दाउदले दोस्रो बिहे गरेपछि...

दाउदले दोस्रो बिहे गरेपछि...

‘अण्डरवल्र्ड डन’ दाउद इब्राहिम आजकल आफ्नो दोस्रो विवाहलाई लिएर चर्चामा छन् । तर चर्चामा नआएको अर्को एउटा पाटो भनेको ‘डी–कम्पनी’को परिवर्तित शैली हो । कुनै बेला फिरौती, जग्गा हडप्ने, मिलापत्र, लागूऔषध र तस्करी गरेर आतंक फैलाउने दाउदको व्यवसाय फेरिएको छ ।

भारतीय केन्द्रीय एजेन्सी स्रोतका अनुसार अहिले डी–कम्पनीले औषधि तस्करी गर्ने, मोबाइल–फोन चोर्ने र भवन भत्काउने जस्ता काम गर्दैआएको छ । यद्यपि, लागुऔषध र सुनचाँदीको तस्करी अझैपनि दाउद समूहको मुख्य व्यवसाय हो ।

दाउदको संरक्षणमा रहेको डी–कम्पनीको सञ्चालन भारत बाहिरबाट पनि भइरहेको छ । यही कारण सन् २००१ देखि मुम्बईमा ‘ग्याङ वार’को नामै सुनिएको छैन । दाउदनिकट व्यक्तिहरूले डी–कम्पनीमार्फत निर्माण परियोजनातिर पनि लगानीको खोलो बर्साइरहेका छन् । भारतीय सुरक्षा एजेन्सीका अनुसार डि–गिरोहले नक्कली नोटको कारोबार पनि चलाइरहेकै छ । डी–कम्पनीले भारतमा बनाइने क्यान्सरको औषधि चीन र अन्य देशमा तस्करी गर्दै आएको छ ।

चीनमा भारतीय औषधिको किनबेचमा प्रतिबन्ध छ । हालै मात्र एक चिनियाँ नागरिकलाई क्यान्सरको भारतीय औषधि किनेको आरोपमा ८ महिनाको जेल सजायँ र २ हजार युआन जरिवाना गरिएको छ । ग्वाङडोङ प्रान्तमा भारतीय औषधिसहित दुई जना पक्राउ परेका थिए । चीनले भारतमा बनेका थुप्रै यस्ता औषधिलाई नक्कली मान्दै आएको छ ।

द न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार चीनमा क्यान्सर रोगीको औषधिको वार्षिक मूल्य भारतभन्दा १० गुणा बढी छ । यसैकारण डी–कम्पनीले चिनियाँ समाजमा आवश्यकताको फाइदा उठाइरहेको छ ।
भारतीय वरिष्ठ पत्रकार विवेक अग्रवालले ३७ वर्षदेखि मुम्बईको अण्डरवल्र्ड नियाल्दै आएका छन् । उनले दाउद इब्राहिम र अन्डरवल्र्डमा मुन्नाभाइ, मुन्नाभाइ रिटन्र्स, खेल खल्लासलगायत १५ भन्दा बढी पुस्तक र ई–पुस्तकहरू लेखेका छन् ।

भारतीय पत्रिका दैनिक भाष्करसँग आबद्ध विवेक भन्छन्, ‘डी–कम्पनीका मानिसहरूले कालो धनलाई सम्पत्तिका रूपमा लगानी गरिरहेका छन् । यसबाहेक भवन भत्काउने नयाँ व्यवसाय पनि छ । पुराना भवनहरूमा ठूलो मात्रामा फलाम, पित्तल, काँस, काठ र अन्य बहुमूल्य वस्तु हुन्छन् ।’

दाउद ग्याङको नजरमा परेका छन्, मुम्बईका पुराना भवन । बम्बै उच्च अदालतले ४८ वटा भवन भत्काउन आदेश दिएको छ । दाउदनिकट मानिसहरूले धम्की दिएरै भए पनि ती ठेक्का पाइरहेका छन् । उनीहरूले भवन भत्काउँदा पैसा पनि पाउँछन् र सामग्री बजारमा बेच्छन् ।

सन् २०१५ मा फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीअनुसार दाउदको कूल सम्पत्ति ६ सय ७० करोड डलर थियो । दाउद विश्वका शीर्ष ३ धनाढ्य डनको सूचिमा पर्छन् । ‘अन्डरवल्र्ड डन’ दाउदको लगभग ४० प्रतिशत कमाइ भारतभरि फैलिएका धन्धामा आधारित छ । भारतसहित पाकिस्तान, युएई र बेलायतमा पनि थुप्रै सम्पत्ति छ ।

डी–कम्पनीले भारतबाट स्मार्टफोन चोरेर नेपाल, पाकिस्तान र बंगलादेश पठाउँछ । दाउदले नेपालमा समेत लगानीको ठूलो सेटअप खडा गरेको दैनिक भाष्करले जनाएको छ । ‘मुम्बई प्रहरीलाई दिएको बयानमा छोटा राजनका साथी एजाज लकडावालाले अन्डरवल्र्ड डन दाउद इब्राहिम गिरोहले केही वर्षदेखि नेपालमा लगानीको ठूलो आधार खडा गरेको बताएका थिए । उनले पाकिस्तानी अधिकारीको इशारामा काठमाडौंदेखि भारतसम्म नक्कली नोटको गिरोह चलाइरहेका छन्,’ पत्रिकाले उल्लेख गरेको छ ।
 

टिप्पणीहरू