माघ १८ गते सिंहदरबारमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण, सूचनाको हकले मुलुकमा सुशासन कायम हुने प्रतिक्रिया

– माघ १७ गते सिंहदरबारमा बसेको एक बैठकमा सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने घोषणा, सोही दिन नेपाल टेलिभिजनको वार्षिकोत्सवमा बोल्दै आजको युग डिजिटल एराको रूपमा संश्लेषण गर्न सकिने अभिव्यक्ति

– माघ १६ गते शहीद दिवसको अवसरमा लैनचौरमा रहेको शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी, शहीदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड

– माघ १५ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको वार्षिकोत्सवमा सहभागी हुँदै केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रूपमा विकसित गर्ने घोषणा ।

यी त एक साताका सार्वजनिक कार्यक्रम मात्रै भए । प्रधानमन्त्री भएपछि सहभागिता जनाएका कार्यक्रम र अभिव्यक्तिको लेखाजोखा गर्ने हो भने त अझै लामो छ । यसबाहेक विभिन्न देशका राजदूतसँगको भेटघाटमा पनि समय खर्चिरहेका छन् । सबैभन्दा ठूलो विरोधाभाष त प्रचण्ड दिनहुँ भाषण गर्ने कार्यक्रममा सहभागी भएर, म भाषण हैन, काम गर्छु भनिरहेका छन् । 

त्यसबाहेक पनि प्रधानमन्त्रीका अनेकौँ दुःख छन् । विदेशबाट आउने नेपालीलाई दुई वटा मोबाइल ल्याउन दिनू भन्ने निर्देशन दिन्छन्, त्यो कार्यान्वयन हुँदैन । राहदानीलगायतको सेवा लिन लाइन बस्न नपर्ने निर्णय र निर्देशन दिन्छन्, त्यो पनि कार्यान्वनय हुँदैन । आयल निगमलाई तेलको मूल्य घटाउन निर्देशन दिन्छन्, आयल निगम झारा टारिदिन्छ । प्रधानमन्त्रीले भनेको कुरा र मन्त्रिपरिषद्का निर्णय त कार्यान्वयन हुँदैन भने अरु के काम होला ? कामै नहुने भएपछि प्रधानमन्त्रीले पनि गर्ने त भाषण नै हो ।

टिप्पणीहरू