धरानकी एलिसाको मृत्यु रहस्यमय

धरानकी एलिसाको मृत्यु रहस्यमय

सुनसरीको धरान उपमहानगरपालिका १५ की १९ वर्षीया एलिसा खड्काको विराटनगरमा रहस्यमय मृत्यु भएको छ । खड्काको गत बुधबार राति रहस्यमय मृत्यु भएको हो । उपचारार्थ सोहि राति सवा ९ बजे विराटनगरस्थित कोशी अस्पतालमा पुर्याएपछि उनलाई मृत घोषणा गरिएको थियो ।

एलिसाको केही धारिलो हतियार प्रहारबाट हत्या भएको जस्तो देखिएको र घाँटीमा नीलो डाम भएकाले उनको मृत्यु रहस्यमय रहेको परिवारको दाबी छ । यता प्रहरीले पनि सोही आशंकामा अनुसन्धान अघि बढाएको बताएको छ ।

घटना रहस्यमय रहेको भन्दै प्रहरीले उनलाई हस्पिटल पुर्याएका साथी विराटनगर १२ की २७ वर्षीय लक्ष्मी राजवंशीलाई पक्राउ गरेको छ । राजवंशी र मृतक खड्का साथी भएको र उनीहरू लागू औषध प्रयोगकर्ता रहेको खुल्न आएको छ ।

प्रारम्भि अनुसन्धानमा माघ १८ गते राति खड्का राजवंशीको घर गएको खुलेको छ । उनी पनि विराटनगर १२ मा बस्थिन् । त्यहाँ एलिसा बेहोस भएपछि लक्ष्मीले कोशी अस्पतालमा पुर्याएका हुन् । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ ।

मोरङ प्रहरीका डिएसपी टिकाबहादुर कार्कीले भने, ‘राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।’ पोष्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण खुल्ने अवस्था नभएको डिएसपी कार्कीले बताए । 

पक्राउ परेकी राजवंशीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ । पोष्टमार्टम रिपोर्ट र अनुसन्धानले हत्या भएको देखिए कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालिने प्रहरीको तयारी छ ।

मृतक खड्का धरानकी भए पनि लामो समयदेखि विराटनगरमा बस्दै आएकी थिइन् । उनी लक्ष्मीसँग होटलमा काम गर्थिन् ।

टिप्पणीहरू