नौ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारवाही

नौ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारवाही

प्रभु, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकसहित नौ वाणिज्य बैंक केन्द्रीय बैंकको कारवाहीमा परेका छन् । बैंक तथा वित्तिय संस्थाहरुको नियमनकारी निकाय राष्ट्र बैंकले ति बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई विभिन्न कसूरमा कारबाही गरेको हो । 

राष्ट्र बैंकका अनुसार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, उत्पादनशिल क्षेत्रका कर्जा नदिएको, विपन्न वर्ग क्षेत्र कर्जा नदिएको, ब्याजदर अन्तर र कर्जा श्रोत परिचलन अनुपात कायम नगरेको लगायतको बिषयमा नगदसहित कारबाही गरिएको हो । जसमध्ये चार  वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवाना गराइएको छ ।  

केन्द्रीय बैंकले प्रभु बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै ५० लाख जरिवाना गरेको हो । त्यस्तै, प्रभुले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था पालना नगरेकोमा सचेतसमेत गराएको छ ।

कुमारी बैंकले पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै केन्द्रीय बैंकले ५० लाख जरिवाना तिराउने निर्णय गरेको छ । तत्कालीन बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई बैंक) र प्राइम बैंकलाई पनि सोही कसूरमा ५० लाख जरिवाना गराएको छ ।

केन्द्रीय बैंकले माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार सीईओलाई चेतावनी गराएको छ । वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा २९ को उपदफा (७) को उलंघन हुनेगरी तत्कालिन सीईओलाई थप सुविधा दिएको देखिएकाले ऐनको दफा ९९ को उपदफा १ (क) अनुसार बैंकलाई पनि सचेत गराएको छ ।

त्यस्तै, नबिल बैंकलाई ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको भन्दै सचेत गराइएको छ । नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं १९/०७८ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था, बुँदा नं. २० कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्र. सं. २ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले उसलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ७ (फ) उपदफा १ (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

टिप्पणीहरू